१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मौन अवधिमा झुटो समाचार भाइरल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा शनिबार दिनभरी सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमको मास्ट हेड प्रयोग गरी नक्कली समाचार कटिङ भाइरल बने।

फेक समाचार भाइरल बनेपछि यस विषयमा निर्वाचन आयोगले साइबर ब्युरो र मेटा कम्पनीलाई जानकारी गराएको छ। शनिबार नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी लगायतका सञ्चार माध्यमको मास्ट हेड राखेर सोही मिडियाले प्रेसित गरेको जस्तै हुवह देखिने गरी फोटोसप एपबाट नक्कली समाचार तयार गरिएको थियो। त्यसरी तयार गरिएको नक्कली समाचार विभिन्न व्यक्तिको नाममा सामाजिक सञ्जालमा पोष्ट गरियो। त्यसपछि समाचार नक्कली समाचार भएको पुष्टि भयो।

त्यस्ता नक्कली समाचार कटिङ विभिन्न प्रतिष्ठित व्यक्तिले समेत सेयर गरे। केही प्रतिष्ठित व्यक्तिबाटै नक्कली समाचार कटिङ सेयर गरी समाजमा अफवाह फैलाउन प्रयास गरेका थिए।

‘प्रचण्डबाहेक माओवादीका उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर, माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक: प्रचण्ड, गठबन्धनमा दरार आएको’ जस्ता विभिन्न शिर्षकमा तयार गरिएको नक्कली समाचार कटिङ शनिबार दिनभरी सामाजिक सञ्जालमा भाइरल बने। यस विषयमा निर्वाचन आयोगको गम्भिर ध्यानकर्षण भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।

‘आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। अब आयोगले केही न केही कदम चाल्छ’ उनले भने। आयोगका अनुसार फेक समाचारको विषयमा आयोगले शनिबार नै साइबर ब्युरो र मेटा कम्पनीलाई जानकारी गराएको छ।

‘आचारसंहिता विपरीत काम भएको पाइएमा पहिले हामीले त्यस्ता समाचार हटाउन आग्रह गर्छौ। हाम्रो आग्रह नमानेपछि सम्बन्धित निकायमा जानकारी गराउँछौं,’ अर्यालले भने। आयोगले आफ्नो संयन्त्रबाट पनि आचारसंहिता उल्लंघन भए/नभएको विषयमा अनुगमन गरिरहेको उनको भनाइ छ।

मास्ट हेड प्रयोग गरिएका समाचार माध्यममा कार्यरत पत्रकारहरूले समेत सामाजिक सञ्जालमा भाइरल बनेको समाचार आफ्नो सञ्चार माध्यममा कहिल्यै प्रकाशन नभएको प्रष्टीकरण दिएका छन्। सम्बन्धित सञ्चार माध्यममै कार्यरत पत्रकारहरूले नै नक्कली समाचार भएको प्रष्टिकरण दिँदा दिँदै पनि नक्कली समाचारको कटिङ शनिबार दिनभरी भाइरल बनिरहे।

त्यस्ता नक्कली समाचार सामाजिक सञ्जालमा ठूलो संख्यमा सेयर भए। तर त्यो सँगसँगै यसरी तयार गरिएको नक्कली कामको विरोधमा सामाजिक सञ्जालमा त्यसरी नै आलोचना भइरह्यो।

नक्कली समाचार तयार गरी समाजमा भ्रम सिर्जना गर्न खोजे पछि नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाली गम्भीर आपत्ति प्रकट गरेका छन। साथै दोषीलाई कारबाही गर्न ती पार्टीहरूले माग गरेका छन्।

नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र श्रीराम ढकालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा भाइरल बनेका नक्कली समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाली कांग्रेस र माओवादी पार्टीवीच फाटो ल्याउने दुषित मनसायबाट यस्ता नक्कली समाचार तयार गरिएको नेपाली कांग्रेस र माओवादीले जनाएका छन्।

‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ।

यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ।’ यस्तो नक्कली समाचारप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको र यस्तो अपराधपूर्ण काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको विज्ञप्तिमा जनाइएको छ।

‘यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा सेयर गर्नु निर्वाचन अपराधसमेत भएको दुई पार्टीले ठहर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: ४ मंसिर २०७९ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App