२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारी झुक्किँदा दुईपटक मतदान

मौला ईश्लामिक (मदरसा) सामुदायिक आधारभुत विद्यालयमा दोश्रो पटक मतदान गर्न पुगेका मतदाता। तस्बिर सन्देश/नागरिक

कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन्। आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन। उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु निर्वाचनमा खटिएका कर्मचारीको लापर्वाहीका कारण उनीहरुले आफ्नै नाममा दुई पटक मतदान गर्न पाएका हुन।

कास्की निर्वाचन क्षेत्र नम्बर १(२)मा पर्ने पोखरा–१३ स्थित मौला ईश्लामिक सामुदायिक (मदरसा) आधारभुत विद्यालयमा रहेको मतदान स्थलको केन्द्र (ख) मा पुगेका मतदातालाई त्यहाँ खटिएका कर्मचारीले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिएपछि विवाद शुरु भएको थियो।  

सो केन्द्रमा शुरुमा प्रतिनिधि सभा समानुपातिकतर्फको १० वटा मतपत्र मात्र दिईएको थियो। उक्त मतपत्र सकिएपछि थप १ सय वटा मतपत्र दिइएको थियो। शुरुमा दिइएको मतपत्र प्रतिनिधि सभा समानुपातिकतर्फकै मतपत्र दिइएपनि पछि थपिएको १ सय वटा मतपत्र प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिइयो। जसका कारण त्यहाँ बस्ने कर्मचारीले मतदातालाई प्रतिनिधि सभा समानुपातिकतर्फको मत पत्र भन्दै प्रदेश सभा समानुपातिकतर्फको मतपत्र दिए।

शुरुको १० जनाले सहि मतपत्र नै पाएपनि ११ देखि २४ औं नम्बरमा मतदान गर्न पुगेका मतदाताले भने प्रतिनिधि सभा समानुपातिकतर्फको मतपत्रको सट्टा प्रदेश सभा समानुपातिकतर्फको मतपत्र लिएर त्यसैमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसाए। तर २५ औं नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक उम्मेदवार समीउन निशाले मतदान गर्ने बेलामा आफ्नो पार्टीको घण्टी चिह्न नदेखेपछि सोधखोज गरिन्। त्यसपछि मात्रै मतपत्र साटिएको मेसो पाए निर्वाचनमा खटिएका कर्मचारीले। उम्मेदवार निशाले भनिन्, ‘अरुले त मेसै पाएनछन् मतपत्र साटिएका। तर मैले आफ्नै पार्टीको चिह्न नदेखेपछि पो थाहा भयो।’

मतपत्र साटिएको थाहा भएपछि सो केन्द्रमा करिब २ घण्टा मतदान रोकिएको थियो। त्यस समयमा मतदान अधिकृतसहित छलफल गरेर मतपत्र साटिएका १४ जनालाई पुनः मतदान गर्न दिने सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको थियो। उम्मेदवार समिउन निशाले मतपत्र साटिएकालाई पुनः मतदान गर्न दिने सहमति पछि मतदान सञ्चालन गर्न दिइएको बताईन्। ‘१०÷१५ जनाका कारण जनतालाई दुःख नहोस् भनेर सहमति गरेका हौं तर यस्तो पुनः नदोहोरियोस्,’ उनले भनिन्। मतदान अधिकृत गणेश घिमिरेले भने मतपत्र साटिएकोबारे प्रतिक्रिया दिन मानेनन्।

प्रकाशित: ४ मंसिर २०७९ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App