१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ। नगर प्रमुख र उपप्रमुखबीच समन्वय नहुँदा मनमुटाव बढ्दै गएर आरोप प्रत्यारोपसम्म पुगेको हो।

नगर उपप्रमुख संगीताकुमारी रामले नगर प्रमुख विनोदप्रसाद कुर्मीमाथि आफ्नो अधिकार हनन गरेको आरोप लगाएकी छिन्। न्यायिक समिति संचालन गर्न नदिएको तथा नगरपालिकाको काम कारबाहीको बारेमा जानकारी नै नदिने गरेको उनले आरोप लगाएकी छिन्।

नगर प्रमुख कुर्मीले भने उपप्रमुख राम नगरपालिकाको कार्यालयमा मुस्किलले आउने गरेको तथा बैठकमा सहभागिता नजनाउने गरेकाले नगरपालिकाले सम्पादन गर्नुपर्ने धेरै काममा बाधा पुगेको बताएका छन्। 

नगर प्रमुख र उपप्रमुखबीच अधिकार र कर्तव्यको विषयमा मनोमालिन्य रहेको देखिए पनि आन्तरिक झगडा बजेटको रहेको बुझिएको छ। नगरपालिकाको सबै बजेट गरेर २९ करोडभन्दा बढीको आय व्यय रहेकोमा नगर उपप्रमुखले आफ्नो अनुकूल गरेर ३ करोड रुपैयाँको बजेट माग गर्दा नगर प्रमुखले नदिएपछि दुवै जनाबीच विवाद बढेको बताइएको छ।

नगर प्रमुख पक्षले नगरपालिकामा हुने विकासको लागि योजना छनौट गरी कार्यपालिका बैठकमा पेश गर्न भनेको तर उपप्रमुख पक्षले योजनाको कुरो पछि गर्ने तर बजेट विनियोजन हुनुपर्ने माग गरेपछि दुवै पक्षबीच विवाद चुलिएको हो।

पालिकामा नगर प्रमुखको पक्षमा बहुमत रहेकोले उपप्रमुखले कुनै पनि योजना राख्दा अस्वीकृत हुने देखेपछि असन्तुष्ट भएको बताइएको छ। नगर प्रमुख कुर्मीले पालिकाको कार्यमा उपप्रमुखले गर्दा नकारात्मक प्रभाव परिरहेको पनि बताएका छन्।

पालिकाको काम कारबाहीमा नकारात्मक असर परिरहेकोले उपप्रमुखले काम नगर्दा वैकल्पिक बाटो रोज्न बाध्य हुनुपर्ने प्रमुख कुर्मीको भनाइ रहेको छ।

उपप्रमुखले भने नगरपालिकामा जथाभावी खर्च गरिएको र आफूले बैंकको स्टेटमेन्ट माग्दा पनि कार्यालय प्रमुखले अटेरी गरेको आरोप लगाएकी छिन्।

नगर प्रमुख र उपप्रमुखको विवादले नगरपालिकाको विकास निर्माणका साथै नीतिगत काममा पनि अप्ठ्यारो परिरहेको स्थानीयको भनाइ छ। दुवै जनाको विवादका कारण सर्वसाधारणले पाउने सेवा तथा सुविधामा पनि प्रभाव पर्न थालेको स्थानीयको भनाइ छ। विवादका कारण वर्षेनी करोडौको आम्दानी हुने बागमती तथा चाँदी नदीको गिटी, बालुवाको ठेक्का प्रक्रियासमेत नगरपालिकाले अगाडि बढाउन सकेको छैन।

प्रकाशित: २५ मंसिर २०७९ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App