५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

आराम गुमाउँदो संसार

विश्वभर विलासी सामग्री बनाउने सबैभन्दा राम्रो कम्पनीको प्रमुखलाई जब विलासीको परिभाषा सोधियो, ती प्रमुख त एक छिन वाल्ल परे । उनले भने, ‘लौ ! म त यो प्रश्नका लागि तयार नै थिइनँ । मलाई यसबारे सोच्न केही समय चाहिने भयो !’

उनले त्यो बेला भन्न सक्थे– तपाईं ज्यूँदो रहनका लागि अनिवार्य मानिने चिजहरु हासिल गरिसकेपछि जीवनमा आरामको एउटा स्तर प्राप्त हुन्छ । यसपछि पनि तपाईंले जे हासिल गर्न सक्नुहुन्छ वा गर्नुहुन्छ, त्यो विलास हो । त्यस्ता वस्तु विलासी हुन् ।

बढ्दो विलासिताका वस्तुको व्यापार
बजारका आँकडाहरुलाई ध्यान दिने संस्था युरोमनिटरका विशेषज्ञहरुका अनुसार लग्जरी सामानका वैश्विक बजारको विकास चकित पार्ने गरी बढिरहेको छ । रोचक त के छ भने यो पहिला पनि उत्तिकै राम्रो थियो र आजका दिनमा पनि यो बढिरहेकै छ ।

पाँच वर्ष पहिले यो २४७ अर्ब डलरको कारोबार हुने व्यापार थियो । गएको वर्ष अर्थात् सन् २०१९ मा ३३८ अर्ब डलरको भयो । यो कारोबार पाँच वर्षमा ३६ प्रतिशतले बढेको देखिन्छ ।

यस्तो बजारको सबैभन्दा बढी माग रुस, चीन र द्रूत गतिमा विकास गरिरहेका देशहरुबाट आउने गरेको छ । तर रुसमा विकासको दर सुस्त भएका कारणले त्यहाँबाट आउने मागमा केही सुस्तता पनि छाएको छ ।
युरोमनिटरका ग्लोबल लग्जरी म्यानेजर फ्लर रोबर्ट भन्छन्, ‘कयौँ देशमा सामाजिक तथा राजनीतिक संकट तीव्र गतिमा बढिरहेका कारण हामीले जति सोचेका थियौँ, त्यत्ति विस्तार गर्न भने सकेका छैनौँ ।’

युरोमनिटरको अनुमानमा २०१९ मा लग्जरी सामग्रीमा हुने खर्च ४६३ अर्ब डलरसम्म पुगेको थियो भने गएको १० वर्षमा ८८ प्रतिशतसम्म यसको माग बढ्ने सम्भावना छ ।

महिलाहरुमा बढी माग
लग्जरी बजारको सबैभन्दा ठूलो बजार महिला भएको देखिएको छ । खासगरी एक्सेसरिजमा बढी नाफा र रकम पर्ने गरेको पनि देखिएको छ । पर्स, ब्याग, गर्मीको चस्मा, फोन, ट्याब्लेट कभर आदिमा यसको नाफा र बजार बढी देखिएको हो ।

ब्रान्डिङ कन्सल्टेन्ट क्याफिन पार्टनरसिपका संस्थापक एन्डी मिलिगन भन्छन्, यी लग्जरी चिजका मार्केटिङ निकै सावधानीपूर्वक गरिन्छन् ताकि मानिसहरु त्यसमा बढीभन्दा बढी पैसा खर्च गर्न तयार होऊन् । उनको भनाइ छ, ‘सबैभन्दा पहिला तपाईं कुनै लग्जरी सामान र त्यसको ब्रान्डबाट प्रभावित हुनुहुन्छ र अनि मात्र पैसा तेस्रो प्राथमिकतामा पर्छ । यस्तो कुरामा ध्यान दिनेले महँगो कुरालाई ध्यान दिँदैनन् ।’

अर्मानीको बेग्लाबेग्लै प्राइस प्वाइन्ट हुन्छ । त्यस्तै प्रादा, गुच्ची, टिफनीका ब्रान्डमा पनि त्यही कुरा लागू हुन्छ । केही यस्ता प्रोडक्ट पनि हुन्छन्, जस्तो उदाहरणका रुपमा केही परफ्युम अलि बढी नै मूल्यका हुन्छन् । त्यस्ता परफ्युमका बोतलको डिजाइन बडो आकर्षक बनाइएको हुन्छ ताकि त्यो खरिद गर्दा सर्वसाधारणले बेग्लै आनन्दको महसुस गरुन् ।

खासगरी परफ्युम र कस्मेटिकमा ५५ प्रतिशत आम्दानी हुनछ । ठूला लग्जरी सामानको बिक्री अति सम्पन्नहरुलाई गरिन्छ जबकि ससाना सामानबाटै थोरै बेचे पनि त्यसबाट मनग्य कमाउन सकिन्छ ।

 

प्रकाशित: २९ चैत्र २०७६ ०७:४६ शनिबार

आराम संसार विलासी_सामग्री नागरिक परिवार