२ असार २०८१ आइतबार
image/svg+xml
अन्य

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने

फाइल तस्बिर।

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

निर्धारित समयभित्र भुक्तानी नगरे जरिवाना लाग्ने व्यवस्था भए पनि सरकारी निर्णयअनुसार, फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लकडाउन अझै लम्बिए सोहीअनुसार समय थप हुने उनले जानकारी गराए । 

उपभोक्तालाई विद्युत् महसुल, विलम्बबापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३०औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकले अघिल्लो महिना तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवा प्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन सकिएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नुभएको रकममा समायोजन गरिनेछ,’ घिसिङले भने । 

लकडाउनको अवस्थामा दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानी लगायतलाई रकम आवश्यक पर्ने र महसुल समयमा संकलन नभए न्यूनतम सेवा प्रवाहका लागि नै खर्च नपुग्ने जोखिम आउन सक्ने देखेर अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरेको प्राधिकरणले प्रस्ट पारेको छ । ‘ग्राहक वर्गले प्राधिकरणलाई गरेको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौं,’ घिसिङले भने ।

प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्र भुक्तानी गरेमा दुई प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै ग्राहकले पाउँथे । 

प्राधिकरणले अहिले ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकको चैत र वैशाखको बिल फागुनको बिलअनुसार नै गर्नेछ र थ्री फेज मिटर जडान गरेका ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्ने जनाएको छ । सिंगल फेज ग्राहकको यी महिनाको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार मिलान गर्ने प्राधिकरणको योजना छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले गार्हस्थ (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको हकमा गत चैत र यो वैशाखको बिलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैतको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउने र तिरिसकेको हकमा वैशाखको बिलमा मिलान गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित: ७ वैशाख २०७७ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App