८ वैशाख २०८१ शनिबार
फोटो फिचर

तयार भयो तिहारको फूल (फोटोफिचर)

पोखरा १३ बाँझापाटनमा गरिएको फूलखेतीमा काम गर्दै किसान। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा तिहारको बेला वर्षेनी सयपत्री फूलको माग ह्वात्तै बढ्छ। यो वर्षपनि माग उस्तै छ। समयमा वर्षा भएका कारण धेरै किसान योपटक फूल खेतीमा लागेका थिए। फूल खेती गरेका किसान यतिबेला तिहार नजिकिएसँगै धमाधम फूल टिप्न व्यस्त छन्।  

अघिल्लो वर्ष भन्दा यो पटक दोब्बर मात्रामा फूल उत्पादन गरेकी पोखरा महानगरपालिका– १३ बाँझापाटनकी राममाया गुरुङले तिहारको बेला भएको र पानी परेमा फूल नोक्सान हुने भन्दै चिन्ता जनाईन।  

‘यो वर्ष फूल दोब्बर मात्रामा उत्पादन गरियो तर, दसैंका बेला लगातार पानी पर्दा समस्या भयो,’ उनले भनिन्। उनले आफ्नो नर्सरीबाट तिहारको समयमा मात्र करिब ४० हजार थुँगासम्म सयपत्री फूल बिक्री गर्ने बताईन्।  बाँझापाटनकी रञ्जिता गुरुङ पनि तिहार अघि वर्षा नभईदिए हुन्थ्यो भन्नेमा छिन्। कतै पानी परेर तिहारका लागि तयार भएको फूल मासिने पो हो कि भन्ने चिन्तामा रहेको उनले बताईन्। ‘हामीले जहिल्यै उत्पादन बढाउँछौं। यो वर्ष भरखरै तिहारको तरखर सुरु भएको छ,’उनले भनिन्।  

तिहारका लागि सयपत्री र गोदावरी नै फूल रोप्ने गरेको उनले बताईन्। पोखरामा उत्पादन हुने फूलले बजारको माग नधान्ने उनले सुनाइन। उनीहरुले सयपत्री फूलका थुँगा प्रतिगोटा ५ रुपैयाँका दरले बिक्री गर्ने बताइन्।

पछिल्लो समय पुष्प व्यवसायीले उत्पादनलाई जोड दिदैं आएका छन्। किसानहरु पुष्प व्यवसाय प्रति आकर्षित हुदैं गएका छन्। व्यक्तिगत मात्रै नभई संस्थागत रुपमा समेत फूलको खेती गर्ने किसानलाई सरकारले समेत प्रोत्साहन गरेको छ।  

पुष्प व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष बसन्त बानियाँले भने, ‘अहिले ८०–९० प्रतिशत हामीले नै उत्पादन गर्छौ।’ भारतबाट विशेष गरी तिहारको बेलामा मेरीगोल्ड(सयपत्री) फूलको माला आयात हुदैं आएको उनले बताए । तिहारमा विशेष गरी सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। मखमली फूलको उत्पादन भने पोखरामा हुदैन्। मखमली फूल भने काठमाडौंबाट आयात हुने गरेको छ।  

अहिले पनि बढीमा १० देखि २० प्रतिशत जति पोखरामा भारतीय माला चोरबाटोबाट आयात हुदैं आएको छ। तराईमा उत्पादन हुने फूलले काठमाडौंको माग धान्दै आएको छ भने पोखराको मागलाई छिमेकी जिल्लाले पुर्‍याउँदै आएको उनको भनाई थियो।  

पोखरामा १५० रोपनी क्षेत्रफलमा पुष्प खेती हुदैं आएको छ। अहिले लेखनाथ क्षेत्रमा बढीमात्रामा सयपत्री फूल उत्पादन हुदैं आएको छ। पोखरा र आसपासमा ३९ जना पुष्प व्यवसायी छन्।  

आयातमै भरपर्नुपर्ने बाध्यतालाई व्यवसायीहरुले नै निरुत्साहित गर्दै लगेका छन्। ‘सबैभन्दा बढी फूल तथा माला लक्ष्मी पूजाको दिन खपत हुन्छ,’ पुष्प व्यवसायी दयाकुमार द्वाले भने, ‘बजारको माग स्थानीय उत्पादनले धान्ने परिस्थिति बन्दै गएको छ।’  

घरमा भित्र सजाउने, घरको ढोकामा झुण्ड्याउने हुँदा खपत बढी हुने गरेको हो। पोखरामा तिहारको समयमा सरदर दुईकरोड रुपैयाँको फूलको कारोबार हुने गर्छ। धादिङ, गोरखा, लमजुङ, पाल्पा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाबाट पोखरामा फूल आयात हुन्छ। भारतीय प्रति मालाको १ सय रुपैयाँको हाराहारीमै बिक्री वितरण हुने गरेको छ। स्थानीय उत्पादित माला १५० रुपैयाँ पर्ने व्यवसायी बताउँछन्।  

प्रकाशित: १२ कार्तिक २०७८ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App