४ वैशाख २०८१ मंगलबार
राजनीति

कास्कीमा एमाले बलियो, कांग्रेसलाई बिऊ जोगाउनै मुश्किल

तस्बिरः कास्की–१ बाट बिजयी मनबहादुर गुरुङ, कास्की–२ बाट बिजयी विद्या भट्टराई अधिकारी र कास्की–३ बाट बिजयी दामोदर पौडेल (बैरागी)।

कास्कीमा एमालेले फेरी एक पटक आफू बलियो बनेको सन्देश दिएको छ। कुनै बेलाको लालकिल्ला रहेको कास्की जिल्लामा यसपटक गठबन्धनका कारण एमालेको उपस्थिति कमजोर बन्ने अनुमान गरिएको थियो। स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।

एमालेले कास्कीमा प्रतिनिधि सभाका ३ वटै क्षेत्र जितेको छ। तीन निर्वाचन क्षेत्र गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसलाई एक÷एक वटा बाँढेपनि गठबन्धनका कुनैपनि दलले जित्न सकेनन्। त्यस्तै प्रदेशका ६ क्षेत्र मध्ये एमालेले ४ वटा क्षेत्र जितेको छ। बाँकी २ वटा प्रदेशका क्षेत्र जितेर कांग्रेसले बिउ जोगाएको छ। माओवादी र नेकपा एस भने एउटापनि क्षेत्र नजितेर निल बनेको छ।

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका मनबहादुर गुरुङ बिजयी भए। उनले नेपाली कांग्रेसका किशोरदक्त बराललाई २ हजार ६ सय ९ मतान्तरले पराजित गरे। बिजयी गुरुङले २५ हजार ७ सय ९८ मत प्राप्त गरे। पराजित बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरे।

कास्की–२ मा एमालेकी विद्या भट्टराई अधिकारी बिजयी भईन्। भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोश्रो जित चुमेकी हुन्। विद्या १६ हजार ९ सय ९८ मत प्राप्त गर्दै बिजयी हुँदा प्रतिस्पर्धी कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरे। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत ल्याए। 

कास्की–३ मा एमालेका दामोदर पौडेल बैरागी बिजयी भए। बैरागीले माओवादीका रामजीप्रसाद बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गरे। बिजयी बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा पराजित बरालले १७ हजार ४ सय ३५ मत प्राप्त गरे।

त्यस्तै, कास्कीमा प्रदेश सभाका ६ निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा एमालेले जितेको छ। कास्की–१ (१) मा एमालेका खगराज अधिकारी बिजयी बने। उनले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपक कोईरालालाई ३ हजार ९ सय ९६ मतान्तरले पराजित गरे। बिजयी अधिकारीले १५ हजार ६ सय २३ मत प्राप्त गर्दा पराजित कोईरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे।

कास्की–१ (२) मा एमालेका बेदबहादुर गुरुङ बिजयी भए। उनले कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले पराजित गरे। बिजयी बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा पराजित दीपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे।

कास्की–२ (१) मा एमालेका भीमबहादुर कार्की बिजयी भए। उनले राप्रपाका बिजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतान्तरले पराजित गरे। बिजयी कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा पराजित भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे। माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे।

कास्की–२ (२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भए। यसअघि वाम गठबन्धन हुँदा २०७४ को निर्वाचनमा पनि जितेर कांग्रेसको बिऊ जोगाएका उनले यसपटकपनि जितेर कास्की कांग्रेसको ईज्जत जोगाएका छन्। उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गरे। बिजयी थापाले ९ हजार २ सय ८० मत प्राप्त गर्दा पराजित गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरिन्।

कास्की–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङ बिजयी भए। उनले माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतान्तरले पराजित गरे। बिजयी गुरुङले १४ हजार ४ सय ७३ मत प्राप्त गर्दा पराजित भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरे।

कास्की–३ (२) मा नेपाली कांग्रेसका प्रकाश बराल बिजयी भए। उनले एमालेका राजिव पहारीलाई ४ सय ६५ मतान्तरले पराजित गरे। बिजयी बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पराजित पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App