२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँकेमा १ सय ३८ मतदान स्थल, सामाग्री बुझेर कार्यक्षेत्र पुगे कर्मचारी

जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दै

बाँके क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीलाई निर्वाचन सामाग्री बुझाइँदै। तस्बिर: नागरिक

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ। सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन्।  

उनका अनुसार नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पनि एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।  ‘यसपटक आयोगको परिपत्र अनुसार कर्मचारी, थुनुवा, कैदी, वृद्धाश्रममा रहेका जेष्ठ नागरिक लगायतका लागि अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको हो, यसअघि अस्थायी मतदान केन्द्र राख्ने ब्यवस्था थिएन,’ उनले नागरिकसँग भनिन्।

निर्वाचन कार्यालय प्रमुख पन्तका अनुसार बाँकेको क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ। तीन वटै क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका छन्। ‘निर्वाचनको तयारी अन्तिम अवस्थामा छ, सबै कर्मचारीहरु निर्वाचन सामाग्री लिएर आफ्नो क्षेत्रमा खटिसक्नु भएको छ,’ पन्तले भनिन् ‘अब हामी मतदान सुरु हुने प्रतिक्षामा छौं, भोली मतदान केन्द्र निर्माण गरेर पर्सि मतदान गराइनेछ।’  

निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन्। यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन्। बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन्। त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।  

उनका अनुसार बाँके प्रदेश सभा १ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा १ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन्। यस्तै प्रदेश सभा २ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा २ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन्। यसैगरी प्रदेश सभा ३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा ३(२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन्।  

प्रकाशित: २ मंसिर २०७९ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App