१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सदरमुकामबाट हिंडेको चारदिनमा पुग्यो ताप्लेजुङको याङ्मा केन्द्रको टोली

तस्बिर: नागरिक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रका लागि फुङलिङबाट कात्तिक २९ गते हिंडेको मतदान अधिकृतसहितको टोली ४ दिन लगाएर मंसिर २ गते मात्र त्यहाँ पुग्यो। करिब ४ हजार २ सय मिटर उचाईमा रहेको यो मतदान केन्द्रमा ६१ मतदाता छन्।  

जिल्लाकै सबैभन्दा दुर्गम मानिएको यो केन्द्रमा पुग्नै ४ दिन लागेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उत्तरी ताप्लेजुङको मतदान केन्द्रको मतपेटिका ल्याउन हेलिकोप्टरनै अनिवार्य रहेको निश्कर्ष निकालेको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्या फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ र ७ का ४ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालय समक्ष सिफारिस गरिएको बताउँछिन्।

‘हामीले आयोग र गृह मन्त्रालयमा उत्तरी क्षेत्रका ४ मतदान स्थलको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन यसअघि नै सिफारिस गरिसकेका छौं’ मुख्य निर्वाचन अधिकृत योङ्याले भनिन् ‘मतदान अधिकृतको टोली मतदानस्थल पुग्ननै ४ लिन लागेपछि अब मतपेटिका ल्याउन हेलिकोप्टरबाट मात्र सम्भव देखियो।’ उत्तरी क्षेत्रका ४ मतदान स्थलको मतपेटिका ल्उान जति छिटो हुन्छ,मतगणना सुरु गर्न उत्तिनै सहज हुने जिल्ला निर्वाचन व्यवस्थापन समितिले निश्कर्ष निकालेको छ।  

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोला तथा याङ्मा र फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्सा र ग्याब्ला मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत नै ल्याउनुपर्ने आफुहरुको निश्कर्ष रहेको बताउँछन्। ‘सोहि अनुसार हामीले आयोेग र गृह मन्त्रालय समक्ष सिफारिस गरेका हौं’ पोखरेलले भने।  

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन समितिले त्यहाँका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन आग्रह गरेपनि अन्तिम समयमा हेलिकोप्टर आएको थिएन र मतपेटिका बोकैरै गाउँपालिकाको केन्द्र तापेथोक सम्म ल्याइएको थियो। अहिलेको मतपेटिका सबै सदरमुकाम फुङलिङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनु पर्छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित घुन्सा आधारभूत बिद्यालय मतदान केन्द्रमा १ सय ६९ जना र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेका छन्। यस्तै वडा नं ७ ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा २ सय ८४ जना र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ जना मतदाता रहेका छन्।  

हेलिकोप्टरले मतपेटिका ल्याए ४ दिनमा प्रतिनिधिसभाको नतिजा उत्तरी क्षेत्रका ४ मतदान स्थलको मतपेटिका हेलिकोप्टरबाट ल्याइ पुर्‍याइएको अवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयले बढीमा ४ दिन भित्रमा एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। मुख्य निर्वाचन अधिकृत योङ्याले सुरुमा प्रतिनिधिसभाको मतगणना दुई स्थानमा गर्ने र त्यसपछि प्रदेशसभाका दुई निर्वाचन क्षेत्रको एक–एक स्थानमा गणना गर्ने तयारी सुनाइन्। मतगणनाका लागि तारजालीसहित दुईवटा मतगणना स्थल तयारी गरिएको उनले बताइन्। मतगणना स्थलमा सिसी क्यामेराको निगारानी रहने भएको छ। मतपेटिका राख्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ वटा कोठा तयारी अवस्थामा राखेको समेत जनाएको छ।  

निर्वाचन तयारी सकियो  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको सबै तयारी सकिएको बताएको छ। मुख्य निर्वाचन अधिकृत योङ्याले जिल्लाभरमा सबै मतदानस्थल र मतदान केन्द्रहरुमा कर्मचारी पुगेर निर्वाचनका लागि सबै तयारी लगभग पूरा गरेको जानकारी दिइन्। यहाँ ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।  

प्रतिनिधिसभाको प्रत्यक्षतर्फमात्र मतदान गर्न पाउने अस्थायी मतदाताका लागि कारागार र फुङलिङ तोक्मेस्थित शनिबार हटिया परिसर गरी दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका मुख्य निर्वाचन अधिकृत योङयाले यि मतदान केन्द्रमा मतदान गर्न नपाउने अस्थायी मतदाताले निर्वाचनमा क्रममा खटिएको मतदान केन्द्रमै मतदान गर्न पाउने बताइन्। उनका अनुसार यहाँ १ हजार १ सय ५ जना अस्थायी मतदाता रहेका छन्। जिल्ला कारागारका ४६ जना कैदीबन्दीले मतदना गर्दैछन्।  

१ हजार ७ सय बढी सुरक्षा जनशक्ति परिचालन हुने  

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा यहाँ १ हजार ७ सय २ जना सुरक्षा जनशक्ति परिचालन हुने भएको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार ४ सय ५१ जना प्रहरी,७ सय ३७ जना म्यादी प्रहरी,२ सय १८ जना नेपाली सेना संगै अतिरिक्त एक गुल्म र १ सय ७० जना सशस्त्र प्रहरी टोली परिचालन गरिने छ। तीनघेराको सुरक्षा प्रवन्ध गरिएको प्रशासनले जनाएको छ। संम्बेदनशिल मतदानस्थल तथा केन्द्रहरुमा पहिलो घेरामा प्रहरी,दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाको टोली परिचालन गरिने भएको छ। साथमा प्रशासनले अति संम्बेदनशिल भनेर पहिचान गरेका मतदानस्थलहरुमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। निर्वाचनका लागि भने ९ सय ९५ कर्मचारी खटिएका छन्।  

प्रजिअकै हैसियतमा क्षेत्र नं २ का लागि खटिए खड्का  

निर्वाचन आयोगले तयार पारेको कार्यविधि अनुसार यहाँको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ भरी हेर्नेगरी एकजना उपसचिव तहका कर्मचारीलाई सुरक्षा संम्बेदनशिलतामा प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न पाउने अधिकार प्रत्यायोजन सहित खटाइएको छ। उत्तर–दक्षिण मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजनाका प्रमुख अमिन्द्र खड्काले त्यो जिम्मेवारी पाएका हुन्।  

प्रमुख जिल्ला अधिकारी पोखरेलले समग्र जिल्लाको सुरक्षा व्यवस्थापन सहित प्रदेशसभा निर्वाभचन क्षेत्र नं १ को सुरक्षा स्थितिको जिम्मेवारी ग्रहण गर्नेछन्। आइतबार हुने मतदानका लागि तयारी अवस्थामा राखिएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुस्थित सिंहदेवी आधारभूत विद्यालय मतदान केन्द्र। 

प्रकाशित: ३ मंसिर २०७९ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App