coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

के थियो तिम्रो प्रेममा ?

कविता

दीपा मेवाहाङ राई

दीपा मेवाहाङ राई

 

एक दिन तिमीले भन्यौँ–

म तिमीलाई प्रेम गर्छु  

त्यस दिनदेखि खुलेको हो  

यो मनको आकाश ।

 

बतास सुस्तसुस्त बयेलीमा

आभास हुँदै थियो अनौठो स्पर्श  

सिमलका हाँगामाथि बसेर

साउती गर्दै थिए एक जोडी चखेवा

सुनाखरीको सुगन्ध

छरिएथ्यो मनको वनभरि ।

 

अन्योललाग्दो गन्तव्य  

एकाएक नजिक बन्दै गएको आभास हुन्थ्यो

सुनामी छालझैँ उर्लिंदा पीडाहरु

एकाएक मौन हँुदै थिए

मुर्झाएका आशाका जूनकीरी

बल्दै गए एकाएक धिपिक्क–धिपिक्क ।

 

क्रमशः पूर्ण हुँदै थिए

अभावका गहिराईहरु,

लयबद्ध हुँदै सरगम भरिँदै थिए

बेसुर–बेसुर जिन्दगीमा धुन,

सहज बन्दै थियो हिँड्ने बाटो

यात्रामा तिम्रो आगमनले

फुल्न थालेका त्यसयता  

अनुहारमा रंगीन फूलहरु ।

 

ए मेरो हजुर !

आखिर के थियो तिम्रो प्रेममा ?

प्रकाशित: १० जेष्ठ २०७७ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App