१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

केही घण्टाको निद्रा

डेभिड रबसन, बिबिसी वर्कलाइफ

कम सुत्नुलाई हामी गर्वका साथ लिन्छौँ र व्यस्तताको मापनका रुपमा पनि लिन्छौँ । वैज्ञानिक थोमस अल्बा एडिसन, बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ती सबै राति चार या पाँच घण्टा मात्र सुत्ने दाबी गर्छन् ।

विशेषज्ञहरुको भनाइ छ, वयस्कहरुले कम्तीमा सातदेखि ९ घण्टा मज्जाले सुत्नुपर्छ । तर संसारभर नै अहिले त्यो सुत्ने समयमा कटौती भइरहेको छ । अधिकांशको सुत्ने समय एक तिहाईले घटेको छ ।

कम सुत्नुका कयौँ दुष्प्रभावहरु छन् । स्मरणशक्ति घट्नु, निर्णय लिने क्षमता कम हुनु, कुनै पनि किसिमको संक्रमण चाँडै हुनु या मोटोपन बढ्नु आदि तुरुन्त देखिने लक्षण हुन् । यी खतराका बारेमा सबैले थाहा पाएका छन् तर यसलाई त्यत्तिकै बेवास्ता गरेको पनि देखिन्छ ।

जब हामीलाई कुनै कामका लागि अतिरिक्त समय आवश्यक पर्छ, पहिलो सहिद हुने भनेको हाम्रो निद्रा नै हो ।
यस्तो अवस्थामा आराम अर्थात् निद्राको अनुभव बढाउन र कम समयमै गहिरो निद्रा बढी लिन सक्दा के होला त ?
ओछ्यानमा पल्टनेबित्तिकै भुसुक्क निदाउने नयाँ काइदा उपयोग हुन थालेको छ । यसलाई स्लिप अप्टिमाइजेसन टेक्निक पनि भन्ने गरिएको छ ।

संसारभरमा भएका प्रयोगहरुले गहिरो निद्रामा जाने गति र रात्रिकालीन दिमागको दक्षता बढाउन सकिने कुराहरु सम्भव तुल्याएको देखिएको छ ।

सुस्त तरङ्ग, गहिरो निद्रा
सामान्य रातमा दिमाग निद्राका कयौँ चरणबाट हुँदै जान्छ । हरेक चरणमा मस्तिष्कको तरङ्गको एउटा खास प्याटर्न हुन्छ । जसमा न्युरोनहरुले एक साथ एउटै तालमा सक्रिय भएका हुन्छन् । जस्तो कुनै भिड एक साथ गाइरहेको या एकसाथ ढोल बजाइरहेको बेला जुन संगति देखिन्छ, सोही किसिमको संगतिमा ती न्युरोन हुन्छन् ।

र्‍यापिड आई मुभमेन्टका बेला यो ताल निकै तीव्र हुन पुग्छ । त्यो बेला सपनामा हुने सम्भावना सबैभन्दा बढी रहन्छ । एउटा बिन्दुमा आएर हाम्रो आँखाको गति रोकिन्छ । सपना ओझेल हुन पुग्छ र मस्तिष्कको तरङ्गको ताल एक बिट प्रति सेकेन्डसम्म घट्न पुग्छ ।

यो त्यही समय हुन्छ, जब हामी गहिरो निद्रामा जान्छौँ । यस अचेत अवस्थालाई ‘स्लो–वेब’ निद्रा भनिन्छ ।
यस चरणमा निद्राको सर्वोत्तम उपयोग कसरी गर्ने भनी सम्भावना खोजिरहेका वैज्ञानिकहरुले गज्जबको रुचि राखिरहेका छन् ।

सन् १९८० को दशकदेखि भइरहेको शोधबाट के थाहा पाइएको छ भने स्लो वेभ निद्रा दिमागको सन्तुलन र व्यवस्थापनका लागि निकै जरुरी छ ।

यही बेला दिमाग अल्पकालीक स्मृतिलाई दीघकालीक भण्डारमा पठाउँछ ताकि हामीले जे सिकेका छौँ, त्यसलाई नबिर्सिऔँ । जर्मनीको टुबिंगन विश्वविद्यालयमा मेडिकल साइकोलजी एन्ड बिहेभियरल न्युरोबायोलजी विभागका निर्देशक जान बोर्न भन्छन्, ‘सूचनाहरुको प्रसारण सुस्त तरङ्गहरुले गर्ने गर्छ ।’

यी तरङ्गहरुले मस्तिष्कमा रक्त र मस्तिष्कमेरु द्रव्य (सेरेब्रोस्पाइनल फ्लुइड)को प्रवाहलाई पनि उक्साउन सक्छ, जसले तन्त्रिकाहरुका लागि हानिकारक फोहोरलाई बाहिर पठाउन सकियोस् । यस्ता तरङ्गहरुले तनाव दिने कोर्टिसोल हार्मोनलाई पनि कम गर्छ र प्रतिरक्ष प्रणाली (इम्युन सिस्टम)लाई शक्तिशाली बनाउन सहयोगी पनि हुन्छ ।

यस किसिमको परिणामले वैज्ञानिकहरुलाई हामी यी साना तरङ्गहरुको उत्पादन बढाएर निद्राको फाइदा बढाउन सक्छौँ त भन्ने सोच्न बाध्य पारेको छ ।

यस्तो गर्नका लागि सबैभन्दा विश्वाससिलो प्रविधि मस्तिष्कको सही लय गन्ने मेट्रोनोमले जस्तै काम गर्छ ।
प्रयोगमा संलग्न व्यक्तिले एउटा हेड सेट लगाउँछन्, जसले उसको दिमागको गतिविधिहरुलाई रेकर्ड गर्छ र सुस्त तरङ्ग कतिबेला बन्न थाल्यो भनी पत्ता लगाउँछ ।

यसपछि यो उपकरणले रातमा नियमित अन्तरालमा दिमागको स्वाभाविक सुस्त तरङ्गको लयका साथ मिल्ने मधुर ध्वनिहरु बजाउँछ । यो ध्वनि यति सुस्त हुन्छ कि मान्छेको निद्रा नखुलोस् तर यति ठूलो आवाजको हुन्छ कि मस्तिष्कको अवचेतन अवस्थामा पनि त्यसलाई रेकर्ड गर्छ ।

बोर्नले यस किसिमका कयौँ प्रयोगहरुलाई नेतृत्व गरिसकेका छन् । उनले के पाए भने यी श्रुतिमधुर आवाजहरु मस्तिष्कको लय सुदृढ गर्नका लागि पर्याप्त छन् । यी ध्वनिहरुले स्लो–वेभ निद्रालाई अझ गहन निद्रामा लैजान सक्छन् । हेडसेट लगाउने प्रयोगमा सहभागीहरुको स्मरण शक्ति परीक्षणमा निकै राम्रो देखिए । उनीरुले एक दिन पहिले सुनेका कुरा पनि मज्जैले स्मरण गर्न सके । उनीहरुको हार्मोनको सन्तुलन पनि सुध्रिएको पाइयो । कोर्टिसलको स्तर घट्यो  र प्रतिरक्षा प्रतिक्रियामा पनि सुधार आएको पाइयो ।

अहिलेसम्मको परिक्षणहरुमा प्रयोगमा सहभागीले कुनै पनि अवाञ्छित प्रतिक्रियाको बारेमा बताएनन् ।
बोर्न भन्छन्, ‘हामी अहिले नै पूर्ण रुपमा यस किसिमको निद्रा दिलाउन सफल भयौँ भन्ने कुरामा आश्वस्त त हुन सक्तैनौँ तर यस प्रयोगले कुनै पनि किसिमको दुष्प्रभाव पार्छ भन्ने चाहिँ देखिएको छैन ।’

राम्रो निद्रा दिने मेसिन
गहिरो निद्रा बढाउन गरिएको यस किसिमको प्रयोग युवा र स्वस्थ समूह र सानो समूहमाथि गरिएको थियो । यसलाई वृहद् स्तरमा सफल प्रयोग गर्न अझै आवश्यक छ । खासगरी युवा मात्र होइन, वृद्धवृद्धाहरुमाझ यो प्रयोग गर्न सफल भएको खण्डमा भने यो अझ बहुउपयोगी हुनसक्छ । अहिले जुन निष्कर्षमा पुगिएको छ, ती प्रमाणहरुको आधारमा यस किसिमको प्रविधिको उपयोगले राति सुत्ने बेलामा पहिरिने केही हेडब्यान्ड बनाइएको छ ।

फ्रान्सेली स्टार्टअप कम्पनी ड्रिमको हेडब्यान्डको मूल्य करिब ३३० पाउन्ड छ । यसले ध्वनि उत्तेजनाको प्रयोग गरी गहिरो निद्रालाई बढाउने गर्छ । यो हेडब्यान्ड एउटा एपसँग जोडिएको हुन्छ, जसले निद्राको प्याटर्न विश्लेषण गर्छ र राम्रो निद्राका लागि व्यवहारिक सल्लाह पनि दिन्छ ।

यसमा ध्यान र श्वासप्रश्वासको अभ्यासजस्ता कुरा पनि सामेल गरिएको छ । जसका कारण तपाईं चाँडै निद्राको अवस्थामा पुग्नुहुन्छ र राति निद्रा बिच्कने अवस्थाबाट जोगिनुहुन्छ । यसको उद्देश्य रातभरि नै तपाईं मज्जाले निदाउनुहोस् भन्ने हो ।

फिलिप्स कम्पनी जसले पहिला टेलिभिजन सेट बनाउँँथ्यो, यतिबेला ऊ डिप स्लिप हेडब्यान्ड बनाउनतर्फ लागेको छ । निद्राको कमीका कारण हुने दुष्प्रभाव क मगर्न स्मार्ट स्लिपमा उसको ध्यान केन्द्रित हुन थालेको छ ।

फिलिप्स कम्पनीका चिफ साइन्टिफिक अफिसर डेभिड ह्वाइटका अनुसार उनको हेडब्यान्डका कारण कुनै कारणले मज्जाले निदाउने अवसर नपाएकाहरुका लागि बरदान साबित भइरहेको छ ।

ड्रिमको हेडब्यान्डजस्तै फिलिप्सले पनि पहिलो ह्यान्डब्यान्ड सन् २०१८ मा बजारमा ल्याएको थियो । यसले दिमागमा भइरहेको विद्युतीय गतिविधिहरुलाई महसुस गराउँछ र नियमित केही अन्तरालपछि केही मीठा आवाजहरु निकाल्छ । जसका कारण सोही किसिमको तरङ्ग उत्पन्न गराउँछ, जुन गहिरो निद्राको विशेषता हुन्छ । यो एउटा स्मार्ट सफ्टवेयरमा आधारित हुन्छ, जसले बेग्लाबेग्लै मानिसका लागि आवाजको तीव्रतालाई मिहिनतापूर्वक नियन्त्रण गर्छ । यो हेडब्यान्ड अमेरिकामा ३९९ डलरमा उपलब्ध छ ।

ह्वाइटको विचारमा यो उपकरणले रातिको निद्राको सम्पूर्ण विकल्पको रुपमा काम त गर्न सक्तैन तर निद्राको कमीका कारण चिन्तित हुनेहरुका लागि जीवनशैली बदल्ने कुरामा सहयोगी भने हुनेछ । यो हेडब्यानडले मानिसको दैनिकीमा निकै सहयोगी भूमिका खेलिरहेकोमा भने दुविधा छैन ।

स्मरणशक्ति घट्ने दुष्प्रभाव घटाउने
निद्राको कमीका कारण सर्वसाधारणमा स्मरणशक्ति घट्नेजस्ता दुष्प्रभावलाई पनि यस्ता हेडब्यान्डले कम गर्न थालेको छ ।

मोन्ट्रियलको कनकर्डिया विश्वविद्यालयका अरोर पेराल्टले रकिङ बेडको परीक्षण पनि गरेका छन्, जुन ओछ्यान हरेक ४ सेकेन्डमा सुस्तसुस्त तरिकाले अगाडिपछाडि पिङझैँ झुल्ने गर्छ ।

यो टेक्निक उनका एक सहकर्मीको नवजात शिशुलाई सुताउने तरिकाबाट प्रेरित हो । उनको टोली पछि त निकै चकित पनि परे कि वास्तवमा वयस्कहरुलाई पनि सुस्तसुस्त झुलाउँदा निद्रामा पनि फाइदा पुगेको थियो ।
उनले के पाए भने यस्तो झुल्ने ओछ्यानमा सुत्नेहरु चाँडै नै सुते भने सुतेको अवस्थामा मस्तिष्कको गतिविधि पनि रङ्गहरुको बाहिरी गतिसँग मेल खायो ।

रातभरि सुतेपछि तिनले बढीभन्दा तनावमुक्त महसुस गरिरहेका थिए । यसले तिनको स्मरणशक्ति र सिक्ने क्षमतामा पनि निकै राम्रो प्रभाव परेको थियो ।

यस किसिमको खाट बजारमा आयो भने त्यसले हेडब्यान्डको उद्देश्यलाई पनि पूर्ति गर्ने केहीको धारणा छ ।
पेराल्टलाई अब के अनुसन्धान गर्न मन छ भने जसरी बालबालिकालाई झुलाउँदा उनीहरु भुसुक्क निदाउँछन्, सोही किसिमले स्वस्थ युवाहरुलाई झुलाउँदा जसरी भुसुक्क निदाए, उसैगरी वृद्धवृद्धाहरुलाई पनि सोही किसिमले भुसुक्क बनाउन सकिन्छ कि सकिँदैन !

मानिस जति वृद्ध हुँदै जान्छ, तिनको गहिरो निद्राको मात्रा घट्दै जान्छ । सोही कारणले तिनको स्मरणशक्तिमा पनि नराम्रो असर पर्न थाल्छ । पेराल्टलाई आशा छ, हल्लाउने खाटले वृद्धवृद्धालाई पनि मज्जाले निद्रा पूरा गर्न भूमिका खेल्नेछ ।

तापनि निदाउनुस्
हेडब्यान्डको कुरा होस् या झुलाखाट, यी सबै शुरुवाती अवस्थामा छन् । तर यिनको अध्ययनले हाम्रो निद्रा बढाउनका लागि निकै काम गर्न सकिएला भन्ने आशा बढाएका छन् । पेराल्ट र बोर्न दुवै ध्वनिको उत्तेजना प्रयोग गरी सुस्त तरङ्ग उत्पन्न गर्ने सामान बनाएर बजारमा बेच्ने कुरामा आशावादी छन् ।

पेराल्टलाई के लागिरहेको छ भने, हामीले यी सबै कुरा प्रयोगशालामा त गर्‍यौँ तर बाहिर त्यही स्तरको परिणाम दिन्छन् कि दिँदैनन् त ? भविष्यमा भने यस किसिमको निद्राको लामो अवधिका कारण सर्वसाधारणलाई फाइदा पुग्छ कि पुग्दैन त भन्नेबारे हेर्नु चाहिँ निकै रोचक पक्ष हुनेछ ।

लामो समयसम्म निद्राको अभाव भयो भने चिनीरोग (डाइबिटिज) र अल्जाइमरजस्ता रोगको जोखिम बढ्छ तर अहिलेसम्म यी नयाँ प्रविधिले ती जोखिमलाई क मगर्न कस्तो भूमिका खेल्न सक्छन् भन्ने अध्ययन पनि हुन बाँकी छ । अहिलेसम्म त दीर्घकालीक र अल्पकालीक सबै किसिमको फाइदा पाउने एउटै सुनिश्चित तरिका छ र त्यो हो, भरपूर निदाउने ! मज्जाले निदाउने !   

ती उपकरण तपाईंले खरिद गर्नुस् या नगर्नुस्, तपाईंले राति चाँडै सुत्नका लागि रक्सी, क्याफिन (चिया–कफी) सेवनबाट टाढै रहनु उपयुक्त हुन्छ । सुत्नुअघि कुनै पनि किसिमको स्क्रिन (टिभी, मोबाइल, ट्याब्लेट)बाट टाढै हुनु उत्तम हुन्छ । हाम्रो दिमाग रिचार्ज बिना नै काम गर्न सक्तैन । खुसियालीपूर्ण, स्वस्थ र उपयोगी जीवन बाँच्नका लागि दिमागलाई रिचार्ज गर्नु अत्यावश्यक हुन्छ ।

 

प्रकाशित: २९ चैत्र २०७६ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App