coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

चितवनका थारु समुदायले मनाए यमोसा पर्व (फोटो फिचर)

चितवन- चितवनका थारु समुदायले यमोसा (पितृ औंसी) पर्व मनाएका छन्। दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

यमोसा पर्व दुई दिनसम्म मनाईने थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरी बताउँछन्। सोह्र श्राद्ध सकिने औंसीका दिनमा थारु समुदायले यमोसा मनाउने उनले बताए।

यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारीहरु गरिन्छ। थारु समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन्। मछुवारीको दिनमा यमोसामा खाने माछाको जोहो गर्न गाउँ, टोलका मानिस सामूहिक रुपमा खोला, नदी, पोखरी, तालमा गएर माछा मारेर ल्याउने अध्यक्ष ललितले बताए।

यमोसाको दिन बिहानै खोला, नदी क्षेत्रको वनमा गएर दाभी (सिरु) काटेर घर ल्याईन्छ। सिरुलाई केलाएर, सुकेका पात तथा सिरु हटाईन्छ। सिरुलाई धोएर एक हात लम्बाईको बनाएर काटिन्छ। 

काटिएको सिरुलाई मुठा बनाएर पितृको रुपमा स्थापना गर्ने प्रचलन रहेको खैरहनी नगरपालिका वडा नं. १० कठारको बड्गाउँका जोखा चौधरीले बताए।  गाईको गोबरले लिपपोत गरेर पिर्का, कुर्सीमा सिरुको मुठालाई ठड्याएर पितृ स्थापना गरिने उनले बताए। पितृ स्थापना गरेपछि फूलले सजाउने, ल्वाङ, सुकुमेल, पान, सुपारी, चुरोट, रक्सी, दुध, पानी लगायतका खाद्यपदार्थहरु राखेर अर्पण गरिन्छ। घरका सबै सदस्यले पुजा गर्ने र पितृलाई पुज्ने जोखा बताउँछन्। 

यमोसा चितवन र नवलपुरमा बसोबास गर्ने थारु समुदायले मनाउँदै आएको थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो बताउँछन्। यमोसाको दिन पितृको पूजा गरेर माछा, मासु लगायतका परिकारहरु तयार गरिन्छ। घरमा पहुना, पहुनी (अतिथी) लाई बोलाएर घरमा तयार गरिएको खानेकुरा खुवाईपछि मात्रै घरका सदस्यले खान्छन्। घरमा आएका पहुना, पहुनीलाई यमोसा खुवाएपछि कपालमा तेल लगाईदिने, कपाल कोरिदिने र फुल लगाईदिने गरिन्छ। 

पहुनाको विदाईको समयमा ‘मोर पितृ, पितराइन सितरे सितरे जही हे’ (पितृलाई शितलता मिलोस्) भनेर कामना गर्ने प्रचलन रहेको अध्यक्ष कारीले बताए। पहुनालाई बिदाई गर्दा नाङ्लोको पछाडी पानीले भिजाएर हम्किएर बिदा गरिन्छ।  यस दिन बालबालिका तथा महिलाहरु समूहमा जम्मा भएर बेलुकी घरहरुमा गई गीत गाउँदै यमोसा खाने चलन पनि रहेको कारीले बताए। ‘सबैको घरमा गएर पकाएको खानेकुरा थोरै थोरै भएपनि खाने प्रचलन रहेको छ’ उनी भन्छन्, ‘यसलाई यमोसा खाने भनिन्छ।’  

एक वर्षको अवधीभित्र परिवारका सदस्यको मृत्यु भएको घरमा भने बोकाको बलि दिएर पितृस्थापना गरिएको ठाउँमा चढाउँछन्। परिवारको सदस्य मृत्यु भएको घरमा चोख्खिने दिन पनि यमोसा रहेको अध्यक्ष कारीले बताए। थारु समुदायको बस्तीका हरेक घरमा पितृ स्थापना गरेर मंगलबार यमोसा मनाईएको छ। 

 

प्रकाशित: २३ आश्विन २०७५ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App