दिपेश पौडेल,
कक्षा –१०,
बालज्योति अंग्रेजी मावि कोहलपुर ।
परीक्षामा सहभागी हुन केही घण्टा बाँकी थियो । दश कक्षाका हामी विद्यार्थीहरूको बीचमा एक प्रकारको डर पनि थियो । मनमा उमङ्ग पनि थियो । तयारी राम्रो गरेको हुनाले मनमा आत्मविश्वास थियो । हुन त एसइई परीक्षा दिने परिक्षार्थीहरू एक प्रकारको मनोवैज्ञानिक दबाबमा परेका हुन्छन् । विद्यालयको इज्जत, बाआमाको अपेक्षा, शिक्षक र आफन्तहरूको दबाब हुन्छ । यो परीक्षाकोे विशेषता हो । त्यसैले राम्रो ग्रेडको चिन्ता र फलामे ढोकाको मनोविज्ञानले म जस्ता सबै विद्यार्थीलाई पिरोलिरहेको हुन्छ । राम्रो कलेजमा पढ्न राम्रो ग्रेड अनिवार्य हुने भएकाले भविष्यमा राम्रो कलेजमा पढ्ने यो अवसरको बारेमा साथीहरूका बीचमा साँझको समयमा रमाइलारमाइला छलफल भएका थिए । आठ दिनपछि हामीहरूले आआफ्ना गन्तव्य रोज्दै थियौं ।
अशुभ समाचार छ । कोरोना अर्थात् कोभिड १९ को कारण एसइई स्थगित भयो । सहायक प्रधानाध्यापकले खबर सुनाउनुभयो । यो समाचारले आफ्नो भविष्य के होला भन्ने अन्योलमा विद्यार्थीहरू छाँगाबाट खसेजस्तै भयौं । स्थगित शब्दको अर्थ सोध्न थालियो । स्थगित भन्नु परीक्षा कहिले हुन्छ भन्न सक्ने अवस्था नरहेको र मिति तोक्न नसकिने अवस्था हो भनेर शिक्षकले बताउनुभयो । साथीहरू भारी मन लिएर आज नपढ्ने भन्दै सरकारलाई तथानाम भन्न थाले । हामीले प्रोजेक्टर ममा गएर थ्रि इडियट फिलिम हेर्ने बन्दोबस्त गर्यो । जे हुन्छ त्यो राम्रै हुन्छ । अल इज वेल भन्ने सिनेमाको गीतको बोलले एक्कासि भावनामा पुर्याएको चोटलाई बिर्सने प्रयास गरयौ। कलम र कापी बोकेर परीक्षा हलमा जाने समयमा निन्याउरो मुख लगाएर झोला बोकेर छोरा घर आउँदा बाआमा चकित हुनु स्वभाविक थियो । वर्षौको उहाँहरूको लगानी र छोराछोरीको भविष्यले सबैलाई पिरोलेको हुन्छ । म जस्ता झण्डै चार लाख विद्यार्थी परीक्षा हुन्छ कि हुँदैन । भए कहिले होला ? नभए हाम्रो मूल्यांकन कसरी होला भन्ने दुविधा लिएर त्यस दिनदेखि अनुत्तरित छन् । सरकारले मुख नखोल्दा यो प्रश्नको उत्तर बाआमासँग पनि छैन । शिक्षकसँग पनि छैन ।
सरकारले घोषणा गरेको लकडाउनसँगै मेरो मनमा पनि संघर्ष चलिरहेको छ । संघर्षमा कहिले कोरोनाको विश्वव्यापी महामारी र नेपालमा पनि प्रभाव बढिरहेको हुनाले कोरोनाको भय र आतंकले जित्यो । कहिले परीक्षाकोे स्मृतिले दुःखी बनायो । लकडाउनको दुईतीन हप्ता कक्षाका पाठ्यपुस्तक पढेर बिताएँ । एउटा विद्यार्थीका लागि घरमा बसेर पुराना पाठ्यपुस्तक पढ्नु दिक्कलाग्दो काम रहेछ ।
बिस्तारै परीक्षाकोे भय हट्दै गयो । म दिनभरि टिभी र मोवाइलमा सिनेमा र कोरोनाका समाचार हेर्न थालें । दर्जनौं सिनेमा हेरियो । अति हेरेपछि एक प्रकारको त्यसमा पनि मन जान छोड्यो । चिनी पनि धेरै खाएपछि तीतो हुन्छ भन्ने सत्य रहेछ । बाआमालाई पनि पढ् भन्ने आधार थिएन । सरकारी मौनताले उहाँहरू बोल्ने अवस्थामा हुनुभएन । बिस्तारै मलाई टिभी, मोवाइलमा मोहभंग भयो । दिनभरि बरण्डामा एक्लै बस्न थालें । म मनमनै त्रसित थिएँ । कोरोना र परीक्षाकोे अत्यासलाग्दो प्रतिक्षाले म निरास बने, वैशाखको पहिलो हप्तासम्म । लकडाउन सरले सुनाएको सिसिफसको कथाजस्तै ठूलै दण्डजस्तै भयो । एउटा राजाले सिसिफस भन्ने अपराधीलाई अपराधको सजाए सुनाएछन् । एउटा ढुंगालाई गुडाउँदै पहाडको टुप्पोमा लैजाने । त्यहाँबाट ढुङ्गा पल्टाइदिने । फेरि तल ओर्लेर गुडाउँदै टुप्पामा पुरयाउने । यो काम आजीवन गर्ने । सजाय मृत्युदण्डजस्तै थियो । एउटै काम दोहोराइरहनु पनि कामको मृत्यु नै हो । पट्यारलाग्दो, निरस जीन्दगी । कथाले कुनै महत्वकांक्षा र लक्ष्यविनाको कार्यलाई मृत्युसँग तुलना गरेको छ ।
एक दिन मामाको जापानबाट फोन आयो । जापानमा लकडाउनको बीचमा म नोकरी मगाइरहेको छु । कारोनासँगै जिउनुपर्छ भन्ने जापानीहरूको विचार छ । एउटा ढोका बन्द हुँदैमा आत्तिनु हुँदैन । अन्य विकल्पका ढोका खोज्नुपर्छ । बाआमाले पनि सम्झाउनुभयो । बाहिरी पुस्तक पढ भन्ने सल्लाह दिनुभयो । मान्छेले प्रत्येक समस्यालाई अवसरमा बदल्नुपर्छ । नेल्सन मण्डेलाले जेलमा लङ् वाक टु फ्रिडम चर्चित पुस्तक लेखे । विपी कोइरालाले जेल जर्नल जेलमा लेखे । धेरै उदाहरण दिएपछि मैले पनि अध्ययनको तरीका बदल्ने निर्णयमा पुगें । आफ्ना साथीहरूसँग फोनबाट कुराकानी गरें । जब एउटा विरामी अस्पतालमा हुन्छ । उ आत्तिन्छ । वरपर अरू विरामी देखेपछि उसको मन हलुका हुन्छ । सबैको समस्या उस्तै सुन्दा मेरो मनलाई सहानुभूति मिल्यो ।
सर्वप्रथम मैले घरमा रहेको प्रजा परिषदका संस्थापक गोविन्दप्रसाद शर्माको नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ भन्ने पुस्तक पढें । उनी राणा शासनविरुद्घ आन्दोलन गर्दा आजीवन जेलसजाय पाएका रहेछन् । समस्याले मानिसको रचनात्मक प्रतिभालाई बन्देज गर्न सक्ने रहेनछ । बुद्ध गुरु रिम्पोच्छेको प्रत्येक स्वासमा आनन्द भन्ने पुस्तक पढें । यो पुस्तकले तनावलाई कसरी कम गर्न सकिन्छ भन्ने सयौं उदाहरणबाट जानकारी दिएको छ । भौतिक सुखभन्दा आन्तरिक सुख महत्व हुन्छ । यसका लागि भगवान् गौतम बुद्धका बाणीहरू र विपष्यनाध्यानको बारेमा लेखेको रहेछ । मैले डोरबहादुर विष्टको सयौं जातको फूलबारी पनि पढें । नेपालमा सयौं जातजाति र उनीहरूको उत्पत्ति र संस्कृतिबारेमा जानकारी पाएँ । मैले बिहान योग अभ्यास गर्ने, करेसाबारीमा तरकारी लगाउन पनि सिके । व्यावहारिक काम जसलाई महत्व दिएको थिएन आज त्यसमा पनि रमाइरहेको छु । सिनेमा हेर्ने, डायरी लेख्ने कामले लेख्ने अभ्यास बढेको छ । बाहिरी पुस्तक र व्यावहारिक कामले गर्दा कक्षाका पाठ्यपुस्तकलाई गहिरो अध्ययन गर्ने रुचि बढेको छ ।
सबै विद्यार्थीहरू सिर्जनात्मक र रचनात्मक काममा लागौं । आफूलाई मनपर्ने काममा ध्यान लगाऔं । बाआमासँग विगत, वर्तमान र भविष्यका कुरा गरौं । मस्तिष्क भनेको सुन्दर बगैंचा हो । नराम्रा झारपात उम्रिन नदिऊँ । गलत विचार लकडाउनलाई सिक्ने अवसरमा बदलौं ।
प्रकाशित: २८ जेष्ठ २०७७ १०:२१ बुधबार