coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

उद्योगी महेश जाजु बने महामूर्ख (फाेटाेफिचर)

होली पर्वको पूर्वसन्ध्यामा विराटनगरको मारवाडी युवा मञ्चले फागु महोत्सव आयोजना गर्दै महामूर्ख घोषणासमेत गरिएको छ।  

मंगलबार फागु महोत्वस विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो। फागु महोत्सव मनाउने क्रममा महामूर्ख सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनबाट उद्योगी महेश जाजुलाई महामुर्ख घोषणा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले जाजुलाई विभिन्न तरकारीबाट बनाइएको माला, नायिकाको फोटा राखिएको कागजबाट निर्माण गरिएको कलात्मक टोपी लगाइ दिएर महामुर्ख घोषणा गरिएको हो।

 सामाजिक कार्य गर्ने व्यक्तिबाट एक जनालाई महामुर्ख घोषणा गर्ने गरिएको आयोजकले बताएको छ। यसअघि चम्पालाल राठी, मोहनलाल शर्मा, मोती दुगड, सुरेन्द्र गोल्छा, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी र दिनबन्धु गोयललगायतले उपाधि प्राप्त गरिसकेका छन्।

त्यहाँ स्वाङ, होलीका गीत, नृत्य प्रस्तुत गरियो। होली पर्वको अवसरमा नक्कल गरी अरुलाई मनोरञ्जन दिइने कलालाई ‘स्वाङ’ भनिन्छ। स्वाङमा भाग लिएका पुरुषहरुले महिलाको रूप धारण विचित्र र हाँस लाग्दो पोशाकलगाएर दर्शक सामु आउने गर्दछन्। उनीहरुले महिला र पुरुषका विभिन्न स्वरुप भएर प्रस्तुत हुने गर्छन्।

उक्त स्वाङ कार्यक्रममा उद्योगी र व्यापारीहरुको सहभागिता हुने गरेको छ। मारवाडी युवा मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने यो कार्यक्रम गर्तवर्ष कारोना महामारीका कारण स्थगित भएको थियो।

 कोरोना महामारी कम भएसँगै यस पर्वलाई पुनः विराटनगरका उद्योगी, व्यापारीहरुले निरन्तरता दिएका हुन्। उक्त कार्यक्रम हेर्न मारवाडी समुदाय मात्र नभई यहाँका राजनैतिक दलका नेता, विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थित हुने गरेको छ।

२ दर्जन बढीले स्वाङमा भाग लिएका थिए। व्यापार, व्यवसायमा सधैँ व्यस्त रहने मारवाडी समुदाय महोत्सव स्थलमा हाँसउठ्दो पहिरणमा देखिएका थिए। उक्त कार्यक्रममा नेपालका गायक श्रीकृष्ण लुइँटेललगायत भारतको राजस्थानबाट आएका कलाकारहरुले मारवाडी संस्कृति अनुसारको गीत संगीत र नृत्य प्रस्तुत गरे।

प्रकाशित: २ चैत्र २०७८ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App