८ वैशाख २०८१ शनिबार
राजनीति

दुर्घटनापीडित परिवारलाई नेकपा एसका अध्यक्ष नेपालले दिए निष्पक्ष जाँचको आश्वासन

रौतहटको गरुडामा गत सोमबार एकाबिहान भएको सवारी दुर्घटनामा मृत्यु भएको व्यवसायी राजनारायण साहका परिवारजनसित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटघाट गरेका छन्। उनले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिएका हुन्। 

गत सोमबार बिहान प्रातः भ्रमणमा निस्केका गरुडा ४ का गल्ला व्यवसायी राजनारायण साहलाई झिसमिसे अँध्यारोमै अज्ञात सवारी साधनले ठक्कर हानेको थियो। घटनाको दुई घन्टापछि जिल्ला अस्पताल गौरमा मृत्यु भइसकेको भनेर प्रहरीले आफन्तलाई खबर गरेको थियो। घटनाको छानबिनको माग गर्दै मृतक व्यवसायी साहका आफन्तका साथै स्थानीय व्यावसायीहरुले सडक बन्द र बजार बन्दको आन्दोलन गर्दै आएका छन्। 

व्यवसायीको मृत्यु कसरी भएको हो भन्ने सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेपछि पूर्व प्रधानमन्त्री नेपालले पीडित परिवारलाई शनिवार भेटेर घटनाको निष्पक्ष छानबिनको लागि टोली गठन गराउने र दोषीउपर कारबाही गराउने आश्वासन दिएका हुन्।

घटनाको ६ दिन बितिसक्दा पनि प्रहरीले घटनाको विषयमा खासै केही नगरेको आफन्तहरूको आरोप रहेको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको तर घटना केही जटिल प्रक्रियाको भएकोले केही विलम्ब भएको जनाएको छ।  यसअघि पूर्व मन्त्री प्रभु साह, सांसद देवप्रसाद तिमल्सिना लगायतका नेताहरुले पनि पीडित परिवारलाई भेटेर घटनाबारे निष्पक्ष छानबिन गराउन सहयोग गर्ने बताएका थिए।

प्रकाशित: १७ मंसिर २०७९ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App