११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

कुर्ता लगाउन चाहन्थे ओबामा, समारोहका केही रमाइला झलक

भारतको ६६ औं गणतन्त्र दिवस समारोहमा यसपल्ट कतिपय परम्परा भंग भए र समारोहका केही उल्लेखनीय रमाइला कुरा यस्ता थिए।


भारतीय प्रधानमन्त्री मोदीको गणतन्त्र दिवसमा पहिलो सहभागीता थियो। उनी रंगीचंगी पगडी र फोटोक्रोमेटिक चस्मा लगाएर समारोहमा उपस्थित थिए।


ओबामा अमेरिकी राष्ट्रपतिका रुपमा पहिलोपल्ट भारतीय गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका रुपमा सहभागी भए। परम्पराअनुसार ओबामा भारतका राष्ट्रपतिको कारमा नचढी आफ्नै विशेष लिमोजिन ‘बिस्ट' चढेर समारोहस्थल राजपथ गएका थिए।

समारोह समाप्त नहुन्जेल करिब दुई घन्टा ओबामा खुल्ला ठाउँमा बसे र पानी परेकाले उनले ओढेको छाता आफैं नै बोकेका थिए। ओबामाको सुरक्षाकर्मीको अनुरोधमा मुखर्जी, मोदीसहित ओबामा र विशिष्ट अतिथि बसेको ठाउँअगाडि बुलेटप्रुफ सिसा जडान गरिएको थियो।


अमेरिकी प्रथम महिला मिसेली ओबामाले पनि निकै समय आफैं छाता ओढेकी थिइन्। परेडका दौरान ओबामाले निरन्तर चुइङगम चबाइरहेको सञ्चारमाध्यमले देखाएका थिए। यसबारे सामाजिक सञ्जालमा निकै बहस पनि भएको थियो। ओबामा चुरोट खाने बानी छोड्न प्रयासरत छन्।



कुर्ता लगाउन चाहन्थे ओबामा


ओबामाले आइतबार भारतका राष्ट्रपति प्रणब मुखर्जीले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा भारतीय प्रधानमन्त्री मोदीको खुलेर प्रशंसा गरे। ओबामाले आफू मोदी शैलीको कुर्ता लगाउन इच्छुक भएको पनि बताएका थिए।


ओबामाले मोदीलाई ‘फेसन आइकन' का रुपमा उल्लेख गर्दै भने, ‘एउटा अमेरिकी अखबारले लेखेको थियो– मिसेली छेऊ लाग्नुस्, विश्वले भारतीय प्रधानमन्त्री मोदीका रुपमा नयाँ फेसन आइकन भेट्टाइसक्यो।'


रात्रिभोजमा ओबामाले भने, ‘म सोच्थें, मेरो जीवनको कथा अमेरिकाजस्तो देशमा मात्र यथार्थमा परिणत हुनसक्छ। तर मिस्टर प्रधानमन्त्री तपाईंको कथा पनि भारतमा मात्र यथार्थमा परिणत हुनसक्छ।' उनले भने, ‘प्रधानमन्त्री मोदीका पिता रेलवे स्टेसनमा चिया बेच्नुहुन्थ्यो र उहाँकी आमा अरुको घरमा काम गर्नुहुन्थ्यो।

अहिले उहाँहरूका छोरा विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्रको प्रधानमन्त्रीका रुपमा हाम्रो स्वागत गरिरहनु भएको छ।'


ओबामा यतिमै रोकिएनन्। उनले भने, ‘मोदीसँग भेट हुनुअघि मलाई लाग्थ्यो, म नै थोरै सुत्छु। तर जब मैले मोदी तीन घन्टामात्र सुत्ने थाहा पाएँ, मलाई आफैंमाथि ग्लानी भइरहेको छ कि म किन पाँच घन्टा सुत्छु।'