१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगर महानगरद्वारा न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव

विराटनगर महानगरपालिकाले अमेरिकाको न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव राखेको छ। अमेरिकाको न्युयोर्क सहरका मेयरसँगको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव राखेका हुन्।  

कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत गरे। उनले विराटनगर राजनैतिक र औद्योगिक नगरी भएको चर्चा गरे। कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारीसमेत गराए। उनले विराटनगरको सबैभन्दा ठूलो समस्या डुवान भएको बताए। डुवानको समस्या समाधान नगरी गरिने भौतिक विकास दीगो र टिकाउ नहुने कोइरालाले बताए। उनले भने‘डुवानको समस्या समाधान नगरी बनाइने सडक, नाला लगायतका पूर्वाधार दीगो हुँदैन।’ उनले त्यसका लागि पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलियामा तटबन्ध बनाउन पहल भइरहेको बताए।  

कोइरालासहित नेपालका आधा दर्जन मेयरहरूबीच द्विपक्षीय हित र साझेदारीका विषयमा भर्चुअल संवाद कार्यक्रम भएको थियो। न्युयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्विपक्षीय संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरसँग भगिनी सम्बन्ध, शैक्षिक र सांस्कृतिक आदानप्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरूले बताएका छन्।  

न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगरका मेयर कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्णप्रसाद कोइराला सहभागी थिए।

द्विपक्षीय भर्चुअल संवादमा मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क सहरको भावनात्मक सम्बन्ध रहेको बताए। उनले कोरोना महामारीको समयमा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए।  

कार्यक्रमको गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए। उनले नेपालका नगरहरू र न्युयोर्कबीच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनाहरूमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको बताए।  

प्रकाशित: १० मंसिर २०७९ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App