३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार कायम रहन्छः परराष्ट्रमन्त्री खड्का

शिविरको उद्घाटनको क्रममा डा. खड्कालगायत अतिथिहरु। तस्विरः महेश्वर

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्। मंसिर ४ को चुनाव जितेर राजधानी फर्केपछि पहिलो पटक गृह जिल्ला उदयपुर फर्केका मन्त्री खड्काले आगामी सरकार पनि गठबन्धनकै हुने स्पष्ट पारे।

‘गठबन्धनबाट मलाई चौथो पटक चुनाव जिताएर पठाउनु भएकोमा सम्पूर्ण मतदाता दाजुभाइ दिदीवहिनीहरुलाई धन्यबाद व्यक्त गर्दछु’ मन्त्री खड्काले भने ‘फेरि पनि गठबन्धनकै सरकार बन्दैछ र हाम्रो जिल्लाको विकास निर्माणमा काम गर्न सहज हुनेछ।’ आफू अहिले मन्त्री रहेको र गठबन्धन सरकारमा पनि मन्त्री पदले निरन्तरता पाउने पनि उनले बताए।

बुधबार सदरमुकाम गाईघाटमा आयोजित ‘महिला स्वास्थ्य स्कृनिङ तथा स्तन क्यान्सर चेतना स्वास्थ्य शिविर’को उद्घाटन गर्दै मन्त्री खड्काले आफू कुन मन्त्रालय पाउने भन्ने कुरा भने खुलाएनन्। लगातार उदयपुर १ बाट ४ पटक चुनाव जितेका डा. खड्काले आफूलाई सँधै विकास निर्माण र जनताको सेवामा तल्लिन रहेकै कारण लगातार चौथो पटक जिताएको बताए।

जनताले विश्वास गरेर चुनाव जिताई पठाए अनुसार काम पनि थालिहालेको उनले बताए। अबको मुख्य काम सडक, खानेपानी, पुल र विमानस्थल बनाउनु पर्ने प्राथमिक्तामा राखेको बताउँदै उनले त्यसका लागि काम सुरु गरिसकेको बताए। झण्डै दशकदेखि  निर्माण सुरु भएको ‘सगरमाथा बिमानस्थल’को काम छिटोभन्दा छिटो सक्ने प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले जनाए।

‘म आज बिहान सबेरै हिडेको थिएँ, तर, बिराटनगर एयरपोर्टमा हुस्सु लागेकाले १ घण्टा कुर्नु पर्यो’ निर्माणाधीन विमानस्थलबारे उनले भने ‘यहीँ एयरपोर्ट भएको भए म अघि नै यहाँ आईपुग्थेँ, किनकि उदयपुरमा हुस्सु लाग्दैन।’ उनले एयरपोर्टलगायत कुनै पनि विकास निर्माणको काममा आफुले बजेट अभाव हुन नदिने वाचा पनि गरे।  

शिविर उद्घाटनको सिलसिलामा उनले स्तन क्यान्सर महिलाहरुको अकाल मृत्युको प्रमुख कारणमध्ये एक भएको बताए। सामान्य सावधानी अपनाउन नसक्दा हुने स्तन क्यान्सरले महिलाहरुलाई थाहै नपाई अकाल मृत्युको मुखमा पुर्याउने भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।

त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोईरालाले डा. नारायण खड्काका कारण उदयपुरले विकास निर्माणमा धेरै फड्को मार्न सफल भएको बताए। मन्त्री खड्काकै पहलमा त्रियुगा नमूना माविले यसअघि नै एउटा स्कुल बस पाइसकेको भन्दै कोईरालाले एउटा मात्रले नपुग्ने भएको हुँदा अर्को बस थपिदिन आग्रह गरे।

शिविरमा खटेका एनआरएनए जेसिसका डा. सन्दीप सापकोटाले स्तन क्यान्सर महिलाका लागि अभिसाप बन्दै आएको हुनाले यसबाट बँच्न नियमित स्वास्थ्य जाँच गर्न सुझाए। ‘समयमै होस पुर्याए, नियमित स्वास्थ्य परीक्षण गर्ने गरे स्तन क्यान्सरबाट बँच्न सकिन्छ’ डा. सापकोटाले भने ‘तर, सामान्य हेलचेक्र्याईले पनि यो रोग लाग्ने खतरा रहेको र यसले थाहै नपाई मृत्युको मुखमा पुर्याउने हुनाले समयमै सचेत हुनुहोस्।’

स्तन क्यान्सर हुने लक्षणबारे चिकित्सकसँग परामर्श लिन, स्वास्थ्य जाँच गर्न तथा महिला स्वयंले आफ्नो जाँच गर्न सक्ने बिधिबारे पनि शिविरमा जानकारी गराइएको उनले बताए। त्रियुगा नगरपालिका ११ र गैरनेपाली आवासीय संघ (एनआरएनए) जेसिसद्वारा संयृुक्त आयोजित शिविरमा ५ सय हाराहारी महिला तथा पुरुषको स्वास्थ्य परीक्षण गरिएको जेसिस उदयपुरकी पूर्व अध्यक्ष सबु थापाले बताइन्।

प्रकाशित: २९ मंसिर २०७९ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App