१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

इलामको नयाँबजारस्थित माइजोगमाई गाउँपालिका कार्यालय। तस्बिर: भीम/नागरिक

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। नेकपा (एमाले)बाट निर्वाचित कार्यपालिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृतको सम्बन्धमा रहेको विवाद नमिलेसम्म बैठक नबस्ने भन्दै सहभागी नभएका हुन्।

गाउँपालिकाको कार्यपालिका बैठक सोमबारका लागि बोलाइएको थियो। एमालेबाटै निर्वाचित पालिका अध्यक्ष कुशबहादुर थेबे, नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रविना राई, कांग्रेसबाटै निर्वाचित वडा २ र ३ का वडाध्यक्ष भने बैठकस्थल पुगेका थिए। तर, गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ। वडा १ अध्यक्ष तथा गाउँपालिका प्रवक्ता यामकुमार कार्कीले कार्यपालिका बैठक बस्न नसकेको बताए। ‘कार्यपालिकाका बहुमत सदस्य बैठकमा आउनुभएन, प्रमुख प्रशासकीय अधिकृत नै विवादमा रहेका बेला बैठक बस्न नसकिने भनिएपछि बस्न सकिएन,’ उनले भने, ‘म पनि फर्केर आएँ।’ 

अपांगता भएका व्यक्तिहरूलाई ‘गाली’ गरेको र स्थानीय युवासँग ‘भनाभन’पछि प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मी विवादमा छन्। रेग्मीले गाउँपालिकाकै अपांगता समन्वय समितिका पदाधिकारी र स्थानीय युवाको समूहलाई बेग्लाबेग्लै भेटमा गालीगलौज गरेको आरोप छ। रेग्मीले ‘तुच्छ’ शब्दसमेत प्रयोग गर्दै गाली–बेइज्जत गरेको आरोप स्थानीयले लगाएका छन्।

उनीहरूले गाली–बेइज्जतको घटना छानबिन गर्न र प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई सरुवा गर्न माग गर्दै पालिका अध्यक्षलाई छुट्टाछुुटै ज्ञापनपत्रसमेत बुुझाइसकेका छन्। रेग्मीले भने आफूसँग कसैको ठूलो विवाद नभएको, आफूले कसैलाई गाली, अपशब्द प्रयोग नगरेको र आफूले ऐन–कानुनभन्दा पर गएर कुनै काम नगरेको दाबी गर्दै आएका छन्।  

प्रकाशित: ५ पुस २०७९ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App