९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

केही कविता लेखें र भाषणकला पनि सिकें

आँचल अधिकारी
कक्षा: १०, लिभरपूल माध्यमिक विद्यालय, शंखमुल, काठमाडौं  ।

कोभिड–१९ को महामारीका कारण यतिबेला संसारका अधिकांस देश लकडाउनमा छन्। नेपालमा पनि लकडाउनले ६० दिन काटिसकेको छ। दैनिक पढाइमा व्यतित गर्ने आम विद्यार्थी घर भित्रै बस्न बाध्य भएका छौँ। हामी तनावमा मात्र बस्नु भन्दा घरमै सुरक्षित बसेर सिर्जनात्मक काममा लाग्नुपर्छ।  

हामी जस्ता विद्यार्थीले लकडाउनलाई इन्डोर क्रियटिभ टास्कमा उपयोग गर्न सक्छौं। चित्र बनाउने, गायन तथा नृत्य सिक्ने, बौद्धिक खेल खेल्ने, भाषणकला सिक्ने, विभिन्न हाते सामाग्री बनाउने लगायतका सृजनात्मक काम घरमै सिक्न सकिन्छ। यो समय प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर हो।  

लकडाउनमा मैले धेरै सिर्जनात्मक काम सिक्दै आएकी छु। बाबा सरकारी कर्मचारी भएकाले सुरक्षित हुने बिधि अपनाएर अफिस जानेआउने काम गर्नुहुन्छ र फुर्सदमा हामीलाई आफु सानो हुँदाका अनुभव सुनाउनु हुन्छ। आफूसँग भएका ज्ञान बाँड्नु हुन्छ। लकडाउन भन्दा पहिला बाबालाई पनि हामीसँग बस्ने र आफ्ना  जीवनका अनुभव सुनाउने फुर्सद हुँदैनथ्यो। हामीलाई पनि बाबाको कुरा सुन्ने फुर्सद हुँदैनथ्यो। 

यस पृथ्वीमा जन्म लिइसकेपछि हामीले समाजका लागि सक्दो योगदान पु-याउनु पर्छ।   

आमा त हामीसँग चौबीसै घण्टा हुनुहुन्छ। म अब ठूलो हुँदै गएँ। म कक्षा १० मा पढ्छु। जीवनमा कसरी अघि बढ्ने र के गर्दा ठिक वा बेठिक छुट्टयाउने जिज्ञासु उमेर भएको हुँदा म आमाबुबाका अनुभव सोध्छु। बुझ्छु। आमासँगै भान्सामा खाना पकाउने र लुगाधुने काममा सहयोग गर्छु। आमा र म मिलेर युट्युव हेर्दै नयाँनयाँ खानेकुरा पकाउन पनि सिकेका छौँ।

अहिले हामी सूचनाप्रविधिको युगमा छौं। मैले इन्टरनेट मार्फत खुल्ला शिक्षाका पाठ्यपुस्तक पनि पढ्ने गरेकी छु्। हामीले दैनिक ४–५ घन्टा अनलाइन कक्षा लिने गरेका छौं।  

मैले नयाँ लेख रचना लेख्ने गरेकी छु। विभिन्न कविता पनि लेखेकी छु। बजारमा उपन्यास र अन्य किताब किन्न जान नपाए पनि म युट्युवबाट अडियोभिडियो सुन्ने र हेर्ने गर्छु। कहिलेकाहिँ म रंगीन तथा श्यामस्वेत चित्र समेत कोर्छु।  

मैले ऐना हेर्दै र बुबाआमालाई सुनाउँदै भाषण कला पनि सिक्ने गरेकी छु। मलाई गीत गुन्गुनाउन मनपर्छ किनकि मलाई केही काम गर्न संगीतले ऊर्जा थप्ने गर्छ। मेरो साढे ५ वर्षको भाइ छ। ऊ धेरै रमाइला कुरा गरेर मलाइ दंग पार्छ। ऊ सँग बसेपछि समय बितेको पत्तै हुन्न। उसले तोते बोलीमा जिज्ञासु हुँदै सोधेका प्रश्नको उत्तर दिँदा छुट्टै रमाइलो हुन्छ।  

साँझपख भाइसँग खेल्छु र शारिरीक व्यायाम गरेर ३० मिनेट ध्यानमा बस्छु। मलाई सांस्कृतिक नृत्य गर्न मन लाग्ने भएकाले समय मिलाएर नृत्य पनि गर्छु। म आवश्यक कामका लागि मात्र सामाजिक सञ्जालमा घुलमिल हुन्छु। अनावश्यक कामका लागि त्यसमा समय दिन्नँ।  

अचेल समयको ठूलो महत्व छ भन्ने बुझ्न थालेकी छु। हामी मरणशील प्राणी भएकाले एक दिन अवश्य मर्नु पर्छ। तथापी छोटो तर महत्वपूर्ण जीवनमा हामीले समयको महत्व बुझ्नु पर्छ। यस पृथ्वीमा जन्म लिइसकेपछि समाजमा आफूले सक्दो समाजलाई फाइदा पुग्ने काम गर्नुपर्छ। सिर्जनशीलताको विकास आफैँमा एउटा सिकाई भएकाले फुर्सदमा सिर्जनात्मक काममा मन लगाऔं। यसो ग-यौं भने भोलि हामी दक्ष जनशक्ति बन्न सक्छौं।

प्रकाशित: १५ जेष्ठ २०७७ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App