१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका बस्नेत विजयी

विजयी भएपछि बस्नेत।

इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ। खनाल नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतसँग  २ हजार ६ सय ६४ मतान्तरले पराजित भएका छन्।  

निर्वाचन आयोगका अनुसार बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका छन्। आयोगले बस्नेतलाई निर्वाचित घोषणा गरेको छ। समानुपातिकतर्फको समेत मत गणना गरिसकेपछि आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो। प्रतिनिधिसभा क्षेत्र १ मा सूर्याेदय नगरपालिका, माई नगरका १, २, ३, ४, ५, ९ र १०, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन्। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको थियो।  

२०४८ सालदेखि एउटाबाहेक सबै संसदीय निर्वाचनमा खनाल यहाँबाट विजयी भएका थिए। यसअघिसम्म सूर्य चिह्नमा चुनाव लडेका खनाल यसपटक भने एमाले विभाजित भइ गठन भएको नेकपा (एस)बाट चुनावमा प्रतिस्पर्धा गरेका हुन्। उनी गठबन्धनको साझा उम्मेदवारका रूपमा थिए।

खनाल २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री बने। २०५३ सालको गठबन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री भए। २०५४ को छैटौं महाधिवेशनबाट खनाल पार्टीको स्थायी कमिटी र केन्द्रीय सदस्य भए। ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बनेका थिए।  २०६७ माघ २० मा उनी प्रधानमन्त्री निर्वाचित भएका थिए।  

को हुन् बस्नेत ?

निर्वाचित बस्नेत एमालेभित्र प्रभावशाली नेता र ‘चुनावी खेलाडी’ नेताका रूपमा चिनिन्छन्। विद्यार्थी राजनीति गर्ने क्रममा २०३६ सालमा अनेरास्ववियूको तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुँदै उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन्। इतिहास विषयमा स्नातकोत्तर गरेका बस्नेतले २०५१ सालमा सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा ४ वर्ष अध्यापन गरे। नेकपा (एमाले)को इलाम नगर कमिटी सचिव (प्रमुख), जिल्ला सदस्य, जिल्ला सचिव हुँदै अहिले उनी पार्टीको जिल्ला अध्यक्ष छन्।  

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यलाई पराजित गरी बस्नेत इलाम नगरपालिकाको मेयर बने। २०५४ सालको निर्वाचनमा पनि बस्नेतले इलामकै मेयरमा उनै कर्माचार्यलाई पराजित गरेका थिए। बस्नेत इलाम नगरको भौतिक पूर्वाधार विकासमा गरेको कामले जिल्लामा परिचित छन्। उनी पछिल्लो पटक मेयर भएका बेला नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशको संयोजकसमेत बनेका थिए।

प्रकाशित: १२ मंसिर २०७९ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App