८ वैशाख २०८१ शनिबार
अन्य

बाँच्दै रहे नाँच्दै रहौंला

आयुष्मा ढकाल

आयुष्मा ढकाल

कक्षा  : १०, त्रिभुवन नमुना मावि  

कोहलपुर, बाँके

आज सम्पूर्ण विश्व नै कोरोना भाइरसका कारण लकडाउनमा छ । यो रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ नाम दिएर विश्वव्यापि महामारी घोषणा गरेको छ । यसको संक्रमण २०२० जनवरी ५ मा चीनको वुहानबाट फैलेको हो । कोरोनाका कारण मृतक  संख्या तीन लाख पुगेको छ भने संक्रमित ५० लाख पुग्न लागेका छन् । यसको विरुद्धमा कुनै खोप तथा औषधि बनिसकेको छैन । विश्वका वैज्ञानिक यसको औषधि र खोपको खोजिमा लागिरहेका छन् ।  

परिस्थिति गम्भिर छ । अधिकांश राष्ट्रले आफ्ना नागरिकलाई संक्रमणबाट जोगाउन सम्पूर्ण विद्यालय, कलेज, उद्योग, कल कारखाना, बजार बन्द गरेका छन् । स्वास्थ्य नै जीवनको सर्वश्रेष्ठ धन हो । हामी स्वस्थ रहे मात्र सबै क्रियाकलाप गर्न सक्छौं । नेपाल सरकारले दुई महिनादेखि लकडाउन गरेको छ । सीमा क्षेत्रमा कडाइ गर्न र लकडाउन पूर्ण पालना गर्न नसक्दा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।  

लकडाउन समय परिस्थितीलाई आंकलन गरेर लिइएको निर्णय हो । हामीले अनुशासित रुपले यसको पालना गर्नु पर्छ । लकडाउन हाम्रो बाध्यता र बुद्धिमत्ता दुवै हो । मेसिनको गतिमा रातदिन सडकमा दौडिरहेकालाई लकडाउनमा बस्न गाह्रो छ । तर बानी बदल्न सक्नुपर्छ । यो समयलाई घरमै सदुपयोग गर्नुपर्छ ।  

जीवनभर पैसाको पछाडि भौतारिएर हुँदैन । परिवारसँगको सम्बन्ध, सहकार्य, माया, प्रेमभन्दा पैसालाई महत्व दिएकाले आज परिवारसँग बस्न गाह्रो भएको हो । बच्चालाई मन्टेश्वरी र बाबुआमालाई वृद्धाश्रम पठाएर व्यस्त थिए मानिस । आज कोरोनाले परिवारसँग बस्ने अवसर दिएको छ । सुखदुःख साटासाट गर्ने, मिलेर खानपिन गर्ने, राम्रा र उपयोगी कुरा  एकअर्कालाई सुनाउने, फिल्म हेर्ने, आफूलाई पहिले देखि नै गर्न मन लागेका तर समयले साथ नदिएको काम पुरा गर्नुपर्छ ।  

कुची र कलमसँग खेल्दा खुब आनन्द आउँछ । चित्र बनाइरहेकी छु । लकडाउनमा मेरा कथा र लेख पनि अनलाइनमा आएका छन् । 

ज्ञान जति बढाए पनि पुग्दैन । म एसइईको तयारीमा छु । तर परीक्षा अन्योल छ । बाबा आमा दुवै साहित्यकार भएकाले विभिन्न पुस्तक घरमा छन् । ती पुस्तक पनि पढिरहेको छु । चित्रकलामा मेरो बिशेष रुचि छ । विभिन्न कार्यक्रममा मेरा चित्र पुरस्कृत पनि भैसकेका छन् । परीक्षा पछाडी एकल चित्रकला प्रदर्शनी गर्ने तयारी थियो । पछिल्लो समयमा मात्र एक दर्जन बढी चित्र बनिसकेका छन् । कुची र कलमसँग खेल्दा खुब आनन्द आउँछ । चित्र बनाइरहेकी छु ।

 लकडाउनमा मेरा कथा र लेख पनि अनलाइनमा आएका छन् । परिवार ठूलो भएकाले भाइबहिनी बीचमा वक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, निबन्ध, अन्तरवार्ता लगायत प्रतियोगिता गरेका छौं । सामाजिक संजालमा लाइभ गरेकाले विभिन्न अग्रजबाट थप हौसला पनि प्राप्त गरेका छौं ।  

एसइईको तयारीमा रहेका म जस्ता लाखौं विद्यार्थी अहिले लकडाउन बस्नु परेको छ । परीक्षा स्थगित भएकाले निराश बनाएको छ । तर निराश मानेर पनि भएन । शरीर स्वस्थ रहनुपर्छ । बाँच्दै रहे नाँच्दै रहौंला भने भैं हुलहालमा जिउ बचाउनु नै बुद्धिमत्ता हो । हामीले आत्मबल गुमाउनु हुँदैन । यसलाई अवसरका रुपमा सदुपयोग गर्दै थप अध्ययनमा जोड दिनुपर्छ ।  

विद्यालय कहिले खुल्ने भन्ने टुङ्गो छैन । मेरो परिवार शिक्षित छ । परिवारसँगको शिक्षा सँगसँगै विभिन्न संचार माध्यमबाट चलाइएका अनलाइन कक्षा उपयुक्त बनेका छन् । रेडियो, टेलिभिजनमा पढेको छु नबुझेका कुरा टिपोट गर्ने गर्छु । कहिलेकाही शिक्षकसँग फोन र म्यासेन्जरबाट सोध्छु । केही इन्टरनेटमा खोज्छु । गुगलमा विश्व भेटिन्छ ।

हरेक कुरा सिक्न खोज्नु मानवीय गुण हो ।  हामी सबै इन्टरनेटको पहुँचमा छैनौं । नेपाल भौगोलिक विकटता र आर्थिक अभावको दोहोरो संकटमा परेको राष्ट्र हो । यहाँका सबै विद्यार्थीमा प्रविधिको पहुँच छैन । वाइफाइ र ल्यापटप नहुन सक्छ तर उनीहरूले रेडियोका माध्यमबाट संचालन गरिएका कक्षाहरुबाट फाइदा लिन सक्छन् । जे छैन त्यसैको खोजी गर्नुभन्दा जे उपलब्ध छ त्यसैलाई सदुपयोग गर्न सक्नुपर्छ ।  

हाम्रो स्वतन्त्रता कोरोनाका कारणले खोसिएको छ । हामी बाँकेबासी कोरोनाको रेडजोनमा परेका छौं । जसले गर्दा घर बाहिन निस्कनु झनै डर बढेको छ । खुला सीमानाको मारमा छौं । वर्षभरि कक्षा १० मा पढेका कुरालाई स्मरण गर्दै, इमेल इन्टरनेटमा रमाउँदै, म्यासेज, म्यासेन्जर र फोनका माध्यमबाट शिक्षक अनि साथीसँग सम्पर्क गर्दै घरमा बसिरहेका छौं । परीक्षा अन्योलमा छ तर पनि हामीले पठनपाठनलाई निरन्तर गर्दै लैजानुपर्छ ।  

आज विश्वका शक्तिशाली देशले आफ्ना नागरिक गुमाइरहँदासम्म हामी अझै सुरक्षित छौं । त्यसैले नेपालमा यस्तो परिस्थितिमा विद्यालय संचालन गर्ने अवस्था देखिदैन । अहिलेको अबस्थामा हामीले लकडाउन पालना गर्दै अनलाइन कक्षालाई नै पठनपाठनको अवसरको रुपमा लिन सक्नुपर्छ । जसको पहुँचमा जे छ त्यसैको सदुपयोग गर्नुपर्छ ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App