३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः

‘अहं ... स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’ संस्कृत भाषामा शपथ लिन तयार पारिएको वाक्य यसरी पूर्ण हुन्छ, ‘...पदीय गोपनीयतायाः संरक्षणपूर्वकं दृढनिष्ठया सह सम्पादयिष्ये।’ यसपालि संसद्मा संस्कृत भाषामा पनि शपथ ग्रहण हुँदै छ। स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिने भनी नेपालीको शपथलाई संस्कृतमा उल्था गरेर संघीय संसद् सचिवालयमा बुधबार बुझाएका छन्। संसदीय इतिहासमा संस्कृत भाषामा शपथका लागि पहिलोपटक निवेदन आएको सचिवालयको भनाइ छ।

संस्कृतमा शपथ ग्रहण गर्न शपथको व्यहोरासहित निवेदन दिएका साह रौतहट–२ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार हुन्। उनी भन्छन्, ‘मधेस, पहाड, हिमालका बहुसंख्यक जनता हिन्दु समुदायका भएकाले उनीहरूलाई सम्मान गर्ने हिसाबले संस्कृत भाषामा शपथ लिन लागेको हुँ।’ यसपालि संस्कृतसहित १४ मातृभाषामा शपथ ग्रहण हुँदैछ तर बिहीबार बिहान ११ बजेसम्म पनि मातृभाषामा शपथ लिनेहरूले निवेदन दिन सक्ने संसद् सचिवालयले जनाएको छ।

बिहीबार १ बजे संसद् भवन नयाँ बानेश्वरमा हुने शपथग्रहण कार्यक्रममा संस्कृतसहित उर्दू, तामाङ, भोजपुरी, थारू, कोई/कोयु, मैथिली, अवधी, नेपाली खस भाषा, नेपाल भाषा, मधेसी भाषा, सन्थाली भाषा, मुसलमान भाषा, हिन्दी भाषासहित १४ भाषामा शपथग्रहण गर्न २६ जना सांसदले संसद् सचिवालयमा आआफ्नो मातृभाषामा शपथ उल्था गरेर बुझाएका छन्। बाँकीले भने नेपालीमा शपथ लिनेछन्।

शपथ नेपालीमा ‘म ...मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु... हुँदै पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु’ मा पुगेर टुंगिन्छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधिसभा नियमावली २०७५ को अनुसूची २ बमोजिम नेपालीमा नयाँ सांसदलार्ई शपथग्रहण गराउनेछन् भने मातृभाषामा शपथ लिन निवेदन दिने सांसदले आफ्नो भाषामा उल्था गरेर शपथ लिनेछन्।

ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। मातृभाषामा शपथ लिने सांसदमा कांग्रेसको एक, एमालेको एक, माओवादी केन्द्रका सात, जनता समाजवादी पार्टी (जसपा) का तीन, नागरिक उन्मुक्ति पार्टीका तीन, जनमत पार्टीका चार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाँच, स्वतन्त्र दुई गरी २६ जना सांसद छन्। संसद्मा २७५ जना छन्।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनपछि आएका सांसदले १२ वटा मातृभाषामा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। यसबाट आगामी दिनमा मातृभाषामा शपथ लिने क्रम बढ्दै जाने देखिएको सचिवालयको अनुमान छ।

२०७८ सालको राष्ट्रिय जनगणनामा नेपालमा बोलिने मातृभाषाको संख्या १३१ पुगेको छ। यसअघि २०७० सालमा जसपाकी सांसद रन्जुकुमारी झाले नेपाली भाषामा शपथ लिए पनि यसपटक मैथिली भाषामा शपथ लिने गरी निवेदन दिएकी छन्। ‘आफू मधेसी कोटाबाटै सांसद भएकाले नेपाली भाषामा शपथ नलिई मैथिली भाषामा शपथ लिँदै छु,’ उनले भनिन्।

संसद्मा आएको निवेदनबमोजिम कांग्रेसका एक जना कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिँदैछिन्। एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिँदैछन्। माओवादी केन्द्रका सातजनामा हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ (दोङ) ले तामाङ भाषामा, रूपा सो.सि. चौधरीले थारू, महिन्द्र राय यादवले हिन्दी, उमरावती देवी यादवले भोजपुरी र दुर्गा राईले कोई भाषामा शपथ लिँदै छन्।

जसपाका प्रदीप यादव र रामसहाय प्रसाद यादवले भोजपुरी तथा रन्जुकुमारी झाले मैथिली, नागरिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरी र रञ्जिता श्रेष्ठ र गंगाराम चौधरी डगौंराले थारू, जनमत पार्टीका विनीताकुमारी सिंह, चन्द्रकान्त राउत र अनिता देवीले मधेसी भाषा तथा सोनु मुर्मूले सन्थाली भाषा, रास्वपाका सुमना श्रेष्ठले नेपाल भाषा, मनीष झाले मैथिली, लक्ष्मी तिवारीले अवधि, अशोककुमार चौधरीले थारू, असिम साहले मुस्लिम र स्वतन्त्र सांसद साहले संस्कृत र लालवीर चौधरीले थारू भाषामा शपथ लिने भएका हुन्।

प्रकाशित: ७ पुस २०७९ ००:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App