१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

जब मेयरले काखमा नानी च्यापेर पानीमा रुझ्दै हिँडेको देखे...

गोरखादेखि सुर्खेत हिँडेका मजदुरहरु । तस्बिर : नागरिक

गोरखा- आइतबार साँझ गोरखा नगरपालिका बाह्किलो भन्ने ठाउँमा ११ जना मजुदर झोला, बोरा बोकेर आँबुखैरेनी–गोरखा राजमार्गमा हिँडिरहेका थिए । गाडीको आवाज सुन्नसाथ उनीहरुको कान ठाडो हुन्थ्यो । कुनै दायालु मान्छे भेटिए ट्रकमै चढाएर लगिदिन्थ्यो कि भन्ने आशा उनीहरुमा थियो ।

डेढ वर्षको नानी च्यापेर टिका बस्याल झोलासहित कष्टले हिँडिरहेकी थिईन् । ‘हप्ता १० दिन गाउँ पुग्न लाग्छ होला, हिँडेर जान लागेको’ उनले दुखेसो गर्दै भनिन् । सुर्खेत भेरिगंगा गाउँपालिका ७ काँठेघारी पुग्नुपर्ने ११ जना मध्ये चार जना महिला थिए । लामो बाटो पैदल नहिँडेका कारण उनीहरुलाई यात्रा सहज थिएन । ५८ वर्षका बहादुर सुनार पनि त्यही समुहका एक सदस्य हुन् । महिला र वृद्धसहित भएकाले उनीहरु छिटो हिँड्न सक्ने अवस्था थिएन । दिनभरी समय लगाएर बाह«किलो मिटर यात्रा गरेका उनीहरुलाई आईतबार साँझ मुसलधारे पानी बर्सिरहेको बेला सडकमा देखेपछि उक्त बाटो भएर यात्रा गर्दै गरेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्धार गरिदिए ।

शिशु बोकेर कुर्लुम्म झोलासहित यात्रा गरेका मजदुर देखेपछि सडकमा ओर्लिएर मेयर पन्तले आफैँ गाडी खोजे मजदुरलाई मुग्लिनसम्म जाने चाँजो पाँजो मिलाईदिए । सडकमा गाडी खासै गुडेको थिएन । कुखुरा, दाना बोक्ने गाडी भेटिएपछि मजदुरहरु त्यही गाडीमा भएपनि जाने भन्दै खुसी भए । मलिन अनुहार लगाएर बसेका मजदुरहरुको एकाएक खुसीको सीमा नै रहेन ।

उनीहरु हत्तपत्त कुखुरा बोक्ने गाडीको पछाडी चढे । ‘हामीलाई निकै खुसी लाग्यो, भगवान भेटेजस्तो भयो’ मजदुर नबिनकुमार परियारले भने । उनीहरु गोरखाको पालुङटारमा नरह निर्माणको काम गर्थे । लकडाउन भएपछि गोरखा सदरमुकाम आए । ‘नगरपालिकाबाट पाउने राहत पाएका थियौँ, त्यो पनि सकियो, काम पनि छैन’ परियारले भने ‘घरमा छोराछोरीको बिचल्ली भएको छ, के खाएका होला, कसरी बसेका होला, यता हुनेलाई उताको चिन्ता, उता हुनेलाई यताको ।’

कुखुरा बोक्ने गाडीमा कोचिएर चढ्दा समेत खुसीले हौसियका ती मजदुरलाई बाटोमा खाजा खानु भन्दै नगरप्रमुख पन्तले दुई हजार रुपैयाँ झिकेर बालिकाको हातमा राख्दै भने ‘लकडाउन खुलेपछि काम गर्न फेरी आउनुस है ।’ हामी आउँछौँ भन्दै गाडीको ढालाबाट हात हल्लाउँदै मजदुर हँसिलो अनुहार बनाएर हिँडे ।

गोरखाबाट हिडेर घर गइरहेका पैदल यात्रीको उद्धारका लागि पहल सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय आवश्यक व्यवस्था नगरेपछि विभिन्न सामाजिक क्षेत्रबाट उनीहरुलाई गन्तव्यमा पठाउने काम भइरहेको छ । कारण अलपत्र परेका १३ मजदुरलाई हरमटारीबाट उद्धार गरिएको थियो । भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित लामाचौरमा भूकम्प पीडितका लागि सामूहिक बस्ती निर्माण गर्न आएका उनीहरुलाई सामदुायिक सेवा केन्द्रको पहलमा उद्धार गरिएको केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए ।

बगुवामा हिडेर बाँके, सुर्खेत र रुकुम जान लागेका उनीहरुलाई हावा हुरी सहितको वर्षात भइरहेका बेला प्लास्टिक ओडेर सडकमा हिडिरहेका उनीहरुलाई सामुदायिक सेवा केन्द्र गोरखाले प्रहरीसँगको समन्वयमा नारायणगढसम्म ट्रकको ब्यवस्था गरिदिएको हो ।

लकडाउनको सुरुका दिनमा राजमार्गमा यात्रा गर्नेको ताँती देखिथ्यो । अहिले बिभिन्न ठाउँमा जनप्रतिनिधि, सुरक्षाकर्मी, अधिकारर्मीहरुले कष्टपूर्ण यात्रा गरिरहेकालाई आफैँले गाडी जोहो गरेर पठाउन थालेका छन् । ज्यालामा काम गरेर गुजारा गर्ने मजदुरहरु कामविहीन भएपछि घर फर्कने क्रम भने अहिले पनि रोकिएको छैन । खाद्यान्न पुर्‍याएर फर्किएका ट्रकहरुले मजदुरलाई लगिदिने गरेकाले अहिले घर फर्कनेहरुलाई सहज भएको छ ।


 

प्रकाशित: ८ वैशाख २०७७ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App