८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकीमा गठबन्धनलाई सहज बहुमत

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत आएको छ। सत्ता गठबन्धनका दलहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिटका आधारमा गण्डकी प्रदेश सभामा उनीहरुको बहुमत पुग्ने देखिएको हो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सिट छ। जसमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले २३ सिट जितेको छ भने प्रतिपक्षी दल नेकपा एमाले १२ सिटमा सिमित भएको छ। त्यस्तै स्वतन्त्रले १ सिट जितेको छ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। यसअघि २०७४ सालको चुनावमा समानुपातिकसमेत गरेर केवल १५ सिट मात्र जितेको कांग्रेसले यसपटक प्रत्यक्षतर्फ मात्रै १८ सिट जितेर ठूलो दल बनेको छ। कांग्रेसले कास्कीमा २, गोरखामा २, मनाङमा १, लमजुङमा २, तनहुँमा २, स्याङ्जामा २, नवपरासीमा १, मुस्ताङमा २ र बागलुङमा ४ सिट जितेको छ।

सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्रले यसपटक प्रत्यक्षतर्फ ५ सिट जितेको छ। यसअघि २०७४ सालमा समानुपातिकसहित १२ सिट जितेको माओवादीले यसपटक नेसपाको १ सिटसहित कुल ५ सिटमा प्रत्यक्ष जितेको हो। माओवादीले गोरखामा २, म्याग्दीमा २ र तनहुँमा १ सिट जितेको छ।

त्यस्तै, यसअघि समानुपातिकसहित २७ सिट जितेर ठूलो दल बनेको नेकपा एमाले प्रत्यक्षतर्फ यसपटक १२ सिटमा खुम्चिएको छ। एमालेले कास्कीमा ४, तनहुँमा १, स्याङ्जामा २, नवलपरासीमा ३ र पर्वतमा २ सिट जितेको छ। गण्डकी प्रदेशको मनाङ–२ मा भने स्वतन्त्र उम्मेदवार राजिव गुरुङले जितेका छन्।

समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ लाख ४९ हजार ६ सय २८, नेकपा एमालेले ३ लाख ६७ हजार ९ सय ८९, नेकपा माओवादी केन्द्रले १ लाख १६ हजार ९ सय ४५ मत र राप्रपाले ५९ हजार ४ सय ८३ मत प्राप्त गरेको छ। अन्य दलले भने थ्रेसहोल्ड कटाएपनि सांसद पाउनुपर्ने मत प्राप्त गरेका छैनन्।

यस आधारमा समानुपातिकतर्फको २४ सिटमध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले १०, नेकपा माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाउने सम्भावना छ। यसो भएमा नेपाली कांग्रेसको कुल २७ सांसद पुग्नेछ भने एमालेको २२, माओवादीको ८ र राप्रपाको दुई तथा स्वतन्त्र एक सांसद प्रदेश सभामा हुनेछन्। यद्दपी निर्वाचन आयोगले यसको छिनोफानो गरिसकेको छैन।

हालसम्मको परिणामलाई हेर्दा गण्डकी प्रदेशमा कांग्रेस–माओवादीको संयुक्त सरकार बन्न आवश्यक बहुमत पुगेको छ। किनकी कांग्रेसको २७ र माओवादीको ८ सांसद हुने भएकाले उनीहरुलाई आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ। तर केन्द्रमा बन्ने समीकरणले प्रदेशमा पनि असर पर्ने भएकाले यहाँ कसको सरकार बन्छ भनेर यसै भन्न सकिने अवस्था छैन। यदि माओवादी र कांग्रेसबीचको गठबन्धन भत्किएमा माओवादी र एमालेबीच समीकरण बन्नसक्ने आँकलन गरिएको छ।  

त्यसो भएमा उनीहरुलाई राप्रपा वा स्वतन्त्र सांसद दीपक मनाङेको सहारा लिनुपर्ने हुन्छ। एमालेको २२ र माओवादीको ८ सांसद हुने भएकाले कुल ३० सांसद पुग्ने देखिन्छ। तर ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद आवश्यक पर्छ। त्यसैले नया गठबन्धन बनाउन एमाले र माओवादीले स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे वा राप्रपाको सहारा लिनु अनिवार्य जस्तै देखिन्छ।

प्रकाशित: १९ मंसिर २०७९ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App