७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मोरङको निर्वाचन केन्द्रमा सामग्री पुग्यो, १३ हजार जनशक्ति परिचालन

यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी धमाधम हुँदैछ। निर्वाचन सामग्रीसहित सबै निर्वाचन क्षेत्र पुगका कर्मचारी र सुरक्षाकर्मीहरुले तयारी धमाधम थालेका छन्।

मोरङको ६ वाट निर्वाचन क्षेत्रबाट ६ जना प्रतिनिधिसभा र १२ जना प्रदेशसभा सदस्यको निर्वाचनका लागि १३ हजारभन्दा बढी जनशक्ति परिचालनसहित तयारी धमाधम भइरहेको बताइएको छ। निर्वाचनलाई लक्षित गरेर मोरङमा ७ हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी गरी १३ हजार जनशक्ति परिचालन भएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई लक्षित गर्दै ७ हजार ४ सयभन्दा बढी सुरक्षाकर्मी र ६ हजार ७ सय १२ जना कर्मचारी परिचालन गरिएको जानकारी दिए।

नेपाल प्रहरी र म्यादी प्रहरीहरु सम्बन्धित मतदानस्थलमा सुरक्षाको व्यवस्था मिलाउन थालिसकेको बताउँदै, प्रजिअ दाहालले भने, ‘नेपाली सेना र सशस्त्र प्रहरीले पनि निर्वाचनमा पाएको जिम्मेबारी अनुसार काम गर्दै आएका छन्। सुरक्षा व्यवस्था चुस्तदुरुस्त र मजबुत बनाउन मतदानस्थलहरुको निरीक्षण भइरहेको छ।’

निर्वाचन आचारसंहिता उल्लंघनका घटना लगायतका अन्य गैह्र कानुनी गतिविधिलाई नियन्त्रण लिनका लागि गस्ती, सवारीसाधन चेकजाँच, शंकास्पद व्यक्तिमाथि निगरानी र चुनाव विरोधी समूहको पहिचान गरेर नियन्त्रणमा लिन सुरक्षाकर्मी व्यापक रुपमा परिचान भएका छन्। भारतसँग सीमा जोडिएको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सीमा क्षेत्रबाट हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रणमा लिँदै शान्तिपूर्ण तबरबाट निर्वाचन गराउनका लागि नेपाल र सशस्त्र प्रहरीको सीमा क्षेत्रमा उपस्थिति बढाएको बताउँदै, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले भने, ‘सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीको गस्ती बढाइएको छ । शंकास्पद गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने छ।’  

मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलका अनुसार निर्वाचनका लागि ६ हजार ७ सय १२ जना कर्मचारी निर्वाचन सामग्रीसहित तोकिएको आआफ्नो मतदानस्थलमा पुगी सकेका छन्। मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन्।  मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला रहेका छन्।  

प्रकाशित: २ मंसिर २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App