८ वैशाख २०८१ शनिबार
राजनीति

सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत

जनमत पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को दुई प्रदेशसभा सिट जितेर मधेसमा विजयी सुरुवात गरेको छ।

मधेस प्रदेशसभा सदस्यमा सप्तरी २(क)बाट निर्वाचित जनमत पार्टी सतिश सिंह र २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव। तस्बिर : नागरिक

जनमत पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को दुई प्रदेशसभा सिट जितेर मधेसमा विजयी सुरुवात गरेको छ। २ को (१) बाट शतिशकमार सिंह र २ को (२)बाट जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित भएका छन्।

सतिश कुमार सिंहले प्रतिस्पर्धी जसपाका शैलेन्द्रप्रसाद साहलाई ८ हजार ७ सय ५ मतअन्तरले पाराजित गरेका छन्। सिंहले १६ हजार ७ सय ३४ मत ल्याएर निर्वाचित हुँदा जसपाका साहले ८ हजार २९ मत ल्याएका छन्।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेश प्रसाद यादवले प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादवलाई ६ हजार ३ सय २ मत अन्तरले पराजित गरेका छन्। महेशले १३ हजार ३ सय २५ मत ल्याएर निर्वाचित हुँदा उमेशले ७ हजार २३ मत ल्याएका छन्।

०७४ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २ को (क)बाट निर्वाचित तत्कालीन संघीय समाजवादी फोरमका शैलेन्द्रप्रसाद साहले १० हजार ५ सय ७० मत ल्याएका थिए। उनका प्रतिस्पर्धी सरोजकुमार मण्डलले ७ हजार ५ सय ९३ मत ल्याएका थिए।

यसैगरी क्षेत्र नम्बर २ को (ख)बाट तत्कालिन राजपाका मनिष सुमन ८ हजार ९ सय ३९ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महेशप्रसाद यादवले ४ हजार ९ सय ८५ मत ल्याएका थिए।

यसपटक मनिष सुमन समानुपातिकमा समावेश भएपछि क्षेत्र नम्बर २ को (ख) बाट जसपाका लक्ष्मण यादव उम्मेदवार थिए। उनले ५ हजार ६ सय २९ मत ल्याएर तेस्रो भए।

०७४ को निर्वाचनमा जितेका दुवै प्रदेशसभा सिट यसपाली जसपाले गुमाउन पुगेका छन्। र, प्रतिनिधिसभा सिट जोगाउन पनि जसपालाई हम्मे परेको छ।  

निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधसभा सदस्यमामा जनमत पार्टीका अध्यक्ष सिके राउत जसपा अध्यक्ष उपेन्द्र यादवसँग दोब्बर मतले अगाडि छ। ३६ हजार ४ सय ६२ मत गणना हुँदा राउतले १९ हजार ६ सय २ मत ल्याएका छन् भने यादवले १० हजार १ सय ४८ मत प्राप्त गरेका छन्। राउतको अग्रता मतगणनादेखि नै कायम छ।  

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार यस क्षेत्रको अन्तिम मत परिणाम आउन बुद्यबार दिउँसो ४ बज्न सक्छ। 

प्रकाशित: ७ मंसिर २०७९ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App