भग्नावशेष कहिले पन्छाउने?
भूकम्पको विनाशबाट राजधानी काठमाडौं पनि अछुत रहन सकेन। उपत्यकाका तीनै दरबार स्क्वायर क्षतिग्रस्त भए। साथै धरहरासँगै कैयन् मठमन्दिर पनि बिच्न सकेनन्। काठमाडौंको नामसँग जोडिएको कष्ठमण्डपलाई पनि भूकम्पले सोहोरेर लग्यो।
काठमाडौंकै केही क्षेत्र भने बच्न सफल भए भने नजिकैका केही ठाउँले थुप्रै क्षति भोग्नुपर्यो । कपन यही पीडामा छ, अहिले। कपनभित्रै एक सयभन्दा बढी घर ध्वस्त भए। सय जनाकै ज्यान गयो। धेरै घरबारविहीन भए।
घरविहीनमध्येकै एक हुन्, ठेटराज खड्का।
उनले १० वर्षअगाडि बनाएको चार कोठाको घर नराम्रोसँग चर्केको छ। पाँच जनाको उनको परिवार घरभित्र छिर्न सकेको छैन।
‘सुरुको चार दिन छिमेकीको खेतमा पाल ओढेर बस्यौं। तर अर्काको खेत, त्यसमाथि चिसो,' खड्काले भने।
उनको यस्तो दुरवस्था देखेपछि छिमेकी नारायण दाहालको मन पग्लियो। खड्का परिवारलाई एकतले घरको छतमा पाल हालेर आश्रय दिए। ‘अर्को व्यवस्था नभइन्जेल यहीँ बस्नु भन्नुभएको छ,' प्लम्बरको काम गर्ने खड्काले समस्या कहे, ‘नयाँ बन्दै गरेको घरमा काम चलिरहेको थियो, त्यो पनि रोकियो।
अहिले केही काम पाएको छैन।' उनको परिवारमा श्रीमतीसहित दुई छोरा र एक बुहारी छन्। ७६ वर्षे आमा पनि सँगै थिइन्। एक वर्षदेखि घाँटीको क्यान्सरसँग जुध्दै आएकी आमालाई खड्काले ठिमीस्थित दिदीघर पठाइदिए।
‘मलाई आठ वर्षदेखि थाइराइड छ। टिचिङ हस्पिटलका डाक्टरले दबाई खाने सल्लाह दिएका थिए। १२ हजार पर्छ रे,' उनकी ४६ वर्षीया श्रीमती पनमायाले भनिन्, ‘पैसाको अभावले किन्न सकिएको थिएन। अब झन् कसरी किन्नु?'
खड्काको घरबाट दुई मिनेट हिँडेपछि एउटा पुरानो घरको भग्नावशेष देखिन्छ। नजिकै बारीमा परिवारसहित बसेका छन्, ७२ वर्षका कृष्ण रेग्मी। भूकम्पले घर भत्काउँदा २० वर्षे जेठी छोरी घाइते भइन्। उनको छाउनीस्थित सैनिक अस्पातलमा उपचार भइरहेको छ। ‘४८ सालमा पहिलो श्रीमतीको निधन भयो, ४५ साल मा १३ वर्षे छोरो बिरामी भएर बित्यो,' रेग्मीले आँसु पुछे, ‘जेठी छोरी अस्पतालमा छे।' उनी आफैं पाँच वर्षदेखि लुङ्स क्यान्सरका रोगी हुन्। हालसम्म छ पटक किमो गरिसकेका छन्। १८ वर्ष नेपाली सेनामा काम गरेका उनले २५ वर्षअगाडि अवकाश लिएका रहेछन्। प्राप्त पेन्सबाटै परिवारको गुजारा चल्दै आएको उनले सुनाए। भएको एउटा घर पनि बस्न नमिल्ने भएपछि छिमेकीको पहलमा जुटेको रेडक्रसको पाल नै उनीहरूको ओत लाग्ने ‘घर' बनेको छ।
स्थानीय राजुविक्रम थापाका अनुसार ठूलो क्षति भोगेको कपनले छिट्टै जीवनको गति सम्हाल्यो, किनकि उनीहरूसँग सहयोग र सद्भावको खाँचो थिएन। हाललाई अस्थायी बसोबास भए पनि खड्का र रेग्मी परिवार जेनतेन बसिरहेका छन्। अबको ठूलो चुनौती भनेको फेरि आफ्नो भग्नावशेष पन्छाएर घर ठड्याउनु हो, जुन काम कहिले सुरु होला भन्नेबारे उनीहरू आफैं अन्योलमा छन्।