४ वैशाख २०८१ मंगलबार
राजनीति

सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ। समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने बलियो सम्भावना देखिएको छ। बाँकी तीनवटा प्रदेशमा पनि मिलीजुली सरकार बनाउनुपर्ने अवस्था देखिएको छ। प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा वर्तमान सत्ता गठबन्धन वा विपक्षी एमाले गठबन्धन कसको नेतृत्वमा सरकार बन्छ भन्ने अड्कल काट्न सक्ने अवस्था छैन।

प्रदेश १ मा राप्रपा र जसपा निर्णायक  

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरी ९३ जना सांसद निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ ५६ सिटको नतिजा आएको छ। प्रदेशसभामा प्रत्यक्षबाट नेकपा एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ सिट जितेका छन्।  

समानुपातिकतर्फ हालसम्मको गणनाअनुसार प्रदेश १ मा ६ वटा पार्टीले ‘थ्रेसहोल्ड’ कटाउने देखिएको छ। प्रदेश १ मा समानुपातिकतर्फ एमालेले ३४.९३, कांग्रेसले २९.३९, राप्रपाले १०.५७, माओवादी केन्द्रले ९.८३, जनता समाजवादी पार्टी (जसपा) ले ३.२५ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले ३.०३ प्रतिशत हाराहारीमा मत पाएका छन्। यस आधारमा प्रदेश १ मा समानुपातिकबाट एमालेले १४, कांग्रेसले १२, राप्रपाले ५ माओवादी केन्द्रले ४, जसपाले १ र नेकपा एसले १ सिटको हाराहारीमा सिट पाउने देखिएको छ। प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ। प्रदेश १ मा सरकार निर्माणमा राप्रपा र जसपा निर्णायक बन्ने देखिन्छ।  

मधेसमा जनमत निर्णायक  

मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १०७ सदस्य चुनिन्छन्। मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ स्थानको गणना सकिँदा १५ सिट जितेर एमाले पहिलो दल बनेको छ। त्यस्तै कांग्रेसले १३, जसपाले ९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७, जनमत पार्टीले ६, माओवादी केन्द्रले ४, नेकपा एसले ४ र स्वतन्त्रले ६ सिट जितेका छन्। मधेस प्रदेशमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्ने देखिएको छ। अहिलेसम्म कांग्रेसले सदर मतको १९.१२ प्रतिशत हाराहारी मत पाएको छ। त्यस्तै एमालेले १७, जनमत पार्टीले १५.२२, जसपाले १४.२५, माओवादी केन्द्रले ८.८५, नेकपा एसले ५.५६, लोसपाले ५.४९ र राप्रपाले ३.१७ प्रतिशत हाराहारीमा मत पाएका छन्। समानुपातिकमा थ्रेसहोल्ड कटाउने दलहरूको हालसम्मको मतपरिणामअनुसार कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ७, माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले ३, राप्रपाले २, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले १÷१ को हाराहारीमा सिट पाउने देखिएको छ। मधेस प्रदेशमा सरकार बनाउन सत्ता गठबन्धन र एमाले–जसपा–राप्रपा गठबन्धनका लागि जनमत पार्टी निर्णायक हुने देखिएको छ।  

वाग्मतीमा गठबन्धनलाई सहज  

वाग्मती प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी १ सय १० सदस्य निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ ६४ क्षेत्रको नतिजा आइसकेको छ। दोलखाका २ क्षेत्रको परिणाम सार्वजनिक हुन बाँकी छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले २४, माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा एसले ५ तथा नेमकिपा र हाम्रो नेपाली पार्टीले १÷१ क्षेत्रमा जित निकालेका छन्। वाग्मती प्रदेशमा समानुपातिकतर्फ एमालेले ३०.३०, कांग्रेसले २५.३३, माओवादी केन्द्रले १४.७२, राप्रपाले १४.५७, नेमकिपाले ३.६६, नेकपा एसले ३.४७ र हाम्रो नेपाली पार्टीले २.५५ प्रतिशत हाराहारीमा मत पाएका छन्। यस आधारमा समानुपातिकतर्फ एमालेले १४, कांग्रेसले १२, माओवादी केन्द्रले ७, राप्रपाले ७, नेमकिपाले २, नेकपा एसले २ र हाम्रो नेपाली पार्टीले १ को हाराहारीमा सिट पाउने देखिन्छ। यो नतिजाअनुसार यहाँ वर्तमान सत्ता गठबन्धनले सहज ढंगबाट सरकार बनाउन सक्छ।

गण्डकीमा गठबन्धन बहुमतनजिक  

गण्डकी प्रदेशसभा ६० सदस्यीय हुन्छ। जहाँ प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सदस्य निर्वाचित हुन्छन्। प्रत्यक्षमा हालसम्म ३५ क्षेत्रको नतिजा आएको छ। स्याङ्जा २ (ख) मा मतगणना जारी छ। प्रत्यक्षतर्फ हालसम्म घोषित नतिजामा कांग्रेसले १६, एमालेले १२, माओवादी केन्द्रले ४ र नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जितेका छन्। गण्डकी प्रदेशमा समानुपातिकतर्फ ७ वटा पार्टीले थ्रेसहोल्ड कटाएका छन्। समानुपातिकतर्फ एमालेले ३७, कांग्रेसले ३४.५६, माओवादी केन्द्रले १२.५५, राप्रपाले ६.२१, हाम्रो नेपाली पार्टीले २, राष्ट्रिय जनमोर्चाले १.५७ र नेकपा एसले १.५९ प्रतिशत हाराहारीमा मत पाएका छन्। यस आधारमा गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले ९, कांग्रेसले ८ देखि ९, माओवादी केन्द्रले ३ र राप्रपाले १ देखि २ सिट पाउने देखिन्छ। यसरी हेर्दा गण्डकी प्रदेशमा सरकार बनाउन अहिलेको सत्ता गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ।  

लुम्बिनीमा दुवै गठबन्धन अप्ठेरोमा  

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक निर्वाचनबाट चुनिन्छन्। प्रत्यक्षतर्फका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ। प्रदेशसभातर्फ एमालेले १८, कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपाले २, लोसपाले २, जसपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले १ र स्वतन्त्र उम्मेदवारले ३ क्षेत्रमा जितेका छन्।  

गण्डकीमा समानुपातिकतर्फ १० दलले थ्रेसहोल्ड कटाउने देखिएको छ। समानुपातिकतर्फ एमालेले ३०.२५, कांग्रेसले २६.४९, माओवादी केन्द्रले १०.५१, राप्रपाले ६.७५, नागरिक उन्मुक्ति पार्टीले ६.६५, जनतम पार्टीले ४.३२, जसपाले ३.२२, नेकपा एसले २.२५, लोसपाले १.९९ र राजमोले १.७३ प्रतिशत हाराहारीमा मत पाएका छन्। यस आधारमा एमालेले ११, कांग्रेसले ९ देखि १०, माओवादी केन्द्रले ३ देखि ४, राप्रपाले २ देखि ३, नागरिक उन्मुक्ति पार्टीले २ देखि ३, जनमत पार्टीले १ देखि २ र जसपाले १ सिट पाउने देखिन्छ।  

कर्णालीमा गठबन्धनलाई दुई तिहाइ

चालीस सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षबाट र १६ जना समानुपातिक निर्वाचनबाट चुनिन्छन्। प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ। प्रत्यक्षतर्फ सत्ता गठबन्धनको कांग्रेसले ९ र माओवादी केन्द्रले ९, एमालेले ५ र स्वतन्त्रले एक क्षेत्रमा जितेका छन्। कर्णालीमा समानुपातिकतर्फ एमालेले ३१.८३, कांग्रेसले २९.५५, माओवादी केन्द्रले २३.८१, नेकपा एसले ६.२०, राप्रपा ४.३५ र नेकपा एसले १.५५ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन्। कर्णालीमा समानुपातिकतर्फ एमाले र कांग्रेसले ५/५, माओवादी केन्द्रले ४, नेकपा एस र राप्रपाले १/१ सिट पाउने देखिन्छ।

सुदूरपश्चिममा गठबन्धनलाई बहुमत  

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ ३० सिटको नतिजा आइसकेको छ। प्रत्यक्षतर्फ कांग्रेसले ११, माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३, नेकपा एसले २ र स्वतन्त्रले एक क्षेत्रमा निर्वाचन जितेका छन्। बाजुराका २ क्षेत्रको मतगणना जारी छ।  

सुदूरपश्चिममा समानुपातिक निर्वाचनतर्फ सावटा पार्टीले थ्रेसहोल्ड कटाएका छन्। समानुपातिकमा एमालेले २९.६६, कांग्रेसले २८.९७, माओवादी केन्द्रले १४.१७, नागरिक उन्मुक्तिले ११.७४, राप्रपाले ५ र नेकपा एसले ४.९८ प्रतिशत हाराहारीमा मत पाएका छन्। यस आधारमा एमालेले ६ देखि ७, कांग्रेसले ६ देखि ७, माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २ देखि तीन, राप्रपाले एक र नेकपा एसले एक सिट पाउने देखिन्छ। यसरी यो प्रदेशमा वर्तमान सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिन्छ।

प्रकाशित: १७ मंसिर २०७९ ००:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App