१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बिरालो पाल्नेलाई खतरा कति ?

भिक्टोरिया गिल, बिबिसी
पशु चिकित्सकहरुको सल्लाह छ, घरेलु जनावर तपाईंले पालिरहनु भएको छ भने तिनलाई घरबाहिर छाडा नछाड्नुस् । तिनलाई घरैमा राख्नुस् ताकि बाहिरतिर छरपष्ट भइरहेको कोरोनाभाइरस जनावरमा नसरोस् । तर केही पशुचिकित्सकहरु भने घरेलु जनावरका मालिकहरु तिनमा संक्रमण हुन्छ भनेर चिन्तित भइरहनु नपर्ने बताइरहेका छन्।

घरेलु जनावरबाट मानिसमा सर्दैन
हङकङ सिटी युनिभर्सिटीका चिकित्सक डा. एन्जेल एलमेन्ड्रोस भन्छन्, ‘अहिलेसम्म एउटा पनि यस्तो नयाँ घटना देखिएको छैन, जसले कुनै पालिएका जनावर बिराला हुन् या कुकुर तिनबाट मानिसमा कोभिड-१९ को संक्रमण भएको होस् ।’

शोधबाट के पत्ता लागेको छ भने बिरालाहरुमा यदि संक्रमण भयो भने अन्य बिरालाहरु त्यसको चपेटामा पर्छन् । त्यसैले बिरालाहरुलाई घरैभित्र राख्ने सुझाव चिकित्सकहरुको छ ।

ब्रिटिस भेटनरी एसोसिएसन (बिभिए)की अध्यक्ष ड्यानियला डस सेन्टसले बिरालाहरुलाई घरैमा सुरक्षित राख्ने सुझावलाई उत्तम त भन्छिन् तर यस्तो सुझाव त्यो समुदायका लागि मात्र उत्तम हो, जसमा कोरोनाको संक्रमण भएको छ वा लक्षण देखिन थालेको छ ।

उनी भन्छिन्, ‘खासमा भन्ने हो भने हामीले बिरालाहरुलाई थुन्ने वा छेक्नेभन्दा पनि हामीले हाम्रो हात धुने वा नधुने, धुने हो भने कसरी धुने हो भन्ने कुरामा जोड दिनुपर्छ । किनभने अहिलेसम्मको अध्ययनले सारा समस्या चाहिँ हात नधुनाले सरसफाईमा ध्यान नदिनाले भइरहेको देखिएको छ ।’

मानिसबाट जनावरमा सर्न सक्छ
उनले भनिन्, ‘कुनै पनि जनावरको रौँमा भाइरस त्यो बेला आउँछ, जब त्यो रौँमा यो भाइरसबाट संक्रमित कुनै व्यक्ति सम्पर्कमा आउँछ ।’

यस विषयमा एउटा रिसर्च पेपर लेखेका डाक्टर एनजेल एलमेन्ड्रोसले एउटा घटना बताएका छन् । हङकङमा एक जना १७ वर्षे कुकुरमा कोभिड १९ बाट संक्रमित पाइयो । तर के थाहा भयो भने उसलाई उसैको मालिकले यो सारेको रहेछ ।
उनले भने, ‘रोचक के छ भने कोभिड १९ बाट यो कुकुर संक्रमित भए पनि ऊ रोगी भने भएको देखिएन ।’
सन् २००३ मा फैलिएको सार्स–कोभमा पनि कयौँ जनावरहरु यसबाट संक्रमित भएका थिए तर तिनीहरु बिरामी भएको पाइएन । त्यस हिसाबले पनि कुकुरा या बिरालाहरु कोभिद १९बाट बिरामी परी अरुलाई संक्रमण सारेको कुरा प्रमाणित नभएको उनको तर्क छ ।

मानिसबाट कसरी जनावरमा सर्‍यो त ?
अध्ययनले के देखाएको छ भने हाच्छ्यूँ गर्दा निस्किएका सिँगान तथा र्‍यालबाट कुकुर वा बिरालालाई कोभिद १९ सर्न सक्छ । सबैलाई थाहा भएकै कुरा हो, खोक्दा, हाच्छ्यूँ गर्दा, श्वास फेर्दा वा लिँदा कोभिद १९ फैलिने गर्छ ।
बेल्जियममा एउटा यस्तो घटना देखिएको थियो, जसमा आफ्नो मालिकलाई कोरोनाभाइरस सरेपछि उसले पालेको बिरालोमा पनि कोरोनाभाइरसको पोजिटिभ देखिएको थियो ।

यसपछि चिनियाँ वैज्ञानिकहरुले अध्ययन थाले । सो अध्ययनमा के देखियो भने एउटा बिरालो संक्रमित भयो भने अर्को बिरालोलाई पनि यो रोग सर्छ । यसरी कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले बिराला वा कुकुरलाई यो भाइरस सार्ने सम्भावना बढी हुने रहेछ । ठीक यही तरिकाले नै न्युयोर्कको ब्रोंक्स चिडियाखानामा रहेको एउटा बाघ पनि संक्रमित भएको थियो ।

मानिसबाट अन्य जनावर कोभिड १९ को संक्रमण फैलिन सक्छ ।

जनावरहरु खतरामा
मानिसका कारण जनावरहरु अब खतरामा पर्ने सम्भावना छ । खासगरी दुर्लभ प्रजातिका जनावरहरु यसको मारमा पर्ने चिन्ता केही वैज्ञानिकहरुको छ । मानिसलाई हुने श्वासप्रश्वाससम्बन्धी समस्या त चिम्पान्जीलाई तुरुन्तै सर्ने र यो तिनका लागि अति घातक हुनसक्ने केही वैज्ञानिकहरु बताउँछन् । यही कारण गुरिल्ला, चिम्पान्जीजस्ता संकटापन्न जनावरहरुको अस्तित्व नै संकटमा पर्नसक्ने चिन्ता बढेर गएको छ ।

यस कारण अब मानिस नै जनावर सखाप पार्ने भाइरस बोक्ने प्राणीमा परिणत भइरहेको प्रोफेसर चाल्र्सटन बताउँछन् । उनी भन्छन्, ‘कुनै कारणले जनावर वा पंक्षीबाट कोभिड १९ उत्पन्न भयो । तर जनावरमा नै सीमित रहेको यो रोग मानिसलाई किन सर्‍यो ? किनभने उसले संक्रमित जनावर खायो ।’

यस्तोमा उनी सुझाव दिन्छन्, ‘त्यसैले तपाईंबाट तपाईंका घरेलु जनावरमा यो रोग नसरोस् र अरुलाई पनि संक्रमित नबनाओस् भन्नाका खातिर तपाईंले तिनलाई पनि परिवारका सदस्यहरुझै‌ क्वारेन्टिनमा राख्नुस् । बिरामी भएको बेला तपाईं आफ्नो मनोरञ्जनका लागि तिनलाई आफूसँग खेलाउने, उसलाई मनोरञ्जनको साधन बनाउने कार्य बन्द गर्नुस् ।’

कोरोनाभाइरस
केही प्रश्न, केही जवाफ

संसारभरि नै आतंक मच्चाएको कोरोनाभाइरसबाट संक्रमित हुने देश सायदै होलान् अब । संसारभरि नै यसको फैलावट रोक्नका लागि कडा प्रतिबन्ध लगाइएको छ । नेपालमा त बन्दाबन्दीदेखि घरेलु क्वारेन्टिनसम्मका योजना छन् ।
चीनको वुहानबाट शुरु भएको यो रोगले चीनमा भन्दा बाहिर बढी ज्यान लिइसकेको छ । त्यसैले चीनको अभ्यासबाट सिक्दै संसारभरिका देशहरुले यातायातमा रोक लगाएका छन् भने घरैमा बसेर सरकारलाई सहयोग गर्न आग्रह गरिँदैछ।

अहिलेसम्म यो भाइरसका बारेमा जे जति जानकारी आएका छन्, तिनबाट के स्पष्ट भएको छ भने कोरोनाभाइरसबाट बच्नका लागि सही तरिका नै आइसोलेसन अर्थात् एकान्तबास वा एकअर्कासँग दुरी बनाएर बस्नु हो ।

यस्तोमा धेरैको मनमा अनेकन् कुरा खेलिरहेका छन् । कतिपय देशले दिनमा एक पटक बाहिर जान सकिने भनी नियम बनाएका छन् । नेपालमा भने काम नपरी भरसक बाहिर ननिस्कने सरकारको आग्रह छ । यस्तोमा जो दैनिक केही न केही किलोमिटर हिँड्नै पर्ने किसिमका बिरामी छन्, तिनको प्रश्न थियो, ‘दिनमा एक पटक हिँड्नै पर्ने रोगीका बारेमा चाहिँ चिकित्सकहरुको सल्लाह के छ ?’
विज्ञहरु भन्छन्, ‘यस्तो अवस्थामा तपाईं हिँड्नुस् तर यस्तो बेलामा सुरक्षाका सामग्रीहरु लगाएर हिँड्नुस् । जस्तो कि हातमा पञ्जा लगाउने, नाक र मुख छोपिने गरी मास्क लगाउने, अझ अनुहार नै छोपिने गरी बनाइएका प्लास्टिकका मास्क लगाउने । यस्तै बाहिर हिँड्दा अरुसँग सामाजिक दुरी कायम राख्ने ।

सात दिने बन्दाबन्दीका बेला मलाई स्वाद र गन्ध भन्ने चिज महसुस नै हुन छाड्यो । के मलाई कोरोनाभाइरस नै लागेको हो त ?
तपाईं घरभित्रै हुनुहुन्छ, बाहिरका कोहीसँग सम्पर्कमा हुनुहुन्न, तपाईंका वरिपरिका कसैलाई पनि कोरोनाभाइरस प्रमाणित भएको छैन भने तपाईंलाई सामान्य रुघाखोकी लागेको हुनसक्छ । सामान्य रुघाखोकीका बेला पनि स्वाद र गन्ध महसुस हुँदैन । यसको अर्थ कोरोनाभाइरसले नै सतायो भन्ने लाग्दैन ।

घरका कुनै सदस्यलाई कोभिड १९ को लक्षण देखियो तर त्यो घरमा कोही गर्भवती पनि छन् भने त्यस्ता गर्भवतीलाई आइसोलेसनमा राख्दा के कस्ता काम गर्नुपर्छ ?
तपाईंको घरमा कसैलाई कोरोनाको लक्षण देखियो र घरमा गर्भवती महिला या ७० वर्षभन्दा बढी उमेरका सदस्य छन् भने त्यस्तालाई १४ दिनको आइसोलेसन पिरियडमा राख्नुपर्छ । यस अवधिमा परिवारका सदस्यसँग अलग्गै बसेको राम्रो।

हुन त अहिले कोरोनाभाइरसका बारेमा धेरै कोणबाट अध्ययन हुन बाँकी नै छ तर गर्भवती महिला र तिनका सन्तानलाई कोरोनाभाइरसको संक्रमण हुने खतरा बढी नै हुन्छ ।

म नर्स हुँ । मेरो पारपाचुके भइसकेको छ । मेरी छोरीलाई यतिबेला नै उसको बुबासँग भेट्नु छ । अब मेरो जिम्मेवारी के भन्देखी, उसलाई उसको बाबुसँग भेट गराइदिनु छ । यस्तो अवस्थामा कतै मैले कोरोनाभाइरस बोकेकी रहिछु भने त दुई परिवारलाई नै संक्रमित गरिदिने भएँ । यो बडो नैतिक संकटको कुरा छ, यसमा मैले के गर्न सक्छु ?
तपाईंमा कोरोनाभाइरसको संक्रमण भएको छैन, तपाईंको सन्तानमा पनि त्यसको जोखिम अहिले देखिएको छैन भने भेटघाट गर्दा खासै समस्या होला भन्ने लाग्दैन । १८ वर्ष पुगिनसकेका बालबालिकाहरुको सन्दर्भमा उनीहरु जोसँग बस्छु भन्छन्, उनीहरुको इच्छा पूरा गरिदिनु नै उत्तम हुन्छ ।

प्रकाशित: २१ वैशाख २०७७ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App