१७ माघ २०७९ मंगलबार
अन्य

लाइकको ज्वरो

भख्खरसम्म मन चंगा थियो, भख्खरै भित्रभित्रै आगो सल्किन थाल्यो। फेसबुकमा जतिजति त्यो फोटो हेर्दै गएँ, त्यति नै आँखीभौं तन्किन थाल्यो। तुरुन्त अरू फोटो सर्च गरेँ। भटाभट उसैको लाइकले मेरो आँखा तिरमिरायो। समय लाएर गनेँ। जम्मा चार वटा लाइक रहेछ, पछिल्लो तीन महिनामा। त्योभन्दा धेरै भेटिनँ, तर मन पटक्कै शान्त भएन।

आजसम्म जिन्दगीमा त्यत्ति नियालेर सायदै कसैलाई हेरेँ होला, जति आज म सागरिकाको फोटो हेर्दैछु। उसको चिउँडोको कोठी, आँखा, नाक, निधारको बनावट, हेयरस्टाइल हेर्दाहेर्दै मन एकाएक शिथिल, व्याकुल भएर आउँछ।

निकै राम्री छे!! म जाँच्न थाल्छु।

गोरी छे, स्पष्ट देखिन्छ। तर त्यति मिलेको अनुहार होइन। आइलाइनर, आइस्याडो, लिपिस्टिक, फाउन्डेसन सबथोक छ। ओहो, कस्तो भयंकर मेकअप! निधारमा सुनौलो रङको टीका अनि सर्लक्क छोडेको लामो केश। हुन त यो सब शृंगारको कमाल हो; त्यतिकै राम्री त कहाँ हो र!

सिम्पल फोटो राख्नु नि, आफू जस्तो छ त्यस्तै! एकाएक फेसबुकमा फोटो राख्ने चलनप्रति घृणा लाग्न थाल्छ मलाई। वाहियात..!

आधा घन्टा भइसक्यो, म औंसीको जूनजस्तो भएर त्यही फोटो, त्यही लाइक र कमेन्टमै घोत्लिइरहेछु। मनमा अनेक विचार आउँदैछन्। भित्रको जलन भने ज्यँुको त्युँ छ।

'जाबो फेसबुकको लाइक न हो, त्यो त आजकाल सास फेरेभन्दा छिटो भटाभट गर्ने चलन छ। यति सानो कुरामा यत्रो बबन्डर मच्चाउने, डिस्गस्टिङ!' भित्र कतैबाट आएको ध्वनिले मलाई थर्काउँछ। कुनै ठूलो युद्ध जितेझैं मोबाइलको कभर ढ्याप्प बन्द गर्छु र टेबुलमाथिको किताब स्वाट्ट आफूतिर तान्छु। केही पृष्ठ पढेझैं गर्छु— मरिजाऊँ, केही बुझे पो!

आँखाले कोठाका पूरै भित्ता र सिलिङ यसरी चहार्न थाल्छन्, मानौं म कुनै इन्टेरियर डेकोरेटर हुँ र जागिरको पहिलो दिन काम थाल्दैछु।

अस्ति भर्खर भुइँचालोले धक्का दिएपछि बनेको क््रयाकमा नजर ठोक्कियो। त्यो मसिनो तर लामो धर्सालेे एप्रिल २५ को घटनाक्रम पुनः ताजा भएर आयो। दिक्क लाग्यो। निराश भएँ। कति नाजुक छ मान्छे। जीवन, जसलाई ऊ बेहद माया गर्छ; त्यो नै उसको हातमा छैन। न त जीवनको बागडोर नै उसको मुठ्ठीमा छ। भाग्यको भेल, नियतिको खेलले उफार्छ/पछार्छ/गुल्ट्याउँछ/उठाउँछ र सर्कसमा नचाएझैं नचाउँछ, मान्छेलाई। तैपनि मान्छेको मुहारमा सधैं कहाँ खुसीको आभा पोतिन्छ र! बाँच्ने रहर हुँदाहँुदै कुसमयमा काल टप्किन्छ, प्राण मुठ्ठीमा च्यापेर 'छू मन्तर' भइदिन्छ।

तर, मृत्युलाई पनि जित्दो रहेछ— प्रेमले। लाग्छ, प्रेम मृत्युभन्दा माथि छ।

जीवनमा विभिन्न उतारचढाव आए। ज्ञान, प्रज्ञानका घुम्तीहरू समेत कटे पनि मनमा केही पीडा र खालीपन रहिरह्यो। थाहै थिएन, त्यसको पनि औषधि हुन्छ भनेर। अचानक अनुरोध मेरो लागि प्रेमको पर्याय बनेर आइदियो। असीम माया र अटल विश्वासले भरिएको नजर लिएर आयो ऊ। दुरुस्त पढ्यो मलाई र मेरो हात थाम्यो। अचम्मको अनुभव थियो त्यो। जीवनले पाएको त्यो अमूल्य उपहारको व्याख्या कसरी गर्न सक्छु र!

अनुरोध धेरै बोल्दैन या त म उसलाई बोल्ने मौका नै दिन्नँ। उसको अगाडि परेपछि मलाई आफ्नै कुरा सुनाउन हतार हुन्छ। बिचरा, मैले जति बकबक गरे पनि मन्द मुस्कुराएर गालामा हातले थामेर मेरो गन्थन सुनिरहन्छ। केही बेरपछि म आफैं मौन रहन्छु, अनि उसलाई जिस्क्याउँदै आँखा झिम्क्याउँछु— फिल्मी स्टाइलमा। मेरो हर नखरामा ऊ सजिलै बहकिन्छ। अरू बेला कठोर अनुशासनमा रहने अनुरोध मेरोसामु नौनीझैं पग्लिन्छ। म दुःखी हुँदा सम्झाउँछ/फकाउँछ/हसाउँछ अनि टाढा हुँदा आफ्नो सम्झनाले धुरुक्क रुवाउँछ। सायद प्रत्येक नारीले चाहने यस्तै प्रेम हो। यस्तै एउटा साथी, जसको अगाडि पर्दा ऊ फक्रेको फूलजस्तो होस्, झरझर झरनाजस्तो होस्; त्यो अथाह नील गगनजस्तो बेफिक्री शान्त सुन्दर होस्।

मेरो कल्पनाको उडानमा उसले हजार रङ भरिदिन्छ। त्यसैले त म भन्छु, प्रेम सुन्दर हुन्छ। अति सुन्दर। म उसलाई मृत्यृको स्मरण पनि गराइरहन्छु बेलाबेला। प्रेमीहरूका लागि त मृत्यु पनि मिठो सत्य हो भनिरहन्छु। म प्रायः फिलोसोफिकल विचारका तरंगले आफूलाई घेरेको पाउँछु। ऊ अलि बढी नै प्राक्टिकल छ। समाज, देशका लागि केही गरेर मर्न चाहन्छ। म सधैं उसमा अझै ऊर्जा र उमंग थप्न चाहन्छु। उसको मुस्कानको त्यति नै रक्षा गर्छु, जति उसले मेरो गर्छ।

...

मोबाइलको स्त्रि्कनमा देखिने सागरिकाको फोटोले मेरो कल्पना–यात्रा भंग गरिदिन्छ। म पुनः यथार्थमै फर्किन्छु। सागरिकाकोे हाँसो अनि सँगसँगै लाइक र कमेन्टहरू। एकफेर त्यही वरिपरि मेरा औंला सलबलाउँछन्। कताकता एउटा डरलाग्दो प्रश्न मनको सेरोफेरोमा सयर गर्न थाल्छ। मेरा प्रश्न र चिन्ताहरू आधारहीन छन् भन्ने मलाई लाग्दैछ। तर कहिलेकाहीँ जानीजानी आफ्नो मन दुखाउनमै आनन्द आउँदो रहेछ!

सागरिकाको मुस्कान मानौं कुनै खिल बनेर मुटुमा गड्दैछ। म धेरै गल्दैछु। उसको सुकिलो अनुहारको मूल्यांकन फेरि गर्न थाल्छु— हो, ऊ नराम्री होइन। म स्विकार्छु, किनकि सत्य बदलिँदैन। मभन्दा धेरै आकर्षक छे ऊ। जानेमानेको टेलिभिजन पर्सनालिटी पनि त हो। हजारौं फ्यान छन्, जो उसको अनुहार हेर्नकै लागि लालायित हुँदा हुन्।

अनुरोधसँग मेरो भेट हुनु थियो। भयो। आत्मीय सम्बन्धको विस्तारले एक–अर्कालाई टाढिन नसक्ने बनाइदियो। ऊसँगको सम्बन्धलाई जाबो एक लाइकले चुनौती दिन सक्ने कुरै छैन। उसको आँखामै झल्किन्छ— म उसका लागि कति प्रिय छु।

तर, सागरिकाको फोटोमा उसको लाइक!?

म यति ईर्ष्यालु स्वभावको कहिल्यै पनि थिइनँ। 'दिदी गोरी छे, तर काली भए पनि बैनी नै राम्री। कत्ति हिस्सी परेकी छे।' सानैदेखि पाइरहेको यो प्रतिक्रियाले ममा आत्मविश्वास र उत्साहको कमी कहिल्यै हुन पाएन। अनि गोरो नै राम्रो हो भन्ने भ्रम पनि थिएन ममा। बरु दिदी एक–दुईचोटि झन्डै चिप्लेकी हो। तर, जस्तै मै हूँ भन्ने केटाको अघि पनि म कहिल्यै दबिनँ।

बीस वर्ष नपुग्दै दिदीले एउटा इन्जिनियर केटासँग विवाह गरेर गई। त्यसपछि उसको चालढाल, हाउभाउ पहिलेजस्तो रहेन। पढाइमा सानैदेखि कमजोर भए पनि खेलकुद, नाचगानजस्ता अतिरिक्त क्रियाकलापमा अब्बल थिई, ऊ। अहिले पाको मान्छेझैं कुरा गर्छे। समाज, चालचलन, परम्पराको धेरै चिन्ता लिने भइसकेकी छे। अरूको कुरा काट्नमा अलि बढी नै समय छुट्याउने गरेकी छे उसले। उसको अनुहारमा खुसीको रेखा पहिलेभन्दा हराउँदै गइरहेको देख्छु। अनुमान गर्छु— उसको व्यक्तित्व परिवर्तन हुनुमा भिनाजू र परिवारको धेरै हात छ।

केही दिनअघि उसले भिनाजूको जन्मदिनमा एक पेजको लभलेटर लेख्न भ्याइछे— फेसबुकमै। अन्त्यमा 'यु आर माई बेस्ट हजब्याड' पनि लेख्न भ्याइछे, मोरीले। हामीले कराएपछि हटाई।

वैवाहिक सम्बन्धपछिको दिदीको व्यवहार देखेरै मलाई बिहेको रहर कहिल्यै लागेन। धेरै वर्षअघि, स्कुल पढ्दैखेरी एउटा कहानी जम्न खोजेको थियो तर सुरु हुनुअघि नै समाप्त भयो। भन्छन् नि— फुल्न नपाई ओइलिएको कोपिला। ठिक त्यस्तै!

हाम्रो पूरा नामै काफी थियो, त्यो सम्बन्धको पुल भत्काउन। म बसन्ती परियार। ऊ रोशन विष्ट। मेरो थर थाहा नपाइन्जेल लाडप्यार गरेर दुईचोटि घरमै चियाखाजा खुवाएकी थिइन्, उसकी आमाले। तेस्रोपटक जब कुनामा लगेर उसलाई झपारिन्, मैलै त्यसपछि ऊसँग बोल्नै छोडिदिएँ। पछि 'परियार होइन अब शर्मा लेख' भन्दै ऊ मलाई फकाउँदै थियो। तर मेरो सन्काइपछि ऊ चुप लाग्यो। आजकालको जमानामा त्यस्तो घटिया सोच, त्यही पनि राजधानीमा बस्ने सहरियाहरूको! 'तिम्रो परिवारले मेरो खुट्टै ढोग्न आए पनि अब यो सम्बध गाँसिदैन' भनेर उसलाई फर्काइदिएको थिएँ। धेरै समयसम्म पनि उसले नजिक हुने कोसिस गरिरह्यो। पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्ने सुइँको पाएर ऊ पनि त्यहीँ भर्ना भयो। तर मैले दोस्रो मौका दिनै सकिनँ। ठिकै भयो, नत्र अनुरोधलाई कहाँ भेट्थँे र ...!

यो सबै स्मरण गरिरहँदा पनि मेरा औंला उही सागरिकाको फोटोमै सलबलाइरहेका छन्। यत्ति नै बेला मोबाइलको घन्टी बज्छ।

खोक्दै फोन रिसिभ गरेपछि अनुरोध भन्छ, 'खोकी लाग्यो? के खाथ्यौ र?'

उसको लगातारको प्रश्नले म मौन रहन्छु।

धेरैचोटि सोधेपछि सहजै भनिदिन्छु, 'त्यस्तो केही होइन। मूड गडबड छ।'

ऊ पत्याउँदैन, 'किन, के भयो सानु? छिटो भन त म मिटिङमा जाँदैछु!'

खोइ के भन्ने? सोच्दासोच्दै मोबाइलबाट टुँटुटुँटु आवाज आउँछ। काटिएछ।

तत्काल कल आयो उसैको। तर उठाइनँ।

अनुरोध बिल्कुलै फुर्सदिलो मान्छे होइन। न त फेसबुक उसको सोख नै हो न उसँग चलाउने समय छ। मेरै पनि केवल दुई–चार फोटोमा मात्रै लाइक गर्न भ्याएको छ, उसले। तर, सागरिकाको फोटोमा? अनायास मेरो आँखा रसाउन थाल्छन्। किन हो म आज हारेको खेलाडीझैं महसुस गरिरहेको छु। मोबाइलको स्त्रि्कनमै तप्प खस्छ आँसु, लाइक छोपिन्छ। म झन् भावुक हुन थाल्छु। सागरिका निर्धक्क हाँसिरहेकी छे उसैगरी।

हो, ऊ साँच्चिकै सुन्दर छे।

अनुरोधको फेसबुक पेज खोल्छु। ऊ एक कठोर पुलिस अफिसरको नामले चिनिन्छ। फोटोहरू पनि त्यस्तै खालका छन्। पेज तलसम्म स्क्रोल गर्छु। उसले आफैं केही राखेको छैन, सबै ट्याग गरेका पोस्टमात्रै छन्। उसको फोटोमा थुप्रै केटीहरूको लाइक देखेकै हो, तर मलाई परबाह भएन। अरूले उसलाई मन पराए पनि मलाई समस्या थिएन। तर, आज म किन यसरी बेचैनी भइरहेको छु?

फेरि अनुरोधको फोन आउँछ। उसलाई दुःख दिन चाहन्न, खुरुक्क उठाउँछु र राम्ररी कुरा गर्छु। ऊ मेरो फुर्सदीबारे सोध्छ। घडी हेर्छु, बेलुकीको पाँच बजिसकेको छ। बिदाको दिन पनि यही लाइकमा अल्झेर साँझ परिसकेछ।

बानेश्बरको बेकरी क्याफे पुग्दा गग हातमा लिएर अगाडिपट्टि कसैसँग गफ गर्दै गरेको अनुरोधलाई परैबाट प्रस्ट नियाल्छु। पहँेलो र कालो चेक सर्टमा निकै ह्यान्डसम देखिन्छ ऊ। त्यसपछि मात्रै उसको अगाडि बस्ने युवतीतिर आँखा जान्छ, ऊ मस्कीमस्की कुरा गर्दैछ। जब म उसको अनुहार देख्छु— हजार भोल्टको करेन्टले झनन्न पार्न थाल्छ।

सागरिका...! त्यही सागरिका? जसको प्रोफाइल पिक्चरलाई दिनभर मेरा आँखाले पूरापूर स्क्यान गरिसकेका छन्।

अनुरोधले परिचय गराउन खोज्यो। मैले सागरिकातिर हेर्दे मसिनो आवाजमा 'ह्यालो, म बसन्ती' भनेँ। सायद सुनिन कि! जुरुक्क उठेर यसरी हुत्तिँदै आई कि मानौं, ऊ मेरै परिवारभित्रकी सदस्य हो। अँगालो मार्दै भनी, 'म सागरिका, अस्तिदेखि नै भेटाइदेऊ भनेको अनुरोधले मान्दै मानेन। आज साइत जुर्याभ रैछ।'

अनुरोध केही भन्न खोज्दैथ्यो, मोबाइलको घन्टीले रोकियो। कुरा गरिसकेर मतिर हेर्योअ। सधैंझंै मेरो टाउकोमा हात राख्यो, निधार चुम्यो र 'तिमीहरू बस्दै गर्नु, म फोन गर्छु' भन्दै बाहिर निस्कियो। म अवाक् भएर ऊतिर हेर्दै थिएँ, सागरिकाले मेरो हात समाई र मुसुक्क हाँसी।

'म उसको साइँली सानीमाकी छोरी। विराटनगरमा हुँदा हामी आठ कक्षासम्म एउटै स्कुलमा पढेको,' ऊ भन्दै थिई, 'काठमाडौंमा त कामले गर्दा भेट हुनै गाह्रो। धन्न फेसबुकले चाहिँ यसरी भेट्ने मौका जुराइदिएको छ।'

यति सुनेपछि मलाई प्रचण्ड गर्मी ठाउँबाट आनन्दको एसी रुम छिरेजस्तो लाग्यो।

'नाइस टु मीट यु। टिभीमा त देखिरा हो नि मैले। यु आर माइन्ड ब्लोइङ,' अब भने म पूरै आफ्नै स्टाइलमा फर्कन्छु। मन खोलेर उसको प्रशंसा गर्न थाल्छु। ऊ पनि मलाई उडाउन बाँकी राख्दिन। एकपछि अर्को खानेकुरा अर्डर गर्दै हामी बेपरबाह गफिन थाल्छौं। सेल्फी लिन पनि छाड्दैनौं।

दिनभरको मेेरो कथा, व्यथा, फोटो र लाइकको ज्वरो... यो सब सम्झेर म भित्रभित्रै लाजले पानी हुन्छु। मनभित्रको काउकुती र हाँसो बल गरेर रोक्न खोज्छु। न म यो कुरा सागरिकालाई भन्न सक्छु न त अनुरोधसँग।

'ए, कता हराएको जुलियट एक छिनमै, मलाई सब थाहा छ तिमीहरूको बारेमा। अनुरोधले श्यर गरिसक्यो, ग्रेट लबस्टोरी यार!' सागरिकाको शब्दहरूसँगै हाम्रो हाँसोको फोहोरा छुट्छ...।

प्रकाशित: २६ भाद्र २०७२ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App