२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सपना पूरा गर्नु छ भने...

एली मेट्स, बिबिसी क्यापिटल

जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने त भनाइ नै छ ! एकताका नेपालका प्रख्यात हास्य कलाकार मदनकृष्ण र हरिवंशले त ‘जे भो राम्रै भो’ नाममा फिल्मसमेत बनाएका थिए । कुनै पनि काममा नियन्त्रण गर्नु वा प्रतिबन्ध लगाउनु हामीलाई नराम्रो लाग्छ । तर कयौँ अवस्थामा भने प्रतिबन्ध राम्रो कुरा हुन पुग्छ ।

केही वर्षअघिसम्म पनि अमेरिकी गृह मन्त्रालय र बेलायतको परिवहन विभागले एक सूचना जारी गरी मध्य एसिया र उत्तर अफ्रिका हुँदै उड्ने विमानहरुमा स्मार्टफोनबाहेक कुनै पनि इलेक्ट्रोनिक ग्याजेट (ल्यापटप, ट्याब्लेट) जस्ता कुरा लैजानमा प्रतिबन्ध लगाएका थिए ।

अहिलेको समयमा भने ग्याजेटहरु अक्सिजनकै काम गर्ने तहका भइसके । यस्तो अवस्थामा लामो उडानमा यस्ता ग्याजेट बिना कसरी सम्भव होला भन्नेसम्म सोच्छौँ हामी । त्यो प्रतिबन्धका बेला यतिधेरै हल्लीखल्ली भयो तर पनि प्रतिबन्धको प्रतिबन्धै रहिरह्यो ।

यस प्रतिबन्धलाई हाँसोमा उडाउँदै रोयल जोर्डेनियन एयरलाइन्सले यस्ता बाह्र कामको सूची बनाएको थियो, जसमा ल्यापटप वा ट्याब्लेट बिना १२ घण्टाको सफर कसरी काट्ने भनी बताइएको थियो । सो सूचीमा एघारौँ नम्बरमा एउटा यस्तो सुझाव थियोः जिन्दगीको अर्थ बुझ्ने प्रयास गर्नुहोस् ।

हुन त रोयल जोर्डेनियन एयरलाइन्सले यो सूची अमेरिका र बेलायती प्रतिबन्धलाई मजाक बनाउन तयार पारेको थियो तर यात्रामा लाग्ने झ्याउलाई हटाउन यो कुरा मनन् गर्नु अति आवश्यक कुरा नै हो । जसले भन्थ्यो, यस यात्राका क्रममा जीवनको महत्व र त्यसको मूल्यका बारेमा केहीबेर सोच्नुस्, गम्नुस् ।

यो बडो गज्जबको सुझाव हो । खाली समयमा आफैँसँग कुरा गर्दै जीवनका मुद्दा, विषय, समस्यामाथि गहन रुपमा नियाल्नु र आफैँलाई खँगाल्नु या आफैँलाई समय दिनुजस्तो कुरा निकै महत्वको हो । अहिलेको समयमा यस्तो सोच्नु पनि निकै टाढाको कुरा हो ।

गुनासो अहिलेको समयमा ज्यादै सामान्य कुरा बनिसक्यो । बालबालिकाहरु सिर्जनात्मक काम गर्दैनन्, तिनीहरुको समय बढीभन्दा बढी ग्याजेटमै बित्न थाल्यो भन्ने गुनासो कसले गर्दैन ? हाम्रो जीवन पूरै मेसिनले घेरिएको छ । भन्ने नै हो भने अहिले मानिसको जीवनलाई मेसिनले नै चलाइरहेको छ भन्दा रत्ति फरक पर्दैन ।

न त रातमा निद्रा मज्जाले लाग्छ, न त दिनमा शान्तिको दुई पल बिताउन सकिन्छ । फोनमा कसैसँग कुरा गर्दा होस् या कहिले इमेलको जवाफ दिन होस्, कहिलेकाहीँ सामाजिक सञ्जालमा नचाहँदा नचाहँदै भए पनि कुरा गर्नुपर्ने अवस्था हुन्छ । किनभने प्रतिस्पर्धामा खरो उत्रनका लागि सर्वसाधारण वा आफूले नचाहेको मानिससँग पनि सम्बन्ध बनाउन जरुरी हुन्छ ।

प्रविधिले तपाईंको हातमा स्मार्ट फोन र ट्याब्लेट त दिएको छ । घर होस् या बाहिर जुनसुकै ठाउँमा अफिस र काम लगातार चलिरहेको हुन्छ ।

यस्तो बेलामा कहिलेकाहीँ आफ्ना बारेमा दुई पल सोच्ने समयसमेत छैन । कमाउनुका अतिरिक्त हामी जीवनमा अरु के चाहन्छौँ या जीवनले हामीसँग के चाहन्छ, यो सोच्ने समय नै पाइरहेका हुँदैनौँ ।

यस्तोमा यदि रोयल जोर्डेनियन एयरलाइन्सले आफ्नो यात्राका बेला आफैँका बारेमा सोच्ने मौका दिएको छ भने यो वास्तवमै एउटा गज्जबको तारिफयोग्य कदम हो ।

दिमागलाई खाली त राखाैं !
२०१२ मा एउटा शोधबाट के पत्ता लगाइएको थियो भने आफ्नो दिमागलाई खाली राख्दा कयौँ समस्याको समाधान चुट्कीमै हुने गर्छ । खाली दिमाग सैतानको घर होइन, खाली दिमागमा कयौँ पटक क्रिएटिभ आइडिया आउँछन् । मानिसको स्वभाव नै सपनामा रमाउने हो, सपना देख्ने हो । रचनात्मकता र सपनामा गहिरो सम्बन्ध हुन्छ । महान् वैज्ञानिकदेखि लिएर नोबेल पुरस्कार विजेता रसायशास्त्रीहरु सबैले खाली दिमागलाई उम्दा तरिकाले प्रयोग गरेका थिए र सोही कारणले उनीहरुले जीवनमा त्यो उचाई हासिल गरेका थिए ।

कतिसम्म भने संसारका ठूला विचारकहरुले पनि दिमागलाई हरबखत कुनै न कुनै कुरामा उल्झाएर नराखौँ । त्यसलाई आनन्दले काम गर्ने मौका दिऊँ ।

अमेरिकी मनोवैज्ञानिक एमी फ्राइस भन्छन्, ‘जब हाम्रो दिमाग शान्त हुन्छ, त्यसले हामीलाई पुराना स्मृतिसम्म पुर्‍याउँछ । यस्तोमा मानिसले आफूलाई आफ्नो वास्तविक धरातल, पुराना याद, स्मृति र भावनासँग जोड्छ ।’जसले एउटा नयाँ सोच र आइडियालाई जन्माउँछ । तपाईं आफैँले पनि जब सारा चिन्ताबाट मुक्त भएर कुनै कुरा सोच्नुभयो भने बढी तीव्रता र उम्दा सल्लाह–सुझाव तपाईंको दिमागमा आउँछ ।

नयाँ दिन, नयाँ आइडिया
अमेरिकी ग्राफिक डिजाइनर मेगन किङ भन्छिन्, ‘कहिलेकाहीँ पूरा दिन कुनै प्रोजेक्टमा काम गर्छु, त्यो बेला यति थाक्छु कि दिमागमा एउटा पनि नयाँ आइडिया आउँदैन । जब म मज्जाको निद्रा पु¥याएर बिहान उठ्छु र केही सोच्न थाल्छु, १५ मिनेटमा नै नयाँ नयाँ आइडिया फुराइरहेकी हुन्छु । फुराउने मात्र होइन, त्यसमा काम नै शुरु गरिसकेकी हुन्छु ।’

तर यस्तो गर्ने मौका कमै पाउँछिन् उनले । किनभने अधिकांश समयमा उनी आफ्नो स्मार्टफोनमा यति व्यस्त हुन्छिन् कि दिमागले शान्तिपूर्वक सोच्ने अवसर नै पाउँदैन । रिसर्च कम्पनी निल्सनका अनुसार अमेरिकामा अधिकांश मानिस दैनिक साढे दस घण्टाभन्दा बढी समय ग्याजेटलाई दिन्छन् तर आफूलाई केही मिनेट पनि दिँदैनन् ।

बेलायतमा पनि यस्तै अवस्था छ । अहिलेको समयमा कोही पनि खाली दिमाग एक्लै एकान्तमा बस्न रुचाउँदैनन् ।
एउटा शोधका बेला केही मानिसलाई ६ देखि १५ मिनेटसम्मका लागि बिना कुनै ग्याजेट शान्तिपूर्वक बस्न वैज्ञानिकहरुले आग्रह गरेका थिए । शान्तिपूर्वक बस्न नचाहनेहरुलाई बेलाबेलामा इलेक्ट्रिक सक लिने विकल्प पनि दिए । बरु ती शोधमा भाग लिनेहरुले आफूलाई इलेक्ट्रिक सक लिन तयार भए, शान्तिपूर्वक बस्न तयार भएनन् ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा मनोवैज्ञानिकका प्राध्यापक ड्यानियल विलिङ्घम भन्छन्, ‘जब हाम्रो दिमाग खाली हुन्छ, खाली अवधिमा बेग्लै तरिकाले सोच्न थाल्छ । जब हामी कम्प्युटर, ल्यापटप या स्मार्टफोनतिर आँखा डुलाइरहेका हुन्छौँ, त्यो बेला दिमागले बेग्लै तरिकाले काम गरिरहेको हुन्छ ।’

हाम्रो दिमागमा दुई भाग हुन्छन् । एउटा बाहिरी र अर्को भित्री । दिमागको भित्री भाग बढी सक्रिय हुन्छ । यसलाई डिफल्ट नेटवर्क भनिन्छ । यो डिफल्ट नेटवर्कले आफ्ना बारेमा सोचिरहेका बेला बढी गहन तरिकाले काम गर्छ । हुन त दिमागका यी दुई भागमा अर्को दुई पाटो पनि जोडिएको हुन्छ । तर कहिल्यै पनि यिनले एकसाथ काम गर्दैनन् । यसको सिधा अर्थ के हो भने हाम्रो दिमागको एउटै मात्र अंशले एक पटक काम गर्छ ।

यस्तो अवस्थामा जब तपाईंले कुनै ग्याजेटलाई चलाउँदै हुनुहुन्छ भने दिमाग क्रिएटिभ हुन पाउँदैन । हिजोआजका बालबालिकाका साथ समस्या त अझ बढी छ ।

तर राम्रो कुरा के छ भने यो समस्याका बारेमा हामीले गम्भीरतापूर्वक बुझिरहेका छौँ । धेरै जसो मानिस ग्याजेट प्रयोग गर्ने सन्दर्भमा हाम्रो बानी परिवर्तन गरिरहेका छन् । जस्तो कि ग्राफिक डिजाइनर किङले आफूलाई फेसबुकजस्ता सामाजिक सञ्जालबाट टाढै हुने निर्णय गरिसकिन् । जबकि पहिला उनका लागि फेसबुक अति आवश्यक साधनका रुपमा मान्थिन् ।

त्यस्तै प्राध्यापक विलिंघम पनि समाजिक सञ्जाल वा कुनै अन्य कुरामा अल्झिनुको साटो यसो घुमफिरका लागि समय निकाल्छन् । घुम्न निस्कदा उनी कहिल्यै पहिलेजस्तो कानमा एयरफोन घुसाएर समाचार सुन्ने वा किताब अंश सुन्ने वा पोडकास्ट सुन्ने गर्दैनन् । साथै, उनले टेलिभिजन र फोनको प्रयोग पनि निकै कम गरिसके ।

प्राध्यापक एमी फ्राइसको भनाइ छ, ‘हामी बढीभन्दा बढी क्रिएटिभ हुन चाहन्छौँ भने यस्तो काममा बढी गर्नुस्, जसमा दिमागलाई दबाब दिनु नपरोस् । जस्तो, खाली समयमा आफैँसँग कुरा गर्ने या टहल्न निस्कनेजस्ता कुरालाई बढी ध्यान दिनुस् । दिउँसो खाली बसेर सपना देख्ने प्रयास गर्नुस् । जुन सपना तपाईं देख्नुहुन्छ, तिनलाई पूरा गर्नका लागि दिमागलाई केही शान्तिको समय दिनुस् । सन्तुलित आहार खानुस् । नियमित रुपमा वर्जिस गर्नुस् ।

सबैभन्दा बढी आवश्यक कुरा चाहिँ बढीभन्दा बढी गहिरो निद्रामा सुत्नुस् । तपाईंले ती सबै काम गर्नुभयो भने तपाईंलाई क्रिएटिभ हुनबाट कसैले पनि रोक्न सक्तैन ।

तपाईंले आफ्ना लागि खाली समय निकाल्नुस् । आफैँसँग कुरा गर्नुस् । आफ्नो दिमागलाई सुख दिनुस् । सपना देख्नुस् । दिमागलाई समय दिनुस् ताकि तिनले तपाईंको सपना पूरा गर्न खटेर काम गर्न सकून् ।

प्रकाशित: २९ चैत्र २०७६ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App