७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन कर्मचारीलाई पाँच महिनामा सय प्रतिशत भत्ता

निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैंले कानुन बनाएका छन्। यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले यस्तो सुविधा पाउने गरेका छन्।  

गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो। उक्त कार्यविधिअनुसार निर्वाचनको कुनै काममा संलग्न आयुक्त आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा संलग्न कर्मचारी, आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्त निवासमा खटाइएका सुरक्षाकर्मी, आयुक्त तथा सचिवका निजी सुरक्षा अधिकारी (पिएसओ) र आयोगको मूलगेटमा खटिने नेपाल प्रहरीका १० जनासम्मले निर्वाचन सुविधा, खाजा खर्च तथा खाना खर्च पाउने व्यवस्था गरिएको छ।

यसैगरी आयुक्त तथा आयोगको सचिवालयका कर्मचारीले निर्वाचन मिति घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनसम्म प्रतिमहिना सञ्चार सुविधा पाउने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। यसबाहेक आयुक्तले प्रतिमहिना सञ्चारमा २ हजार ५ सय, सचिवले प्रतिमहिना २ हजार, सचिवले १ हजार ५ सय, उपसचिवले १ हजार र शाखा अधिकृतले ५ सय रुपैयाँ पाउँछन्। यसैगरी प्रत्येक निर्वाचन अधिकृतले एकमुष्ट थप ५ हजार रुपैयाँ पाउने व्यवस्था कार्यविधिमा गरिएको छ।  

जिल्ला निर्वाचन व्यवस्थापन समितिका सदस्यले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मितिदेखि समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने मतगणना सम्पन्न भएको दिनसम्म सुविधा पाउने व्यवस्था गरिएको छ। आयोगको सचिवालय, निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयले निर्वाचन सञ्चालनका लागि राजनीतिक दलसँगको छलफल, अन्तक्र्रिया, निर्वाचन समीक्षा र अभिमुखीकरण कार्यक्रमका लागि पनि खर्च गर्न सक्ने व्यवस्था कार्यविधिमा छ। यसैगरी निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद, मतदान सामग्री, छपाइ, प्याकिङ, ढुवानी खर्च, निर्वाचनमा खटिने कर्मचारीलाई तालिम, पर्यवेक्षकका लागि सञ्चालन गर्ने तालिम र मतदाता शिक्षाका लागि खर्च गर्न सकिने व्यवस्था पनि गरिएको छ। आयोगका अनुसार यसपटक देशभर २ लाख ४६ हजार कर्मचारी परिचालित  छ।

कार्यविधिअनुसार मतदान अधिकृतको प्रतिदिन भत्ता २ हजार ५००, सहायक मतदान अधिकृतको प्रतिदिन २ हजार, सहायक कर्मचारीको प्रतिदिन १ हजार ६०० र सहयोगी कर्मचारीलाई प्रतिदिन १ हजार ६०० रुपैयाँ भत्ता दिने व्यवस्था गरिएको छ। भवन उपलब्ध भएको ठाउँमा मतदान केन्द्र निर्माण खर्चमा ७ हजार तथा भवन उपलब्ध नभएका ठाउँमा मतदान केन्द्रका लागि १५ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्चमा १५ किलोमिटरमा ३ हजार, विविध तथा भैपरि आउने खर्च (पानी, बिजुली, सञ्चारसमेत) ५ हजार रुपैयाँ तोकिएको छ। यो खर्च मतदान अधिकृतलाई भरपाई गरी बुझाउनुपर्ने व्यवस्था कार्यविधिले गरेको  छ। सुरक्षा अनुगमन घुम्ती टोलीतर्फ सुरक्षा टोली प्रमुख (अधिकृतस्तरको नवौं वा दसौं) लाई प्रतिदिन २ हजार ५००, घुम्ती टोली सवारीचालकलाई प्रतिदिन १ हजार ६००, घुम्ती टोलीको सवारीसाधनको इन्धन प्रतिदिन ३ हजार, घुम्ती टोलीको खाजा खर्च प्रतिदिन २ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

यसैगरी प्रमुख मतगणना अधिकारी टोलीको भत्ता दैनिक २ हजार ५०० तथा मतगणनाका लागि एकै समयमा एकभन्दा बढी टोली परिचालन गरिए प्रमुख मतदान अधिकारीले प्रत्येक टोलीका लागि पाउने थप १ हजार रकम पाउने व्यवस्था गरिएको छ। मतगणना सहायक तथा कम्प्युटर अप्रेटरका लागि प्रतिदिन १ हजार ६०० तथा कार्यालय सहयोगीका लागि प्रतिदिन १ हजार २०० रुपैयाँ भत्ता व्यवस्था गरिएको छ।

त्यस्तै मसलन्द तथा कार्यालय सामग्रीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ लाख तथा निर्वाचन अधिकृतको कार्यालयमा ८० हजार, पानी तथा बिजुलीका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ६०/६० हजार, सञ्चार खर्चमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ३०/३० हजार, मर्मत तथा सम्भारमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ३०/३० हजार, इन्धन तथा अन्य सुविधाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि ६०/६० हजार रुपैयाँ व्यवस्था गरिएको छ। मतगणना व्यवस्थापनका लागि २० हजारसम्म मतदाता भए मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३० हजार, निर्वाचन अधिकृतको कार्यालयमा २५ हजार खर्च गर्ने व्यवस्थासमेत गरिएको छ।  

यसैगरी ५० हजार मतदाता भएमा ४० हजार, ८० हजारसम्म मतदाता भएमा ५० हजार, ८० हजारभन्दा बढी मतदाता भएमा ६० हजार रूपैयाँ मतगणना व्यवस्थापनका लागि खर्च गर्न सकिने व्यवस्था गरिएको छ। मतगणनामा चियाखाजा खर्चमा ५ हजार तथा विविधका लागि मुख्य निर्वाचन अधिकृतका लागि ५० हजार र निर्वाचन अधिकृतको कार्यालयमा ३५ हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ।  

आयोगका अनुसार २५० मतदाता भएको मतदान केन्द्रमा १ जना अधिकृत, १ जना सहायक मतदान अधिकृतसहित ९ जना, २५० देखि ५ सयसम्म मतदाता भएको केन्द्रमा १ जना अधिकृत, एक जना सहायक अधिकृतसहित ११ कर्मचारी खटाउने व्यवस्था गरिएको छ। यसैगरी २५० मतदाता भएको अस्थायी मतदान केन्द्रमा १ जना अधिकृतसहित ४ जना, २ सय ५० भन्दा बढी मतदाता भएको केन्द्रमा १ जना अधिकृतसहित ५ कर्मचारी खटाउने व्यवस्था गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ००:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App