भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको रसुवा र त्रिशूली आसपासका क्षेत्रमा बिहीबार घाम लागेपछि उद्धारकर्मीलाई केही राहत मिलेको छ। मौसम खुलेसँगै हेलिकोप्टर उडान र स्थलमार्गबाट उद्धार तथा राहत सामग्री पुर्याउन सहज भए पनि विपद्ले घर, सडक, विद्युत् र सञ्चार गुमाएका पीडितको अवस्था भने अझै कठिन छ।
बाढीपहिरोपछि कतिपय परिवार आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेर चिन्तामा छन्। कतै उद्धारको पर्खाइमा रहेका नागरिक छन् भने कतै घरबास गुमाएका परिवार खुला आकाशमुनि वा अस्थायी आश्रयमा दिन बिताउन बाध्य छन्। सञ्चार सम्पर्क नहुँदा आफ्ना परिवार र आफन्तसँग कुरा गर्न नपाउनु उनीहरूको पीडामाथिको अर्को पीडा बनेको छ।
.jpg)
प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली खोज तथा उद्धारमा निरन्तर खटिएका छन्। नेपाली सेनाको समन्वयमा निजी हेलिकोप्टरसमेत परिचालन गरी सम्पर्कमा आएका तथा जोखिममा रहेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
उद्धारकर्मीका अनुसार सम्पर्कमा आउन सफल भएका नागरिकलाई क्रमशः सुरक्षित स्थानमा ल्याइएको छ। तर कतिपय क्षेत्रमा अझै सञ्चार सम्पर्क स्थापित हुन नसक्दा त्यहाँ रहेका नागरिकको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ।
मोबाइलमा चार्ज छैन, आफन्तसँग सम्पर्क छैन
.jpg)
बाढीपहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न नपाउनु प्रभावितका लागि ठूलो समस्या बनेको छ। मोबाइल टावरका ब्याकअप प्रणालीसमेत सकिएपछि कतिपय क्षेत्रमा फोन र इन्टरनेट सेवा पूर्ण रूपमा प्रभावित भएका छन्।
यसले उद्धारको समन्वय मात्र होइन, घरबाट टाढा रहेका परिवारलाई आफ्ना आफन्तको अवस्था बुझ्नसमेत कठिन बनाएको छ। केही स्थानमा बिहीबारदेखि विद्युत् सेवा पुनः सञ्चालनमा आउन थालेपछि फोन तथा इन्टरनेट सेवा पनि क्रमशः सामान्य बन्ने अपेक्षा गरिएको छ।
.jpg)
मौसम खुलेसँगै हेलिकोप्टरबाट उद्धार तथा राहत सामग्री ओसार्न सहज भएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई उपलब्ध सञ्चार माध्यमबाट सम्पर्कमा आउन र जोखिमयुक्त स्थानमा भए सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।
तर भौगोलिक कठिनाइ, क्षतिग्रस्त सडक, सञ्चार अभाव र पुनः बाढीपहिरो आउन सक्ने जोखिमका कारण सबै प्रभावितसम्म तत्काल पुग्न चुनौती कायमै छ।
.jpg)
रसुवा र त्रिशूलीका प्रभावित बस्तीमा अहिले देखिने दृश्य केवल बाढीले बगाएको सडक र भत्किएका संरचनाको मात्र होइन, आफ्नो घर फर्किने आशामा रहेका परिवार, आफन्तको खबर पर्खिरहेका आँखाहरू र राहतको प्रतीक्षामा बसेका पीडितहरूको पनि हो।
यही अवस्थालाई नजिकबाट नियाल्दा विपद्को भौतिक क्षतिभन्दा पीडित नागरिकले भोगिरहेको मानवीय पीडा अझ गहिरो देखिन्छ।
थप तस्बिर हेर्नुहोस्
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: ११ भाद्र २०८३ २१:५२ बिहीबार


-600x400.jpg)

-600x400.jpg)
