६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)

हिमाली जिल्ला मुस्ताङका च्यांग्रा दशैँका लागि पोखरा ल्याउन थालिएको छ। पहिलो चरणमा केही संख्यामा च्यांग्रा पोखरा झरेका छन्। ती च्यांग्रा पोखराको सिमपानी, याम्दी क्षेत्रमा बिक्रीका लागि राखिएको छ।

दशैँका लागि पोखरा झरेका च्यांग्रा। तस्बिरः उमेश पुन/नागरिक  

मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभइ विभिन्न जिल्लासम्म पुर्‍याइन्छ। कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दशैँका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात समेत हुन पाएको छैन।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सिमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो। मेला नलाग्दा नाका हुँदै वर्षेनी भित्रिने हजारौं भेडाच्यांग्राको आयात यो वर्ष पनि रोकिएको छ।

त्यसले गर्दा अहिले स्वदेशी च्यांग्रा मात्र तल झर्ने गरेका छन्। कोरला नाकामा वर्षमा दुई पटक मेला लाग्थ्यो। असार–साउनमा एकपटक र भदौ–असोजमा अर्काेपटक गरेर वर्षमा १० देखि १५ दिनसम्मका लागि व्यापार मेला लाग्ने गरेको थियो।

अन्तरदेशीय त्यो व्यापार मेलाको समन्वय दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर चीनतर्फ लाग्ने गरेको थियो। तर कोरोना संक्रमण सुरु भएपछि विगत तीन वर्षदेखि त्यो मेला लागेको छैन। त्यो व्यापार मेलामा स्थानीयले च्यांग्रा भित्र्याएर त्यो वापत स्वदेशी बस्तु निर्यात गर्दै आएका थिए। तर, मेला लाग्न छाड्दा व्यापार नै हुन पाएको छैन।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन। तिनै च्यांग्रा किसानसँग किनेर अरु व्यवासायीले पोखरामा बेच्नका लागि झार्छन्। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैँको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्यांग्राको मासु बढी स्वादिलो हुने भन्दै चितवन, रुपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App