१३ फाल्गुन २०७७ बिहीबार
अन्य

शान्तिपूर्ण र कलापूर्ण आन्दोलनमा लेखक–कलाकार

गत शुक्रबार (सहिद दिवसको दिन) दुई बन्दुकधारी सिपाहीले एक व्यक्तिलाई फाँसी दिन काठमाडौं टेकुस्थित खरिबोटमा ल्याए। यो दृश्यले ८० वर्षअघिको समाज र शासकीय व्यवस्था झल्काउँथ्यो। १० माघ १९९७ मा सहिद शुक्रराज जोशीलाई खरिबोटमा झुन्ड्याइएको थियो, राणाशासनविरुद्ध अभियान चलाएको अभियोगमा। आज देशमा फाँसीको सजाय दिने व्यवस्था नभए पनि प्रतिगमन भएको भन्दै त्यसविरुद्ध शिल्पी थिएटरका कलाकारले नाट्य प्रस्तुति दिएका थिए। रंगकर्मी घिमिरे युवराज सहिद शुक्रराज शास्त्रीको भूमिका थिए, हेर्ने दर्शकलाई भने राणाशासनको क्रूरता र वर्तमानको प्रतिगमनको आभास गराइरहेको थियो।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई नागरिक समाज, कवि–कलाकारले असंवैधानिक र प्रतिगमन भनिरहेका छन्। त्यसविरुद्ध उनीहरू आ–आफ्नो किसिमले आन्दोलनमा छन्।  

प्रायः हामीले सहिदसँगै देशको इतिहास सम्झन्छौँ, तर यसपटक सहिदलाई सम्झेर वर्तमान व्यवस्थाको विरोध गरिरहेका छौँ। रंगकर्मी घिमिरे युवराज देश प्रतिगमनतर्फ उन्मुख भएकाले आफूहरू आन्दोलनमा रहेको बताउँछन्। उनी भन्छन्, ‘देशमा दमन, प्रतिगमन बढ्दा त्यसविरुद्ध हरेक सचेत नागरिक, अझ कवि–कलाकार, लेखकले बोल्नुपर्छ।’उनी जुनसुकै मागसहितको आन्दोलन शान्तिपूर्ण र कलापूर्ण हुनुपर्ने धारणा राख्छन्। उनी भन्छन्, ‘विचारसहित कलात्मक प्रस्तुतिहरू हुँदा राजनीतिक नाराहरू झन् वैचारिक किसिमले बेजोड बन्छन्।’  

घिमिरेको बुझाइमा राजनीतिक पार्टीका नारा आम नागरिककलाई दिक्क बनाउने खालका हुन्छन्। त्यसमाथि बन्द, हडताल, तोडफोडले विनाश गरिरहेको हुन्छ। ‘कुनै माग वा कुनै व्यवस्था विरुद्ध आवाज बुलन्द गर्न सिर्जनात्मक वा कलात्मक शैली प्रयोग गर्न सकिन्छ,’ घिमिरे भन्छन्, ‘गीत–संगीत, चित्रकला, कविता, नाटकका माध्यमबाट उठाइएको आवाज शक्तिशाली र शान्तिपूर्ण हुन्छ।’  

आन्दोलन नयाँ चेतना जगाउन, न्यायपूर्ण समाज र राजनीति बुझाउनका लागि गरिन्छ। यसका लागि कलाको प्रयोगले ठूलो भूमिका खेल्ने घिमिरेको बुझाइ छ।  

आजको हाम्रो समाज वा चेतना हिजोका आन्दोलनको जगमा निर्माण भएको हो। हिजो नेपालीले राणाशासन हुँदै पञ्चायत र राजतन्त्र फाल्न संघर्ष गरेको इतिहास हाम्रो माझमा छ। पञ्चायत फाल्ने ०४६ को आन्दोलनलाई पहिलो जनआन्दोलन र राजतन्त्र फाल्ने ०६२/६३ को आन्दोलनलाई दोस्रो जनआन्दोलन थियो। १२ माघमा पत्रकार तथा लेखक नारायण वाग्लेले तेस्रो जनयुद्ध सुरु भएको बताए। बालुवाटारमा भएको नागरिक आन्दोलनमा सरिक भएका उनीसहित आन्दोलनकारीलाई प्रहरीले पानीको फोहरा हानी धरपकड गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए। 

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र संविधानको रक्षार्थ र प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि सडकमा आउनुपरेको वाग्लेको भनाइ छ। उनले आफूहरूको बृहत नागरिक आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बताउँदै आएका छन्। नेता पुष्पकमल दाहाल प्रचण्डले मांसाहारी आन्दोलनको कुरा गरेपछि उनले सालिन ढंगले प्रश्न पनि गरेका थिए, ‘कमरेडहरू भन्नुहुन्छ, मांसाहारी आन्दोलन। हिजोका घाइतेहरूको घाउ आलै छ। किन तपाईंहरू हिंसातर्फ उद्यत् हुनुहुन्छ ?’  

५ पुसको कदम मात्रै प्रतिगमन नभएको र सामाजिक न्यायका मुद्दाहरू हराउँदै गएकाले त्यसका निम्ति पनि आन्दोलन गर्नुपर्ने वाग्ले बताउँछन्।  

त्यस्तै, लेखक उज्ज्वल प्रसाईं ५ पुसको प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिको घात भएकाले सडकमा आउनुपरेको बताउँछन्। उनी भन्छन्, ‘मधेसी, दलित, जनजाति लगायत अल्पसंख्यकको मुद्दामा हिसाबले प्रतिगमन अगाडिदेखि नै थियो। जनताले लोकतन्त्रको प्रत्याभूत गर्न सकेका छैनन् भन्ने ठम्याइ हाम्रो केही पहिलेदेखिकै हो। संसद् विघटनपछि भने चुप लागेर बस्न नहुने हाम्रो निष्कर्ष रह्यो।’ आफूहरू सरकारको गलत कदमका विरुद्ध निरन्तर लागिरहेको उनको भनाइ छ। ‘संवैधानिक परिषद्को असंवैधानिक नियुक्तिको विरुद्ध पनि आवाज उठाउँदै आएका छौँ,’ उनी भन्छन्, ‘यसै क्रममा फागुन ७ मा बृहत आन्दोलन गर्ने तयारीमा छौँ।’

पञ्चायतविरुद्ध र बहुदलका पक्षका लागि ०४६ मा भएको आन्दोलनमा पनि कवि–कलाकार सडकमा आएका थिए। त्यतिबेला सडक नाटक देखाएका अशेष मल्ल भन्छन्, ‘हामीले पञ्चायतविरुद्ध जनआन्दोलन गर्‍यौँ। त्यतिबेला हामीले पञ्चायतविरुद्ध सडक नाटक देखाएका थियौँ। हामीले जस्तो प्रकारको दुःख खप्यौँ, त्यस्तै दुःख अझैसम्म पनि जनताले खप्नुपरेको छ, यो कहिलेसम्म ?’ यसपालि स्वास्थ्यका कारण प्रतिगमनविरुद्धको आन्दोलनमा आफू अहिलेसम्म सडकमा जान नपाएको तर त्यसमा आफ्नो पूर्ण समर्थन, अब सक्रिय हुने उनी बताउँछन्।

प्रकाशित: २४ माघ २०७७ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App