६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

घर विद्यालय र विद्यालय घर बनाउने अवसर हो लकडाउन

 वसन्ती राई

आज सन्सारका मान्छेले एकैचोटि एउटै नामको रोग भेटेको छ र एउटै नाममा एउटै काम गरिरहेको छ त्यो हो कोरोना भाइरस कोभिड१९,लकडाउन र  अत्यास बनेर घरभित्रै बस्नु परेको र यस्तो अत्यासलाग्दो जनजीवन बिस्तारै सामान्य बन्दै आई पनि रहेको छ । संसारमै आर्थिक , धार्मिक, सुन्दरता, बौद्दिक, राजनितिक, शासनप्रणालीको स्तर नछुटाई किन कोरोना आयो।यसलाई जतिसुकै शक्तिशाली हुँ भनेर घमण्ड गर्ने र संसारलाई हातहतियार देखाएर थरथर बनाउनेले पनि ठीक पार्न सकेन ।सिंगो मानव जातिसँग लड्न आएको कोरोनाले टुटफुट, छुट र लुट भएको मानवहरू एक भएर कोरोनालाई नियन्त्रणमा लागेको छ। मानवताको धर्मप्रकृतिको समिश्रण गरेको र सन्सारको मानव जाति एकै हो भन्ने कुराको ज्ञान सिकाएको छ ।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड १९ हाल विश्व महामारीको रूपमा फैलिएको छ। 

आज यही कोरोना भाइरसलाई नियन्त्रण गर्नको लागि नेपालमा पनि नेपाल सरकारले २०७६ साल चैत्र १० गतेबाट लकडाउनको घोषणा गरेको थियो। लकडाउनले मानवीय दैनिक क्रियाकलापमा नोक्सानी पुरयाउँदै आएको छ तथापि यो बाध्यता छ  र यो स्थिति यस्तो पनि बनिसकेको छ सर्वसाधारण मान्छेको दैनिक जीवन गुजारा गर्न भोकभन्दा रोग ठुलो होइन बरु मरे पनि रोगले मर्नु तर भोकले मर्नु नपरोस बन्ने आसय बुझिन्छ ।  त्यही भएर भएर दैनिक काम गरेर खाने मानिसहरूका लागि सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी  कायम राखेर काम गर्ने हिसाबले काम गरिरहेका अवस्था छ। जुन समय नेपालमा पूर्ण रूपमा लकडाउन भएको थियो । त्यसबेला नेपालमा एकजना पनि कोरोना भाइररस सङक्रमित भेटिएको थिएन तर अहिले  दिनमा सयौको सङख्यामा सङक्रमित देखा परेर बिसौ हजार नाघिसक्यो र कतिले ज्यान पनि गुमाइसक्नुभएको छ । 

लकडाउन खुलेको छैन र  पूर्ण रूपमा सुरु जस्तो पनि छैन र यो सम्भव पनि छैन । कम्तीमा सामान्य हिसाबले दैनिक गुजारा गर्नको लागि पनि। सचेत नागरिकले आफ्नो र आफन्तका लागि सुरक्षा, सजगता र हेरविचार पुरयाउँदै  काम गर्नु पर्दैछ। लकडाउनको सुरुको दिनहरुमा आममानिसको मनस्थितिमा नकारात्मक असर परे पनि अब  बिस्तारैबिस्तारै अभ्यस्त हुन थालेको छ। कुनै पनि नयाँ कुराहरू सुरुमा अप्ठ्यारो महसुस गर्नु र पछि बानी लाग्दै जानु पनि एक किसिमको  मानवीय    व्यवहार नै हो।

 राष्टिय अर्थतन्त्र, प्रशासन, विकास, उत्पादित क्षेत्र, शिक्षा, मनोरञ्जन लगायत विभिन्न क्षेत्रहरू पूर्ण रूपमा प्रभाव भई सन्चालन गर्न पाइरहेको अवस्था नरहे पनि ईन्टरनेटको माध्यमबाट हुन सक्ने काम जति घरैबाट कामहरू सन्चालनमा आइरहेको छ र परिस्थितिअनुसार शारीरिक दूरी कायम राखेर अपरिहार्य सेवा, सुविधा उपलब्ध गराउन थालेको छ। यसैमध्ये शिक्षा क्षेत्रमा पनि पूर्ण रूपमा असर परेको छ।नेपालमा सामुदायिक  उनन्तिस हजार दुई सय सात र बोर्डिङ स्कुल छ हजार पन्ध्र वटा  गरी जम्मा विद्यालय  पैतिस हजार दुई सय बाईस छन।यी विद्यालयहरू करीब नब्बे लाख बालबालिकाको सिक्ने घर थियो तर यो लकडाउनमा पूर्ण रूपमा त्यो बन्द गर्न बाध्य परिस्थिति बनेको र कोरोना भाइररस महामारीलाई सङक्रमणबाट बच्न, बचाउन, नियन्त्रण   र सजगताका लागि कतिपय विद्यालयहरू क्वारेन्टिन रुम बनाएर प्रयोग गरिरहेको अवस्था छ र यो काम कहिलेसम्मका लागि हो  थाहा छैन।

सङक्रमण कम गर्नका लागि सामाजिक दूरी शारीरिक दूरी कायम राख्दै   विद्यालयको क्लास रुममा पढाउने र पढ्नेको विकल्पमा नेपालको विध्यालय स्तरको शिक्षाको हकमा सम्भवत पहिलो चर्चा अनलाइन क्लास  भनेर चर्चा भयो र पहुँच पुग्ने केही स्कुलहरुले सञ्चालन गरिरहेको छ र नेपाल सरकारले पनि विद्यालय स्तरको क्लास नेपाल टेलिभिजनमार्फत २०७७ आसार ०१ गतेबाट रुटिन मिलाएर भर्चुअल क्लास सुरु गेरेको छ। यस्ता क्लासहरु सञ्चालन हुदै गर्दा शहरदेखि गाउँसम्म नै पहुँच पुगेको छ भन्नु पक्कै पनि मिथ्या गफ हो तथापि विकल्प र समयको मागमा नयाँ कुराहरू  अपरिहार्य हुन्छन् भने त्यसको स्वागत गर्नु भने पछि हट्नु हुँदैन। फेरि यसो भनिरहदा शिक्षामा समानताको नाराहरू निस्किरहेको युगमा समानता र पहुँच नपुग्ने प्रशस्तै  शैक्षिक संस्थाहरू अभिभावक, विद्यार्थीहरू छन तर समयअनुसार नयाँ काम कहीँ न कहीँबाट सुरुवात हुनु पनि जरुरी छ र भएको उच्च पहुँचमा समानता बनाउन पनि लागिरहनुपर्छ सम्बन्धित निकायबाट।

कोरोना भाइररस कोभिड १९ ले हाल मान्छेले बाँच्दै गरेको जीवनलाई चुनौती पक्कै दिएको हो। वास्तवमा मान्छेको जीवन प्रकृतिमय हो, प्रकृतिसँगै लुटुपुटु गरेर बाँच्नुपर्ने हो तर मानवले प्रकृतिलाई साइट लगाएर विनाप्रकृति बाँच्ने कोसिस गरिरहेको छ। हरेक समस्याहरूले समस्या मात्रै लिएर आउँदैन समाधान पनि लिएर आएको हुन्छ भनेझै जहाँ ध्वस्त हुन्छ त्यहाँ नयाँ कुराको सिर्जना हुन्छ। यो कोभिड १९ ले पनि मान्छेको ज्यान लिन मात्रै आएको छैन,जागिर, परिवार , आफन्त,गाँसबास, खोस्न मात्रै आएको होइन । मान्छेमाथि समस्या, दुख, पीडा र त्रास मात्रै थुपारिदिएको छैन । यसले त हामीले जिइरहेको दैनिक जीवनशैली प्रकृतिमय, मानवतामय हुनुपर्छ भन्ने कुरा सम्झाएका छन। हाम्रो जीवनशैली र गराइ, सिकाइहरूलाई अलिकति प्रकृतिसगँ नजीक र हराउदै गरेको मानवतालाई  सम्झेको छ। दैनिक समयतालिकामा  जीवनशैली बाँचिहरहेको मान्छेको समयतलिका अलिकति तलमाथि हुँदा मान्छेलाई समस्यामा पर्नु, त्रासमा हुनु, पीडा हुनु स्वभाविक हो। आशा गरौ यो कोभिड १९ कोरोना भाइररसको कारणले भएको लकडाउनले हाम्रो जनजीवननमा केही समयपछि पक्कै पनि सकारात्मक परिवर्तन ल्याउनेछ । यहाँ खाचो सकारात्मक सोच र जाँगरको छ।

प्रकृति शाश्वत छ । प्रकृतिमा पाइने  किराफट्याङ्ग्रा,चराचुरुङ्गी जनावर  सब चीज शाश्वत छ यिनीहरु जे थिए त्यही छ जे खानुपर्ने  त्यही खाँदैछ  जति खानुपर्ने त्यति मात्रामा खान्छ, खाइरहेको छ बाघले हिजो सिकार गरेर मासु खान्थे आज पनि त्यसैगरी खान्छन, गाईले हिजो पनि परालघाँस खान्थे आज पनि त्यही खान्छन्,  गाईले मासु खान थालेको छैन र बाघले घाँस खान थालेको छैन। उनीहरूको आवाश्यकता  प्रकृतिले पूरा गरिदिएवापत फेरि प्रकृतिलाई फिर्ता गर्नुपर्ने कर्तव्य भुलेका छैनन् र भुल्दैनन् पनि तर मान्छेहरु हिजो जे थिए आज त्यो छैन न त भौतिक कृयाकलापमा छ न त आध्यात्मिक रूपमा छ। 

विज्ञान र प्रविधिको प्रयोगले चमत्कारी ढङगले संसारको विकासमा हाम्रो कल्पनाभन्दा बाहिर रहेर छलाङ मारिसके पनि हामी नेपालीले त्यो ल्याएर प्रयोग गर्न क्षमता छ, न त्यस्तो किसिमको बनाएर चलाउने र निर्यात गर्ने क्षमता छ। हाम्रो देशको शिक्षाको क्षमता भनेको किताब र अन्तिममा किताब घोकेवापत र किताबको कुरा कपीमा सारेबापत प्रमाणपत्र पाइन्छ । हामीले अझै पनि सोच्न भियाएको छैनौ कि नेपाली माटो, नेपाली जनता, नेपाली बालबालिका र नेपाली विद्यार्थीलाई कस्तो शिक्षा चाहिएको छ । हामीलाई सोच्न अझै पनि प्रसस्तै फुर्सद मिलिरहेको छ । विदेशी शिक्षा प्रणाली  कसरी नेपालमा ल्याउने भनेर, कसरी विदेशको शैक्षिक प्रणालीलाई टिकाउने भनेर होडबाजी छ। अनि विदेशको डलरको शिक्षा यहाँ नेपाली गरीब जानतालाई शिक्षा किन्न डलरभन्दा कम्ती त पर्दैन नि।

अभिभावकले आफ्नो बच्चाको गुणस्तरीय शिक्षाका लागि आफ्नो जवान उमेर, बलवान् उमेर, मेहनत, बुद्धिविवेक भएको सारा क्षमता बेच्नुपरेको छ।  मातृभूमि ,  परिवार, आफन्त र आफ्नै माया र छायामा हुर्कुनुपर्ने , हुर्काउनुपर्ने बेलाको साना नानीबाबुलाई छोडेर विदेशमा एक्लिएर दिनरात मेहनत, पसीना , विवेक बेच्नुपरेको छ । नेपालमै जागिर गरेर बच्चालाई राम्रो स्कुलमा भर्ना गराउने सोच पाइतालामुनि जबरजस्ती कुल्चिएर छोड्नुपर्ने अवस्था छ। विदेशमा काम गर्ने  घरबार भएका युवाहरूको एउटै सपना छ छोराछोरीलाई राम्रो स्कुल पढाउने, त्यो राम्रो स्कुल भनेको बोर्डिङ स्कुल हो। फेरि वैदेशिक रोजगारमा गएकोले परिवारको अर्को छुट्टै समास्या  थपिएका छन ।

एक वर्ष पहिले एउटा ट्विट देखेको थिएँ ।  त्यसबेला कटक्क मन खाएको थियो “पाचँ वर्ष कोठा बसेर अधिकृतमा नाम निकाले जागिर अधिकृत भएको डेढ वर्षपछि आज जागिर छोडेर विदेश जाने निर्णय गरियो। यहाँ इमानदार भएर जागिर खानु र जनताको सेवा गर्छु, आफ्नो तलबले छोराछोरीको स्कुल फि तिर्छु र जीवन धान्छु भनेर सोच्नु कल्पनाबाहेक  केही होइन रैछ” ।

अब सोचौ हामी कहाँ कति ठाउँमा कस्तो शिक्षाको प्रभावले बेथिति चलेको छ। त्यो ट्विटले इमादारीको आवाजलाई प्रतिनिधित्व गरेको छ । हरेकले व्यक्त गर्नुनगर्नु आफ्नो ठाउँमा छ। इमानदारिता स्किलिङसँग जोडिएको विषय हो । यो गम्भीर विषय छ र कुरा यहाँ शिक्षामा पैसा तिरेको मात्रै होइन कुरा त अभिभावकले जिन्दगी दाउमा राखेर कमाएको धन आफ्नो सन्तानको शिक्षामा लगानी गरेको भविष्यमा काम लाग्छ कि लाग्दैन भन्ने हो त्यो पैसा तिरेवापत विद्यार्थीहरूले आफ्नो जीवनमा चाहिने जीवनमुखी शिक्षा र सामाजिक हुन आवश्यकता परेमा आफ्नो जीवन, परिवार, देश, समाजका लागि आफ्नो  असल भूमिका खेल्न सक्ने हुन्छ कि हुदैन भन्नेमा हो। 

नेपाल यति सानो सुन्दर र आर्थिक विकासका लागि विविध  सम्भावना बोकेको भएर पनि सधै मागिरहनुपर्ने गरीबी, दरिद्रता बोकेर हिडिरहनुपर्ने कही लेखेको छ र । यदि लेखेको भए पनि मेटाउन जरुरी छ र त्यो समय आएको छ। मानौ, हामी यहाँ नेपालीको नाम गरेर नेपाली भूमिमा जन्मिनु, हुर्किनु र मर्नुका लागि मात्रै नेपाली भूमि बनेको हो, हामी आफ्नै  भूमिमा कर्म गर्न जन्मिएका होइनौ । मानौ, नेपाल देशचै मागेरै चल्नको बनेको। हामीले कोसिस गरयौ हाम्रो शिक्षाप्रणाली  सुध्रिन सक्दैन र ।  के नेपाल विकास हुन सक्दैन र ।

सारा कुराको भविष्यको निर्धारण एउटै केन्द्रबाट हुन्छ त्यो हो शिक्षाको मार्गदर्शन। शिक्षालाई कसरी मार्गदर्शन गरिएको छ भनेर । यी सब हुनुको पछाडि हामीमा कस्तो सिकाइ र शिक्षा पाएर यो अवस्था भयो भन्ने हो। मानिसको जीवनमा सर्वाङगीण विकासको मूल जड भनेको नै शिक्षा हो तर आज शिक्षाको अर्थ घटेर बोर्डिङ स्कुल र किताबमा सीमित हुन पुगेको छ। शिक्षा भनेको मासिक पैसा तिरेर टाईसुट लगाएर जाने स्कुल मात्रै  हो । सरकारी स्कुल र सामुदायिक स्कुल त हुदै होइन भन्ने छाप परिसकेको छ। हुन पनि त्यस्तै भएको छ । बोर्डिङ स्कुल र सामुदायिक स्कुलमा आकासपातालको फरक र  विभेद छ तर वास्तवमा नेपालको लागि दुवै स्कुलिङले फेल खाएको छ। बोर्डिङ स्कुलले युरोपियन र अमेरिकन कन्ट्रीका लागि र सामुदायिक स्कुलले गल्फ र एसियन कन्ट्रीका लागि जनशक्ति उत्पादन गरिरहेको छ। नेपाल सरकारको पाठ्यक्रम गल्ती भनिएको होइन गल्ती पढाउने र सिकाउने समयमा गल्ती भएको छ । यो गल्ती आम शिक्षक र अभिभावकबाट भएको छ । “देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिन सके” भनेर सोच्नुपर्छ भनेर अर्तिउपदेश शिक्षकले विद्यार्थीलाई  दिदै गर्दा शिक्षकले पनि भुल्नु हुदैन कि म पनि यो समाज र देशलाई असल नागरिक बनाउनका लागि औपचारिक रुपमा नियुक्त भएको सबैभन्दा जिम्मेवार व्यक्ति हुँ  भनेर त्यस्तै अभिभावकले आफ्नो बच्चाको सिकाइका लागि हरसमय ख्याल गर्नुपर्दछ कि बच्चा मेरो मात्रै होइन, बच्चा देशको नागरिक पनि हो भनेर तर यहाँ न त शिक्षक विद्यार्थीपप्रति सम्वेदनशील छ न त अभिभावक नै, सम्वेदनशील भएका छन्  पन्ध्र केजीको झोलाभित्र बोकिने पेजपेजका होमवर्कसँग । 

सस्कृतमा शिक्षाको परिभाषा स “आफुले जानेको कुरा र आफ्नो अनुभव आफूभन्दा साना, आफ्ना सन्ततिलाई र आफूभन्दा कम अनुभव भएकोलाई आफ्नो अनुभव प्रदान गर्नु हो” शिक्षा भनेको विद्यालय भवन घेराभित्र रहेर औपचारिक शिक्षालाई  लिइने प्रणालीलाई मात्रै शिक्षा मानिन्छ भने त्यो सङ्कुचित शिक्षाको अर्थ हो। शिक्षाको ब्यापक अर्थ हो मानिस जन्मेदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई नै शिक्षा भनिन्छ । यसरी हेर्दा शिक्षाको अर्थ जीवनपर्यन्त चलिरहने प्रकृया हो । ब्यक्तिको बौद्धिक,शारीरिक, मानसिक,सामाजिक, आर्थिक, भौतिक, नैतिक, राजनितिक यी सम्पुर्ण पक्षमा मान्छेको उमेरअनुसार सर्वाङगिण विकास गराउनु नै शिक्षाको अर्थ हो। हामी ज्ञान भनेको सर्टिफिकेटभन्दा अरु केही होइन भनेर सामान्यतया पच्चिस वर्ष हामी सर्टिफिकेटको लागि समय खर्चन्छौ त्यो सर्टिफिकेटमा कुनै फिल्डमा गर्न सक्ने काम को क्षमता हुँदैन जब हामी फिल्डमा काम गर्न निस्किन्छौ तब हाम साचिकै ज्ञानको खोजीमा पनि निस्किरहेको हुन्छौ।

 भागवतगितामा भनेका छन “पृथ्वीमा ज्ञानभन्दा ठूलो केही छैन” वास्तवमा ज्ञानले समास्याको समाधान गर्छ, समस्याको समाधान भएपछि यसै खुसी मिल्छ, खुसीमा शान्ति छ। हाम्रो शिक्षाले समस्या ल्याएको छ ,दुखी हुनु सिकाएको छ,अशान्ति बढाएको छ। शिक्षामा नेल्सन मण्डेलाको लोकप्रिय भनाइ छ “शिक्षा सबैभन्दा लोकप्रिय हतियार हो। जसलाई चलाई तिमी सन्सार बदल्न सक्छौ”तर हामी कहाँ यस्तो शिक्षा भयो, भएको आफै पनि भताभुंग भैसकेको छौ। नेपालको शिक्षा क्षेत्रमा राज्यले नयाँ व्यवस्था,पाठ्यक्रम, नीति तथा नियमहरु परिवर्तन गर्दै आएता पनि करीब  छ दशकदेखिको हाल उस्तैउस्ता जस्तै रहेको पाइन्छ। दुई दशक यता एउटा हातकै औलामा गनिने प्राईभेट स्कुलको केही प्रगति बाहेक राज्यले सञ्चालन गरेको स्कुलमा बाजे र नातिको शैक्षिक प्रणालीमा एकरति भिन्नता पाईन्दैन।

 “धेरै किताब पढिदैमा धेरै कुरा जानिन्छ र बाहिरी आवारणले  व्यक्तिको व्यक्तित्व झल्काउँदैन” भन्ने भनाइहरूमा हाम्रो शिक्षा प्रणालीले ठ्याक्कै मेल खाएको छ। घर छेउमा सरकारी स्कुल तर टाढाको  बोर्डिङ स्कुल पठाउने एक महिलालाई मैले प्रश्न गरेकी थिए, बच्चालाई किन बोर्डिङ स्कुल नै  पठाउनुभएको ?  महिलाको जवाफ यस्तो थियो। बोर्डिङमा धेरैवटा किताब हुन्छ, नानीलाई सफा बनाएर राम्रो ड्रेसमा स्कुल बसमा हालेर  बाईबाई गरे पठाउदा मजा लाग्छ अनि पढाइ पनि राम्रो हुन्छ। रे कतिपय जानेर कतिपय अन्जानमा हामी  बच्चाहरूप्रति सम्वेदनशील पटक्कै देखिन्दैनौ जब बच्चा रुन्छ तब कुरमुरे, चाउचाउ र मोबाइल दिन्छौ। बच्चा एकछिन खुसी भए पनि भविष्यमा उसलाई यो क्रियाकलापले स्वास्थ्य र सस्कारमा पर्ने असरको बारेमा सोच्दैनौ।

 हामीलाई किताबी ज्ञानले यसरी पछारेको छ। एकपटक कार्बन ईन्भेन्टरी  तालीम लिन मलाई पनि अवसर जुर्यो र गए वातावरण विज्ञानमा स्नातक गरेकी  एक साथीले फिल्डमा जाँदा जङगलमा भएको बिरुवाहरु गुराँसबाहेक अधिकांश बिरुवा चिनेन  । उसले काफलको हागाँ भाँचेर हातमा खेलाइरहेकी थिइन् अनि मलाई काफल चिनाइदेउ भनिरहेकी थिइन तर ती जङगलको सारा बिरुवा उस्ले किताबमा भने देखिसकेकी थिइन् । हामी सबैको जीवनमा  प्रसस्तै छन यस्ता घटनाहरु, हाम्रो शिक्षाले हाम्रो दैनिक जीवनसगँ मेल खाने शिक्षाको अभावमा हामी प्रत्येक जना कहीं न कहीं पङगु भएको छौ । अज्ञानताले  हीनताबोध गरेको महसुस थुप्रै छन्।

विद्यार्थीहरूले होमवर्क गर्न बिर्सेका छैनन् तर जबरजस्ती । हामीले हार्डवर्क गर्न बिर्सेका छौ, माटो, बिरुवा र पशुपक्षीसङगको दुरी बढाएका छौ । हामी को हौ आफु, भनेर जान्न भुलेका छौ । समयमा  के खाने भनेर भुलेका छौ । आवाश्यकता के हो आवाश्यकतालाई पत्ता लगाउन पनि सकेको छैन किनकि हामी  हाम्रो आवाश्यकताभन्दा पनि प्रचलनमा रहेको कुरामा बढी ध्यान गर्छौ र रमाउछौ। हामी आफूलाई चिनेर खुसी हुनेभन्दा पनि अरु जस्तै भएर खुसी हुने जमातमा फसेको छौ र आफैभित्र आफूलाई लुकाएर, दबाएर राखिरहेको छौ तर यस कुरामा हामी अन्जान छौ। हामी मान्छे, मान्छे हुन बिर्सेका छौ ,शाश्वत गुमाइसकेको छौ। जतिजति नयाँ पुस्ता उतिउति बोइलर कुखरा जस्तै भइरहेको छ।

 हामीले प्रकृतिलाई टाढा र अछूत बनाउदै लगेको छौ । हामी कहाँ मान्छेले मान्छेलाई गरिने व्यवहार अमानवीय र घृणालायक व्यवहारको विकास भइसकेको छ । अति नराम्रो र डरलाग्दो अपराधहरू भइरहेको छ। यस्ता कुराहरु सबै सिकाइसँग अर्थात् शिक्षासँग सम्बन्धित छ र यो सम्पूर्ण क्रियाकलाप कस्तो शिक्षा प्रणालीको परिणाम हुन त भन्ने प्रश्नको उत्तर खोज्न आजको आवाश्यकता हो। यो लगडाउन हामीलाई समस्या,पीडा, दुख  र दिक्कलाग्दो अवश्य  छ तर हामीले यसलाई सुनौलो अवसरको रुपमा लिएर प्रत्येक अभिभावक र शिक्षकले आफ्नो बालबाच्चा र विद्यार्थीका लागि शैक्षिक सिकाइ प्रणाली डाइभर्ट गरेर अघि बढ्ने बेला आएको छ। विद्यार्थी र आफ्नो बच्चालाई सिकाइरहदा स्वयं सिकाउने व्यक्तिले धेरैभन्दा धेरै कुरा जानिरहेको हुन्छ  ।ठाउँमा हामी समाज र प्रशासनको कुराको कुरा गरिरहेको हुन्छौ । केही नराम्रो घटनाको पछि हामी सधै समाजलाई नै औला उठाइरहेको हुन्छौ यो समाजले गर्दा, यो समाज यस्तो छ, समाजले यो भन्छ भनेर हिडिरहेको हुन्छौ  । मानौ हामी आफै चै समाजभन्दा कोसै टाढा भएर समाजको कुरा काट्दैछौ तर त्यसो होइन  हामी बाँचुञ्जेल पृथ्वीको जुनै ठाउँमा जाउ समाजविना रहन र बाँच्न सकिन्दैन। 

समाज भनेको तपाई, म, शिक्षक, अभिभावक र विद्यार्थीबाहेक कोही छैन र प्रशासन भनेको त्यही समाजको भलाइका लागि समाजलाई अनुशासनमा राख्ने एउटा सरकारी सस्था हो । राम्रो काममा परिवर्तनका लागि प्रशासन र  शासनको के कुरा सन्सारमा कसैले रोक्न सक्दैन । तसर्थ समाज बनाउने ठूलो हात यही मान्छेहरूबाहेक कोही हुदैनन् र छैनन्।  हाम्रो सिकाइ  अर्थात् शिक्षाको हाल यस्तो हुँदाहुँदै पनि फेरि हामी शिक्षालाई अक्षर,किताब र कपीसँग मात्रै सीमित भएर खुम्चिरहेको छौ । समयसँगै हिँड्दै बाँच्नका लागि पनि अब यो शैक्षिक प्रणालीबाट सिकाइ प्रणालीमा जानु आजको समयमा परिस्थितिमा आजको जेनेरेसनको शिक्षाको माग हो।

अप्ठ्यारो अनुभुति यो बेला हुन्छ जहाँ हामी जुन  बानी   परिरहेको अब्यस्त दैनिकलाई अलिकता अर्के रुटिनमा बदलिन्छौ  तर यो समयलाई अप्ठ्यारोभन्दा पनि अवसरको रूपमा लिनुपर्छ । अवसर यो मानेमा छ अब शिक्षा हामीले नदेखेको तर हाम्रै वरिपारि भएको हामीले दैनिक जीवनमा गरिने सम्पूर्ण कार्यहरु नै शिक्षा हुन् तर त्यसलाई शिक्षा बनाएर कसरी सिकाइमा जोड्ने भन्ने कुरा महत्वपूर्ण छ। अब शिक्षा ईन्टरनेटमा छ, अब शिक्षा घरघरमा छ, अब शिक्षा एक अर्काको सहकार्यमा छ, अब शिक्षा हाम्रो बारीमा छ, भान्सामा छ, हजुरबाहजुरआमामा छ, परिवारमा छ, साथीमा छ  अनि   संस्कार र संस्कृतिमा छ । अब विद्यार्थी कक्षाकोठा धाउने होइन शिक्षक विद्यार्थीको घर धाउनेबेला आएको छ । अब अभिभावक र शिक्षकको सहकार्य गर्ने बेला आएको छ र  समय जुरेको छ। अब बेला भएको छ हामीलाई चाहिएको शिक्षा प्राप्ति गर्ने। वास्तवमा शिक्षक र अभिभावक भनेको  देशलाई  असल नागरिक बनाएर छोडिदिने महान् गुरुहरु हुन । हरेक घर स्कुल हो र हरेक स्कुल घर हो र अब यो हुन हाम्रो रहर र चाहना होइन कि यो आवाश्यकता भएको छ यसलाई हामीले अब आवाश्यकता बनाएर काम गर्न जरुरी छ। परिवर्तन हुन्छ र सम्भव छ जब शिक्षा क्षेत्रमा सुधार आउँछ तब सबै क्षेत्रमा क्रमिक रूपमा सुधार हुदै जान्छ। आजको विद्यार्थी भनेको भोलिको नागरिक र देश सञ्चालन गर्ने लिडरहरु हुन् । आज जे भयो सकियो र सकिन्दैछ तर भोलि त सिङगो बाँकी छ र भोलि राम्रो बनाउन आजैदेखि काम थाल्नुपर्छ। परिवर्तनका लागि सकारात्मक सोच र काम गर्ने जाँगर चाहिन्छ, आशा छ यो कोरोना भाइरस कोभिड १९ को  बाध्यात्मक  लकडाउनले हाम्रो शैक्षिक प्रणालीलाई सकारात्मक दिशामा डाइभर्ट भएर परिवर्तन पक्कै आउनेछ।  

प्रकाशित: ४ श्रावण २०७७ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App