सरा जोशी पुरी,
कक्षा –६,
रातो बंगला स्कुल, पाटनढोका, ललितपुर ।
कोविड –१९ भन्ने रोग चीनमा देखा परयो । त्यहाँबाट सर्दै यो रोग संसारको धेरै देशमा फैलियो। यो रोगको औषधि तथा खोप पत्ता नलागेको र एक व्यक्तिबाट धेरैमा सर्ने कारणले लाखौं मान्छेहरूलाई यो रोग लागिसकेको छ र कैयौंको मृत्यु भैसकेको छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारीको संज्ञा दिएको छ र यसबाट बच्न अरू देशहरू जस्तै नेपालले पनि सबै जनालाई बाहिर नगई आआफ्नै घरमा बस्नुपर्ने नियम बनाएको छ। यसरी घरभित्रै बस्नुपर्ने अवस्थालाई बन्दाबन्दी अर्थात् अंग्रेजीमा लकडाउन भनिन्छ। यो रोगलाई निंयन्त्रण गर्न सरकारले कडा कानुनको व्यवस्था गरेको छ र त्यत्तिकै बाहिर हिँड्ने मानिसहरूलाई सजाय तोकिएको छ। बन्दाबन्दी लागु भएको पनि २ महिनाभन्दा बढी भैसकेको छ र आपतकालीन अवस्थामा मात्र सम्बन्धित निकायलाई खबर गरी बाहिर निस्कन मिल्छ।
लकडाउन शुरू हुनुभन्दा अगाडि मानिसहरू आफ्नै धुनमा व्यस्त थिए । हाम्रो वातावरण तथा प्रकृतिको कसैलाई वास्ता नै थिएन। प्रतिस्पर्धा र विकासको नाममा चौबिसै घण्टा धुवाँ उत्पादन गर्ने, कलकारखाना निर्माण गर्ने, प्लास्टिकको अनावश्यक प्रयोग गर्ने, अत्यधिक जमीन उत्खनन गरी पेट्रोलियम पदार्थहरू निकाल्ने जस्ता कारणले हाम्रो प्यारो पृथ्वीको तापक्रम बढिरहेको थियो र यसबारे कसैलाई चासो नै थिएन।
हामी यति व्यस्त थियौं । आफ्नै परिवारसँग बोल्ने र सँगै खाने समय पनि निकाल्न गाह्रो थियो। तर, यो लकडाउनले हामी सबैको जीवनमा परिवर्तन आएको छ। सबै मोटरगाडीहरू , हवाईजहाजहरू , फ्याक्ट्रीहरू बन्द भएकाले हामीले स्वच्छ सास फेर्न पाइरहेका छौं। हाम्रो वातावरण सफा हुनाले हाम्रा सुन्दर अनि विशाल हिमाल तथा पहाडहरू देख्न थालेका छौं। हामीले आफ्नो परिवारको मायाको महसुस गर्न पाएका छौं। यो बन्दाबन्दीले हाम्रो प्रकृतिको सुन्दरता फिर्ता ल्याएको छ।
अंग्रेजीमा टेकन फर ग्रयान्टेड भनेको जस्तै, जुन सुखसुविधाहरू हामीले पाइरहेका थियौं । हामी त्यसप्रति कृतज्ञ नै थिएनौं। तर अहिले हामीले संसारको समाचार हेरेर जुन अभाव देखेका छौं , त्यसले भोक लाग्दा खाना खान पाउनु, आफ्नो घरमा सुत्न पाउनु र गाडी चढेर विद्यालय जान पाउनु भनेको ठूलो कुरा रहेछ भनेर बुझ्न पाएका छौं। विश्वमा लाखौं मान्छेहरू कोभिड – १९ बाट पीडित छन् र उपचार पाउन सकेका छैनन्। यस्तो अवस्थामा हामी आफ्नो परिवारसँग बस्न र बाँच्न पाउँदा हामी कृतज्ञ हुनुपर्दछ। यो रोगले हामीलाई जस्तोसुकै नराम्रो अवस्थामा पनि हिम्मत नहारी एक आपसमा सहयोगको भावना बढाएर धैर्य राख्दै अगाडि बढ्नुपर्छ भनेर सिकाएको छ।
केही समयअघि नेपाल दशौं वर्ष लामो गृहयुद्धमा फसेको थियो। त्यति बेला नेपाल ठूलो आर्थिक संकटमा पर्न सक्थ्यो किनभने त्यो समयमा पर्यटकहरू आउने अवस्था पनि थिएन र हाम्रो निर्यात व्यापार पनि थिएन। नेपाली युवायुवतीहरूले विदेशमा गई दुख गरी नेपालमा रेमिट्यान्स पठाएर हाम्रो देशको अर्थतन्त्र चलेको थियो तर आज धेरै जस्तो देशहरूमा आर्थिक मन्दी शुरू भएकोले विदेशमा बस्ने नेपालीहरू बेरोजगार बन्न पुगेका छन् र आफ्नो घर फर्कन चाहन्छन्।
आफ्नो त्याग र बलिदान दिएका तिनै नेपालीहरूलाई आफ्नो देशमा आउन निषेध गरिएको छ र आज उनीहरूको आत्मा रोइरहेको छ । उनीहरू भोक अनि रोगको डर र त्रासमा बस्न बाध्य छन्। कोभिड– १९ एक व्यक्तिबाट अर्कोमा सर्ने कारणले सरकारले सावधानी अपनाउँँदै आफ्ना सबै नेपालीहरूलाई छिटै फिर्ता लिएर आउँँछ भन्नेमा म आशावादी छु।
अन्त्यमा यो बन्दाबन्दीले हामीलाई दुख र पीडा मात्रै होइन धेरै सकारात्मक कुरा पनि सिकाएको छ । यो रोगले न महिला न पुरुष, न धनी न गरीब, न जातजाति न कुनै राष्ट्रियतालाई नै छुट्याउँछ। मेरो व्यक्तिगत जीवनमा अहिलेको अवस्थाले धेरै परिवर्तन ल्याएको छ अनि मेरा परिवार, गुरु अनि साथीहरूप्रति कृतज्ञ हुन सिकाएको छ।
सबैभन्दा महत्वपुर्ण कुरा, लकडाउनपछि पनि पृथ्वीको लामो आयुका लागि हामी सबै मानिस र अन्य प्राणीहरू प्रकृतिसँग मिलेर अगाडि बढ्नुपर्छ र म यो बन्दाबन्दीलाई हामी सबै समान हौं भन्ने कुरा सिकाएकोमा धन्यवाद दिन चाहन्छु।
प्रकाशित: २९ जेष्ठ २०७७ ०५:२३ बिहीबार