५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

काम मात्र होइन, अब आराम पनि !

ड्यानियल डेमिट्रियो, बिबिसी वर्कलाइफ

हिदेयुकीले गएको एक वर्ष यता कति छुट्टि लिए, त्यो छुट्टि उनी औँलामा गन्न सक्छन् । छोरीलाई विद्यालयमा भर्ना गर्न अप्रिलमा एक दिन बिदा लिएका थिए र नोभेम्बरमा आधा–आधा दिनका दुई छुट्टि मागेका थिए । यी बिदा पनि उनका लागि सामान्यभन्दा बढी नै हो ।

टोक्योको एउटा टेक्नोलजी कम्पनीमा काम गर्ने ३३ वर्षीय यी इन्जिनियर खासमा भन्ने हो भने विभिन्न शीर्षकका २० बिदा त वर्षभरिमा लिनै पर्ने हो । तर जापानका श्रमिकहरु बढीभन्दा बढी बिदा लिए भने अपहेलित हुन थाल्छन् किनभने जापानका कार्यालयहरुमा बिदा बस्ने संस्कृति नै छैन ।

हिदेयुकीका दुई सन्तान छन्, एउटा ६ वर्षे र अर्को ४ वर्षे । तिनको रेखदेखका लागि उनकी पत्नीले जागिर नै त्यागेकी छन् । उनले पत्नीलाई सघाउन पाउँदैनन् किनभने बिदाको फारम अफिस म्यानेजरका अघिल्तिर सार्नेबित्तिकै म्यानेजरले तथानाम गाली गर्न थाल्छ । नराम्रो सुन्नुभन्दा काम गरिरह्यो, आनन्द !
छुट्टि नलिने संस्कृति जापानमा यति धेरै छ कि यो एक किसिमको महामारी नै बन्न पुगेको छ ।
नयाँ सरकारी तथ्याङ्कले २०१८ मा श्रमिकहरुले आफ्नो वार्षिक बिदामा ५२.४ प्रतिशत मात्र उपयोग गरेका छन् । यसको मुख्य कारण चाहिँ अपराधबोध नै हो ।

‘छुट्टि लिने एक्लो व्यक्ति’
‘जापान’ र ‘बिदा’ यहाँको बडो अमिल्दो विषय हो । जापान लगातार काम गर्ने संस्कृति र कामबाट बिदा नै नलिने संस्कृतिका लागि चिनिन्छ । कामपछि कर्मचारीले रात्रिकालीन अन्तिम रेल मात्र पक्डेर घर पुग्छन् ।
जापानमा नै सन् १९७० को दशकमा ‘कारोशी’ शब्द जन्मिएको थियो । यसको अर्थ हो, ‘काम गर्दागर्दै मर्नु ।’ दुर्भाग्यले आज पनि जापानमा यस्तै हुन्छ ।
हितोत्सुबासी विश्वविद्यालयमा मानव संशाधनका प्राध्यापक हिरोशी ओनो जापानको काम गर्ने संस्कृतिका विज्ञ हुन् । उनी भन्छन्, ‘पश्चिमी समाज व्यक्तिवादी छ तर जापानी समाज सामूहिकतावादी छ ।’
‘कयौँ मानिस बिदा किन लिँदैनन् भने तिनका मालिक पनि बिदा लिँदैनन् या तिनको सामूहिक सद्भाव बिथोलिने डरका कारण बिदा मनाउँदैनन् ।’

हिदेयुकीजस्ता प्राविधिक श्रमिकका लागि छुट्टि नलिनु कामकाजी जीवनको सामान्य अंश हो । उनी भन्छन्, ‘मैले परिवार, स्वास्थ्य र खुसीमा बिदा नलिनुको कस्तो असर पर्छ भनेर कहिल्यै सोचिनँ ।’

उनको कम्पनीमा करिब ३० जना कर्मचारी छन् । मानसिक रोगका कारण एक जना सहकर्मीले पहिलेदेखि नै लामो समय बिदा लिएका थिए र त्यसै पनि काम गर्ने मानिसको अभाव छँदैछ । यस्तो बेलामा उनी बिदा लिएर अरुलाई तनाव थप्न चाहँदैनन् । यस्तोमा उनलाई के लाग्छ भने यदि एक जना मानिसले पूरै दिनको बिदा लियो भने अन्य कर्मचारीमाथि बोझ बढ्छ ।

‘म्यानेजर बिदा लिँदैनन्, उनी राति अबेरसम्म काम गरिरहेका हुन्छन् । अरु कामदारले पनि बिदा लिएका छैनन्, उनीहरु पनि अबेरसम्म काम गरिरहेकै देखिन्छ । यस्तो अवस्थामा म मात्रै बिदा लिएर चाँडै निस्कनु ?’ हिदेयुकी आफ्नो बाध्यता सुनाउँछन् ।
हिदेयुकीकी पत्नी सयाका भन्छिन्, ‘उनी बिरामी नै भए पनि बिदा लिँदैनन् ।’

३८ वर्षीय त्सुयोशी गुनमा प्रान्तको एउटा रेस्टुराँ बिजनेसको फ्रन्ट डेस्क चिफ हुन् । उनी चार वर्षयता सो रेस्टुराँमा काम गरिरहेका छन् । उनलाई वार्षिक कति बिदा पाइन्छ भन्ने अहिलेसम्म थाहा छैन ।
‘मैले बढीभन्दा बढी बिदा लिएको भनेको वर्षमा दुई दिन हो,’ उनले सुनाए, ‘पछिल्लो समय मैले अगस्त महिनामा बिदा लिएको थियो र त्यो पनि म बिरामी परेकाले र ज्वरोले थलिएकाले जान पाइनँ ।’ सामान्यतः जापानमा बिरामी बिदा पाइँदैन किनभने प्रायः मानिसहरु बिरामी नै पर्दैनन् ।

बिदा लिनेबारेमा जब साथीभाइसँग सोधिन्छ, त्यो बेला साथीभाइले पनि नकारात्मक प्रतिक्रिया नै दिनेगर्छन् । उनीहरुले अगाडि त केही भन्दैनन् तर अनुपस्थितिमा अनेकन् नराम्रा कुरा गर्छन् । त्यसैले पनि पाउने बिदा पनि लिएको देखिँदैन । ‘हाम्रो संस्कृतिमा तपाईंले बिदा लिनु हुन्न र कडा मिहिनेत गर्नुहुन्छ भने तपाईंलाई असल मानिन्छ,’ त्सुयोशी भन्छन्, ‘बिदा लिनुलाई यहाँ एकदमै नराम्रो मानिन्छ ।’

सरकारको दबाब
जापानमा काम गर्ने संस्कृतिलाई प्रधानमन्त्री सिन्जो आबेले एजेन्डाहरुमा सबैभन्दा माथि राखेका छन् । सरकारको नयाँ काम गर्ने शैलीमाथि रिफर्म बिलमा यसको झलक पाइन्छ । यो नयाँ ऐनलाई संसद्ले सन् २०१८ मा पास गरेको थियो र अप्रिल २०१९ बाट लागू गरिएको थियो । यो ऐनले जापानमा काम गर्ने तरिकालाई आधुनिक बनाउने प्रयासको आधारभूत कार्य हो भनिएको छ । यसमा प्रमुख आठ श्रम कानुनलाई संशोधन गरिएको छ । जसमा जुन कर्मचारीको खातामा कमभन्दा कम १० बिदा बचेको छ, तिनले अनिवार्य रुपमा कम्तीमा पाँच दिन बिदामा बस्नैपर्ने नियम लगाइएको छ ।

सन् २०२० सम्म जापानी सरकारले वार्षिक रुपमा कम्तीमा ७० प्रतिशत वचत बिदा खर्च गर्ने प्रवृत्ति बढाउने लक्ष्य राखेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको वर्क एन्ड लाइफ हार्मोनाइजेसन विभागका निर्देशक सुसुमु ओदा भन्छन्, ‘श्रमिकहरुलाई मानसिक र शारीरिक रुपमा तरोताजा राख्नका लागि बिदा अत्यन्त महत्वपूर्ण छ ।’
उनी थप्छन्, ‘यो व्यवस्था गएको अप्रिलयता लागू भइसकेको छ । अहिले नै यसको प्रभाव कत्तिको पर्‍यो । हामीले पोस्टर र पर्चा बनाएका छौँ । कर्मचारी र कम्पनी दुवै पक्षलाई छुट्टि प्रोत्साहित गर्न अपिल गरेका छौँ ।’

पिँढीबीच अन्तर
जापानीहरुलाई काम गर्ने बानी यति गहिरोसँग बसेको छ कि त्यसलाई परिवर्तन गर्नु चुनौती नै छ किनभने यो बानी समाजमा जरो गाडेर बसेको छ ।

ट्राभल बुकिङ कम्पनी एक्सपिडियाको अध्ययनले यही देखाएको छ । सन् २०१८ को रिपोर्टमा वार्षिक रुपमा बिदा लिने मामिलामा जापान १९ देश र क्षेत्रमध्ये सबैभन्दा न्यून स्तरमा थियो ।

यहाँका श्रमिक आफ्नो वार्षिक बिदाको आधा मात्र बिदा लिन्छन् । त्यसै पनि वर्षमा जम्मा २० दिन बिदा तोकिएको छ । तीमध्ये १० मात्र खर्चने गर्छन् । ५८ प्रतिशत जापानी कर्मचारी बिदा लिँदा आफूलाई अपराधबोध गर्छन् ।
४३ प्रतिशत कर्मचारीलाई मात्र तिनको बोस बिदा दिन सहयोगी र मनकारी रहेको धारणा राख्छन् । संसारभरिको तुलनामा यो निकै न्यून हो ।

जापानमा एक्सपिडियाको जनसम्पर्क प्रमुख अकिना मुराई भन्छिन्, ‘पिँढीहरुबीचको स्पष्ट अन्तरका कारणले यस्तो देखिएको हो ।’

१८ वर्षदेखि ३४ वर्षसम्मका ६२ प्रतिशत जापानीलाई उनीहरु बिदाबाट वञ्चित रहेको धारणा राखिरहेका बेला ५० भन्दा माथि उमेरका समूहले त्यस्तो महसुस गर्ने जम्मा ४० प्रतिशत मात्र छन् ।
पिँढीबीचको यो अन्तरले युवा कर्मचारी बढी बिदा चाहने तर तिनका वरिष्ठ अधिकारीहरु बिदालाई अनावश्यक ठान्ने गर्छन् । यो सोचको अन्तरका कारण युवाहरुले बूढाहरुलाई रुचाउँदैनन् भन्ने पनि देखाएको छ ।
योशी कोमुरो ती व्यक्तिमध्येका एक हुन्, जसले यस्तो धारणा परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । उनी टोक्योको सल्लाहकार कम्पनी वर्क लाइफ ब्यालेन्सका संस्थापक हुन् ।

उनले प्रधानमन्त्रीको कार्यालय र जापान पोस्ट कुरियरलाई पनि सल्लाह दिएका छन् । ती कम्पनीले माथिल्ला र वरिष्ठ अधिकारीहरुको एउटा भिडियो जारी गरेका छन्, जसले कामका कारण परिवारको स्नेह अभाव गरिरहेको कुरा बताइएको छ ।

जापानमा वार्षिक बिदाको दर कम हुनुका कारणबारे कोमुरो भन्छिन्, ‘भित्रसम्म हेर्ने हो भने कर्मचारी अभावका कारण बिदा कम दिइएको हो भन्ने नै लाग्दैन किनभने उनीहरु एकअर्कालाई सहयोग गर्दैनन् । यसको बानी नै छैन उनीहरुमा र त्यस किसिमको प्रशिक्षण अभावका कारण यस्तो भएको हो ।’

‘कर्मचारीले एकआपसमा सकारात्मक संवाद थाले, पाएका सूचना आदान प्रदान गरे, एकअर्कालाई सहयोग गरे अनि छुट्टिका कारण काममा नराम्रो असर नपरेको पुष्टि गर्न थालेदेखि सहयोगी साथीहरुले बढीभन्दा बढी बिदा लिन्थे होलान्,’ उनले भनिन् ।

योशी कोमुरोले एक ठूलो कम्पनीको वातावरणलाई खुला र सहज बनाउन सहयोग गरेका थिए । त्यहाँका कर्मचारीले यतिबेला आफ्नो कार्यशैली परिवर्तन गर्न चर्चा गर्न सहज महसुस गर्न थालेका छन् ।

यसको परिणाम के भयो भने, ओभर टाइम गरिने घण्टा १५ प्रतिशतले कम भयो भने छुट्टि लिने दर ६१ प्रतिशतसम्म बढ्यो । नयाँ कानुनका कारण जापानी श्रम कानुनको इतिहासमा ठूलो परिवर्तन ल्याएको योशी कोमुरोको धारणा छ तर बिदाको दर कम हुनु देशकै कार्यशैलीको एउटा पाटो मात्र हो ।

वास्तविक परिवर्तन ल्याउनका लागि देशमा जन्मदर बढाउनुपर्ने, सन्तानको जन्मका बेला पिताले पनि बिदा पाउनुपर्ने अनि महिला तथा वृद्धवृद्धाअनुकूलको माहोल बनाउनुपर्ने जस्ता कुरामा पनि जोड दिनुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘जापान परिवर्तन हुन थालेको छ तर परिवर्तन सहज भने छैन ।’

बचेको बिदालाई श्रद्धाञ्जली
कार्यालयमा काम गर्ने शैली परिवर्तन गर्नका लागि आधारभूत तवरमा पनि परिवर्तन गर्ने प्रयास भइरहेको छ ।
ओसाकामा एक बौद्ध भिक्षुले बचेको बिदा शोक मनाउनका लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिन् । यसमा छुट्टिबाट वञ्चित जापानका श्रमिकहरुले गुमाएको सपनालाई श्रद्धाञ्जली दिइएको थियो ।

३०० भन्दा बढी लालटीन बालिएको सो कार्यक्रममा सबै कर्मचारीले एकएक सन्देश लेखेका थिए, जसमा वर्षौंदेखि छुट्टि नलिँदाका बखत उठेका भावनाहरु लेखिएको थियो । एउटा सन्देशमा लेखिएको थियो, ‘मेरो छोरोको बर्थडे पार्टीमा जान पाएको थिइनँ र जुन दिन बिदा पाएँ, त्यो दिन मैले छोरालाई शुभकामना दिएँ ।’

अर्को एउटा सन्देश थियो, ‘हजुरबा–हजुरआमाको मृत्युका बेलामा मैले उहाँहरुलाई ‘गुडबाई’ भन्न सकिनँ र एकै पटक ९० प्रतिशत बिदा नलिईकनै अवकाशको उमेरमा पुगेँ ।’ सो कार्यक्रमका पछाडि ओसाकाको विज्ञापन कम्पनी निंगेन इन्क थियो । यस कम्पनीको क्रिएटिभ डाइरेक्टर शिबोरु यामने भन्छिन्, ‘लालटिनमार्फत् मानिसहरुले बिदा भएको भए जीवनमा के के काम गर्थे होलान् भन्ने तिनको कल्पना जीवित पार्न हामी चाहन्थ्यौँ ।’

‘कयौँ अवस्थामा काम गर्ने क्रूर माहोलका कारण मानसिक रोग र कतिपय अवस्थामा कामदारको मृत्युसमेत हुने गरेको छ र यो जापानको निकै ठूलो समस्या हो,’ उनले भनिन् । गएको सेप्टेम्बरमा जापानमा पर्यावरण मन्त्री सिन्जिरो कोइजुमीले आफ्नो सन्तान जन्मिएको अवसरमा पितृत्व बिदा लिने कुरा गर्दा जनताले ठूलो विरोध गरेका थिए । कतिपयले उनको राजिनामासमेत मागेका थिए ।

हितोत्सुबासी विश्वविद्यालयका प्राध्यापक ओनोका अनुसार युवापुस्ता नै अब यस किसिमको सोचबाट निकाल्ने औजार हुनसक्छन् । युवा पुस्ताले पुरानो पुस्ताको काम गर्ने तौरतरिकालाई विद्रोह गरिरहेका छन् ।
उनी भन्छन्, ‘सामाजिक सर्भेक्षणबाट हामीले त्यस किसिमको संकेत पाइरहेका छौँ कि युवा श्रमिक बूढा कर्मचारीझैँ बढीभन्दा बढी काम गर्ने पक्षमा छैनन् ।’

‘वास्तवमा राति अबेरसम्म काम गर्ने संस्कृति शोवा काल (१९२६–१९८९)को देन हो । यसको शुरुवाती अवस्थामा पुरुषहरुले खटेर काम गर्ने र घरमा तिनका पत्नीले सबै कुराको रेखदेख गर्ने एउटा मान्यता स्थापित भएको थियो,’ इतिहास केलाउँदै प्राध्यापक ओनो भन्छन्, ‘अब यो कुरा पुरानो भइसक्यो । काम गर्ने शैलीमा सुधार हुन जरुरी छ । जब यो पूर्ण रुपमा कार्यान्वयन हुन्छ, अनि मात्र शोवा–शैलीले अन्तिम बिदाई पाउनेछ ।’

प्रकाशित: २८ चैत्र २०७६ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App