डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
आगो, पानी, हावा, आकाश पञ्चतत्वका चार तत्व हुन् । चार तत्वसँग माटो थपिएर पञ्चतत्व बनेको हो । आधुनिक चिकित्साको उपचार विधि सुरु हुनुभन्दा अघिदेखि नै माटोबाट उपचार गरिने चिकित्सा विधि अपनाइएको पाइन्छ । करिब अढाइ सय वर्ष अघिबाट माटोको प्रयोग गरी उपचार विधि अपनाएको पाइन्छ । ग्रिसबाट सुरुआत भएको यो चिकित्सा विधि युरोपका विभिन्न देश हुँदै विश्वभर नै प्रचलनमा आउन थालेको देखिन्छ ।
अफ्रिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण एसियाजस्ता क्षेत्रका आदिवासी–जनजातिले परम्परागतरुपमैै माटोको प्रयोग गरी विभिन्न किसिमका रोगको उपचार गरेको इतिहास पाइन्छ । पूर्वीय दर्शनको आयुर्वेदमा पनि माटोको प्रयोग गरी प्राकृतिक उपचारात्मक विधिको बारेमा उल्लेख छ । जसअनुसार यो विधिअहिले पनि प्रयोगमा छ ।
‘डेड सी’मा डुबिँदैन
एउटा समुद्रको बारेमा जानकारी लिऔं । इजरायलको ‘मृत सागर (डेड सी)’ को पिँधमा रहेको लेसाइलो माटोले शरीरमा लेपनगरी प्राकृतिक उपचार गर्ने विधि त्यहाँ अत्यन्तै लोकप्रिय छ । यो सगरको माटो त्यहाँको स्थानीय तहमा मात्रै हैन, अन्य मुलुकमा पनि बिक्री हुन्छ । मृत सागरको माटोलाई ‘डेड सी’ का नामले चिनिन्छ । यो सागरको माटो शरीर तथा अनुहारको सुन्दरतका लागि प्रयोग गरिन्छ । डेड सीकोे माटोको प्रयोग गर्दा शरीरमा घाउखटिरा आउन नदिनुका साथै अनुहारको चमकता आउनमा सहयोग मिल्छ । डेड सी सागरमा नुहाउनाले समेत शरीरको छाला स्वस्थ हुन्छ ।
सुरुमा डेड सीको माटो शरीरमा लगाउँदा चहर्याउनुका साथै हल्केला पोल्छ, तर नुहाइसकेपछि भने शरीर नै हल्का भएको अनुभूति हुन्छ । डेड सी संसारको सबैभन्दा गहिरो ठाउँमा पर्ने भाग हो । त्यो समुद्र बडो रमाइलो किसिमको छ । समुद्रको गहिराइसम्मको भागमा पुग्दा पनि मान्छे डुब्दैन । पानीमाथि नै तैरिन्छ । समुद्रमा नुनिलो पानी धेरै भएका कारण नुनमा हुने सोडियम तत्वका कारणले व्यक्तिको शरीरलाई पानीमाथि तैर्याउँछ ।
जनावर र मान्छेको उपचार
माटो चिकित्साको महत्व भएकै कारण आजभन्दा आधा सताब्दीअघि आधुनिक चिकित्सा विधि शास्त्रको अध्ययन गर्ने पाठ्यक्रममा पनि ‘माटो चिकित्सा’लाई समेटियो । हामीले देखेका हुन सक्छौँ गाउँ–घरमा गाई–गोरु तथा भैंसी–राँगालाई खुरमा किटाणु लागेको अवस्थामा खुर डुब्नेगरी हिलोमा राखिन्छ । यसरी खुरमा किटाणु लाग्ने रोगलाई खोरेत भनिन्छ । माटोमा हुने तत्वका कारण खुरमा लागेको किटाणु मर्नुका साथै घाउ पनि कम हुन्छ ।
त्यसैकारण जनावरको उपचारका लागि मात्रै हैन, मान्छेको उपचारका लागि पनि माटो उपयोगी प्राकृतिक विधि हो । वैकल्पिक चिकित्सा तथा प्राकृतिक चिकित्सा उपचार विधि अपनाउँदा यो विधि उपयोगी विधि हो ।
शुद्ध माटो शरीरमा लेपन
माटो चिकित्सा विधिले उपचार गर्दा जमिनको माथिबाट(बाहिरी सतहबाट) तीनदेखि पाँच फिट गहिराइ हुनेगरि खनिन्छ । पाँच फिट गहिराइ भन्दा तलको कुनै रासायनिक तथा अम्लियतत्व नमिसिएको माटो निकालिन्छ । चिम्टिया (लेसाइलो) माटोलाई सुकाएर धुलो बनाइन्छ । यसरी धुलो बनाएर सुकाउँदा माटोमा जीवाणु तथा किटाणु भएको अवस्थामा समेत माटो शुद्ध हुन्छ ।
धुलो बनाइसकेपछि माटो चालेर ढुंगा तथा बालुवाको भाग छुट्याएर मसिनो मैदाजस्तो धुलो पारिन्छ । यस्तो मसिनो धुलो तयार गरिसकेपछि उपचारको आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । व्यक्तिको शारीरिक समस्याको उपचारको प्रकृतिअनुसार धुलो माटोलाई विभिन्न आकार–प्रकारमा तयार गरिन्छ । कुनै माटो पानी मिसाएर राम्रोसँग माडी रोटी आकारको बनाइन्छ । कुनै पोखरीमा हाली लेदो बनाइन्छ । कतिपय अवस्थामा भने भाँडोमा माटो पानीमा फिटेर हल्का लेदो बनाइ व्यक्तिको शरीरमा लेपन गरिन्छ ।
पाचन प्रक्रियाको गडबडीका कारण हुने ग्यास्ट्रिक, पेट पोल्ने, खाना नपच्ने, अल्सरजस्ता पेटसम्बन्धी समस्याका लागि माटोको प्रयोग गरिन्छ । यस्तो समस्या हुँदा व्यक्ति उत्तानो परेर सुत्ने । त्यसपछि पातलो कपडामा माटो राखेर फिजाई रोटीजस्तै बनाइन्छ । रोटीजस्तै बनाएको माटो कपडासहित पेटमाथि राखिन्छ । बाहिरी वातावरणमा हुने विभिन्न किसिमका संक्रमणबाट बच्नका शरीर ढाक्नेगरी माथिबाट कम्मल वा बाक्लो कपडा ओडिन्छ । करिब २० मिनेट पेटमाथि माटो राख्दा पेटमा प्राकृतिक रुपमा शीतलता प्रदान गरी पाचन प्रक्रिया सहजबनाउन मद्दत पुग्छ । त्यति मात्रै हैन छाती, ढाड, कम्मर, काँधलगायत शरीरका अंगमा हुने समस्याका लागि यो विधि अपनाउन सकिन्छ ।
छाला स्वस्थ
छाला चिलाउने, लुतो आउने, विभिन्न किसिमका घाउखटिरा हुने तथा सुन्दरताका लागि पनि माटोको प्रयोग गर्न सकिन्छ । छालाको समस्याको उपचारका लागि प्रभावित भागमा भिजाइएको माटोको लेपन लगाइन्छ । ब्रस्ले लेदो माटोको लेप लगाइन्छ । शरीरभरि लागाउन पनि सकिन्छ । माटोको लेपन लगाइसकेपछि करिब १५ मिनेट शरीरमा लगाएको माटो सुक्न दिनुपर्छ । सुकिसकेपछि सहन सक्ने किसिमको तातो पानीले नुहाउनुपर्छ । तातोपानीले नुहाउनाले शरीर त सफा हुन्छ नै संक्रमित छालासमेत ठिक हुन्छ ।
यसरी छालामा माटोको लेपन लगाउँदा छालामा भएका किटाणु मर्छन् । त्यति मात्रै हैन माटोमा हुने तत्वका कारण छालाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । जसका कारण छाला स्वस्थ हुनुका साथै छालामा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । माटोको प्रयोगले छालाको दुर्गन्ध, काखी गन्हाउने, खुट्टा गन्हाउनेजस्ता समस्याबाट बच्न सकिन्छ ।
त्यसैगरी हाडजोर्नी, बाथ, युरिकएसीडजस्ता समस्याका लागि यो विधि अपनाउन सकिन्छ । मानसिक तनाव भएको अवस्थामा टाउकामा माटो लगाउनाले तनाव व्यवस्थापनमा सहयोग मिल्छ । जसले व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फुर्तिलो रहन सहज हुन्छ ।
कस्मेटिक्समा फेसियलका रुपमा ‘मुलतानी’ नामक माटो प्रयोग गरिन्छ । यस्तो माटो नेपालमै बनाएर तयार गरी फेसियलका रुपमा प्रयोग गर्न सकिन्छ ।
संक्रमणबाट बच्न सकिन्छ
माटोमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, आइरन, बोरन, कप्पर र जिङ्कजस्ता तत्व पाइन्छन् । माटोमा हुने यस्ता तत्वले पहिलो कुरा त छालामा संक्रमण हुन दिँदैन, अर्को कुरा छालामा संक्रमण भएको छ भने संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्छ । तर माटो भने शुद्ध र लेसाइलो हुनु पर्छ ।
यस्तो माटोबाट संक्रमित हुने सम्भावनाकम हुन्छ । माटोबाट गरिने प्राकृतिक उपचार विधि बालबालिका बाहेक वयस्क तथा पाको उमेर समूहका व्यक्तिले गर्न सकिन्छ । स्वस्थ व्यक्तिले एक महिनामा एकपटक यस्तो उपचार विधि अपनाउन सकिन्छ । अनुहारमा यो विधि अपनाउनाउँदा अनुहारको छालामा हुने विकार तत्व बाहिर गई छालामा चमकता आउँछ । माटोबाट विभिन्न किसिमका प्राकृतिक उपचार विधि अपनाउन सकिन्छ ।
प्रस्तुति : उपेन्द्र खड्का
प्रकाशित: २६ चैत्र २०७६ ०७:३४ बुधबार