२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

दलद्वारा समानुपातिक सांसद सिफारिस: प्रधानमन्त्री पत्नीदेखि व्यवसायीसम्म

प्रमुख राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट आआफ्ना दलबाट छनोटमा परेका सदस्यहरूको नाम निर्वाचन आयोगमा पठाएका छन्। आयोगले शनिबार अपराह्न ४ बजेभित्र बन्दसूचीमा रहेका नामबाट सांसदमा निर्वाचित गर्न सदस्यको सूची बुझाउन समय दिएको थियो। सोही समयभित्रै दलहरूले नाम बुझाएका हुन्।

प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ सिट पाएको थियो। त्यसमा तीन जना मात्र पुरुष परेका छन्। प्रत्यक्षतर्फबाट एकजना मात्र महिला निर्वाचित हुँदा संवैधानिक व्यवस्था अनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कांग्रेसले समानुपातिकको बन्द सूचीबाट २९ महिलालाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको हो। बाँकी तीन पुरुषमा पार्टी पूर्वउपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री जीवन परियार र पार्टी प्रवक्ता प्रकाशशरण महतको नाम सिफारिस गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको कार्य सम्पादन समितिको बैठकले नाम टुंगो लगाउने अधिकार प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो। त्यसलगतै बसेको पदाधिकारी बैठकले सहमहामन्त्री परियारलाई दलित, पूर्वउपसभापति निधिलाई मधेसी र प्रवक्ता महतलाई खस आर्य समूहबाट सिफारिस गर्ने समझदारी गरेको हो। निधि, परियार र महतको नाम सिफारिस गर्दा समानुपातिकको बन्द सूचीमा जनजातितर्फ पहिलो नम्बरमा रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने सांसद हुनबाट चुकेका छन्। त्यसैगरी सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नाम पनि समेटिन सकेन।

कांग्रेसले आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचनलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गर्न नाम पठाएको छ। खस आर्य कोटाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मन्जु खाण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्की परेका छन्।

कांग्रेस केन्द्रीय सदस्य आरजु सभापति देउवाकी पत्नी र मन्जु गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन्। कांग्रेसले मधेसीतर्फबाट पाँच महिलालाई सहभागी गराएको छ। जसमा नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण परेका छन्।

दलिततर्फ शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक चुनिएका छन्। थारूबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमतर्फबाट जाबेदा खातुनको नाम कांग्रेसले पठाएको छ। कांग्रेसले सातै प्रदेशसभा पार्टीले पाएको समानुपातिकतर्फको सिटअनुसार शनिबार नै नाम सिफारिस गरेको छ।

समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको नेकपा एमालेले ३४ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ। प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले आदिवासी जनजाति, खस आर्य, थारू, मुस्लिम, महिला सबै क्लस्टर मिलाएर २२ महिला र १२ पुरुष पठाएको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आदिवासी जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा छन्। भट्टचन बैंक व्यवसायी हुन्।

खस आर्यतर्फबाट रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल परेका छन्। थारू समुदायबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी छन्। दलित समुदायबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणि राना बराइली, हर्कमाया विश्वकर्मा समानुपातिक कोटमा परेका छन्। मधेसी समुदायबाट गंगाप्रसाद यादव, अमृतराज लालवंशी, बिना देवी, अमृतादेवी अग्रहरि र प्रतीक्षा तिवारी मुखिया छन्। मुस्लिमबाट सराज अहमद फारखीलाई छानेको छ। एमालेबाट खस आर्य समूहबाट परेका ढकाल परिवार दलका अध्यक्ष हुन्।

समानुपातिक तर्फ १४ सिट प्राप्त गरेको माओवादी केन्द्रले १२ महिला र दुई पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ।

महासचिव देव गुरुङका अनुसार माओवादी केन्द्रले आदिवासी जनजाति समूहबाट दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङको नाम छानेको छ।

खस आर्य समुदायबाट हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा छन्। थारू समुदायबाट रूपासोसी चौधरी, दलितबाट रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी, मधेसीबाट मीना यादव र उमरावतीदेवी यादव, पिछडिएको क्षेत्रबाट कल्पना मियाँका नाम छनोटमा परेका छन्। माओवादी केन्द्रले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित निकालेको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ सिट पाएको छ। पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली छन्। आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठलाई छनोट गरेको छ। खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायत छन्। मधेसीबाट लक्ष्मी तिवारी र मनीष झा छन्। थारू समुदायबाट अशोककुमार चौधरी र मुस्लिम समुदायबाट असिम साह समानुपातिक सांसदमा परेका छन्। रास्वपले प्रत्यक्षतर्फ सात क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खस आर्य समुदायबाट पशुपतिश मशेर जबरा, रोशन कार्की र गीता बस्नेत परेका छन् भने आदिवासी जनजाति समुदायबाट नेता बुद्धिमान तामाङ, बिना लामा, मधेसीबाट बिना जयसवाल र दलितबाट अनिशा नेपालीको नाम पठाएको छ। राप्रपाले प्रत्यक्षतर्फ सात सिट जितेको छ। जनमत पार्टीबाट अनितादेवी साह, सोनु मुर्मु, विनीताकुमारी सिंह, गोमा सापकोटा र अब्दुल खान छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अध्यक्ष सीके राउत मात्रै निर्वाचित भएका थिए।

प्रकाशित: २५ मंसिर २०७९ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App