तटस्थ दृष्टिले जीवन बिताउनेहरुका लागि आदर्श पात्र हुन् राम । युवराजबन्दा समेत उनको अनुहारमा कुनै रागको भाव थिएन । त्यसबेला उनी खुसीले अहङ्कारी बनेनन् । वनमा जाँदा पनि उनको अनुहारमा कुनै उदासी देखिएन । सबै अवस्थामा उनी सामान्य र सरल बनिरहे ।
सबै विषम परिस्थितिहरुमा रामले आफ्नो नीति उल्लंघन गरेनन् । राजा हुँदा आफ्ना भावना र सुखबाट परै बसेर न्यायपूर्वक शासन गरे । वनबास जाँदा, बालीको वध गर्दा, रावणको संहार गर्दा, सीतालाई तपोवन पठाउँदा– सबै अवस्थामा उनी भावको अधिनमा परेनन् ।
रामका यिनै गुणहरुले गर्दा उनलाई मर्यादा पुरूषोत्तमका रुपमा सम्बोधन गर्ने गरिन्छ । मर्यादा भनिनुको कारण हो, उनले कहिल्यै पनि आफ्नो मर्यादा तोडेनन् । सबैभन्दा उत्तम पुरूष मानेर उनलाई पुरूषोत्तम भन्न थालियो ।
वचन पूरा गर्न वनबास :
रामायणको कथाअनुसार अयोध्याका राजा दशरथका तीन पत्नी थिए– कौशल्या, सुमित्रा र कैकेयी । उनीहरुका चार छोरा थिए । कौशल्याबाट जन्मिएका जेठा छोरा थिए, राम । लक्ष्मण, भरत र शत्रुघ्न रामका सौतेनी भाइहरु थिए । लक्ष्मण र शत्रुघ्न सुमित्राका छोरा थिए भने भरत कैकेयीका ।
रामका बुबा दशरथले आफ्नी कान्छी पत्नी कैकेयीसँग उनका कुनै दुई इच्छा पूरा गरिदिने वचन दिएका थिए । कैकेयीलाई रघुकुलका मान्छेहरुले आफ्नो वचन जसरी पनि पूरा गर्छन् भनेर थाहा थियो । त्यसैले उनले कुनै बेला आवश्यक परेमा मागौँला भनेकी थिइन् । त्यस बेला उनमा रामलाई वनबास पठाउने कुनै योजना थिएन । उनी रामलाई प्रेम गर्थिन् ।
कैकेयीलाई उनकी दासी मन्थराले भट्काइन् । बिस्तारै उनमा आफ्नो छोराप्रति मोह बढ्यो । दशरथले दिएको वचनले आफ्नो छोरा भरतलाई अयोध्याको राजसिंहासनमा राख्न सकिन्छ भन्ने उनलाई लाग्यो । छोराको मोहमा परेर उनले भरतलाई राजा बनाउन र रामलाई चौध वर्ष वन पठाउन माग गरिन् ।
दशरथ राम वनबास जाऊन् भन्ने चाहँदैन थिए । आफ्नो वचन खेर जाओस् भन्ने पनि चाहँदैन थिए । उनले रामलाई वनबासबाट रोक्न र आफ्नो वचन पनि पूरा गर्न हरसम्भव प्रयास गरे । आफूलाई रामले बन्दी बनाऊन् र राम आफू राजा बनून् भनेर पनि चाहे । रामले बुबालाई बन्दी बनाएर बुबाको वचन तोड्न चाहेनन् र बुबाको वचन राख्नैका लागि वनबास जान तयार भए ।
एक आदर्श पति :
मंसिर महिनाको शुक्ल पक्षको पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो । विवाह हुँदा सीताको उमेर ६ वर्षको थियो । विवाहपछि सीता १२ वर्षसम्म अयोध्यामा रहिन् । वनबास जाँदा उनी १८ वर्षकी थिइन् । राम र सीताको उमेरमा ७ वर्षको फरक थियो ।
विश्वामित्रले सीतासँग भेट गराउन रामलाई राजा जनककहाँ पुर्याएका थिए । रामले वाण चढाउने क्रममा शिवधनुष भाँचिएपछि आफ्नो प्रतिज्ञाअनुसार जनकले रामसँग सीताको विवाह गराइदिएका थिए ।
रावणले सीतालाई अपहरण गरेपछि सीताले दुई वर्ष रावणको अशोक बाटिकामा दिन बिताउनुपरेको थियो ।
यही विषयलाई लिएर रावण र रामको बीचमा युद्ध भयो । त्यही बेला रामका सेनामा भ्रम फैलाउने उद्देश्यले रावणका छोरा मेघनादले मायावी सीताको रचना गरे र आफ्नो रथको सामुन्ने बसाएर रणक्षेत्रमा घुमाउन थाले । बाँदरहरुले मायावी सीतालाई साँच्चै सीता ठानेर मेघनादमाथि प्रहार गरेनन् ।
पछि मेघनादले मायावी सीताको कपाल समातेर आफूतिर ताने र सबैको सामुन्ने दुई टुक्रा गरिदिए । यो दृश्य देखेर बाँदर–सेनामा निराशा फैलियो । जसका लागि युद्ध गरिरहेको हो उनै सीताको मृत्यु भएपछि युद्ध गर्नुको के अर्थ भन्ने सबैलाई लाग्यो । सीताको मृत्युको खबर रामले पनि सुने । सुन्नेबित्तिकै उनी अचेत भए ।
रामको चेतना फर्केपछि लक्ष्मण र हनुमानले उनलाई अनेक तरिकाले सम्झाए । विभीषणले उनीसँग भने, “रावणले कहिल्यै पनि सीतालाई मार्ने आज्ञा दिन सक्दैन । त्यसैले यो मेघनादको माया प्रदर्शन हो भन्नेमा कुनै शङ्का छैन ।”
केही समय अझै युद्ध चल्यो र रावण मारिए ।
युद्ध सकिएर अयोध्या फर्केपछि रामको राज्याभिषेक भयो । तर योे खुसी लामो समय टिक्न सकेन । दुई वर्ष रावणसँग रहेकी सीताप्रति समाजको एक वर्गमा सन्देह उत्पन्न हुन थालेको थियो । मानिसहरुलाई सीता पहिलेकै जस्तो पवित्र छिन् भन्नेमा विश्वास भएन ।
केही समयपछि मन्त्रीहरु र दुर्मुख नामक एक गुप्तचरले जनताले सीतालाई हेर्ने दृष्टिकोणका बारेमा रामकहाँ खबर पुर्याए । गुप्तचरका अनुसार जनतालाई सीताको पवित्रताको विषयमा शङ्का थियो । सीता र रामका विषयमा कुरा काट्ने गरिन्थ्यो । त्यस बेला सीता गर्भवती थिइन् । राम र अन्य मानिसद्वारा सीताले पनि यो कुरा थाहा पाइन् । सबैले अग्निपरीक्षा दिनुपर्छ भनेको उनले सुनिन् । राम र समाजले आफूमाथि शङ्का गरेको ठानेर सीतालाई ग्लानि, अपमान र दुःखको अनुभव भयो । विचलित हुँदै उनले चिता तयार गर्ने आदेश दिइन् ।
अग्निले सीतालाई जलाएन र अग्निदेव प्रत्यक्ष प्रकट भएर सीतालाई रामको सामुन्ने प्रस्तुत गर्दै उनी हरेक तरिकाले पवित्र भएको बताए । रामले प्रसन्न भावले सीतालाई ग्रहण गरे र अब अग्नि परीक्षापछि सीतामाथि शङ्का गरिनु उचित नभएको बताए ।
अग्नि परीक्षापछि पनि जनतामा थरिथरिका कुरा हुन छाडेनन् । तब रामले सीतालाई छाड्ने मनसाय बनाए । एक दिन सीताले रामसँग तपोवन घुम्ने इच्छा व्यक्त गरिन् । रामले सीतालाई तपोवनमा छाडेर आउन लक्ष्मणलाई अह्राए । त्यहाँ सीतालाई वाल्मीकि ऋषिले आफ्नो आश्रममा स्थान दिए ।
लक्ष्मण सीतालाई तपोवनमा छाडेर अनुहार झुकाउँदै दरबारभित्र छिर्दा राम दुःखी भएर सिंहासनमा बसेका थिए । उनका आँखाबाट आँशु बगिरहेको थियो ।
रामलाई दुःखी देखेर लक्ष्मणले उनका दुवै खुट्टा समाते र हात जोडेर भने– “महाराजको आज्ञा मानेर मैले शुभ आचार भएकी सीतालाई गङ्गाको तटमा ऋषि वाल्मीकिको आश्रमनजिकै निर्दिष्ट स्थानमा छाडेर फेरि तपाईंको चरणको सेवाका लागि आएको छु । तपाईं शोक नगर्नुहोस् । तपाईंजस्तो बुद्धिमान र मनस्वी मनुष्यले शोक गर्नु हुँदैन ।”
उनले रामलाई सम्भाए, “संसारमा जति पनि सञ्चय छ त्यसको विनाश पनि हुन्छ । त्यसैले स्त्री, मित्र, धन आदिमा आसक्त हुनु हुँदैन । यी चीजसँग वियोग निश्चय छ । तपाईं आत्मा, मन र पूरै लोकलाई काबुमा राख्न समर्थ हुनुहुन्छ ।
तपाईंजस्तो पुरूष यसरी मोहित हुनुभयो भने मानिसहरुले ‘अरुको घरमा बसेकी स्त्रीको त्याग गरेर उनी त्यही चिन्तामा रातदिन दुःखी रहन्छन्’ भन्नेछन् । त्यसैले तपाईं धैर्य चित्तले एकाग्र गरेर यस दुर्बल शोकबुद्धिको त्याग गर्नुहोस् ।”
सीतालाई त्यागेर राज्य सम्हाले पनि रामले सधैँ संन्यासीको जीवन बाँचे र न्यायपूर्वक राज्य गरे ।
रामको बदनाम :
केही शोधकर्ताका अनुसार रामले सीताको त्याग गरेकै थिएनन् । उनीहरुका अनुसार सीतालाई रामले त्यागेको कुरा लेखिएको रामायणको उत्तरकाण्ड वाल्मीकिले लेखेकै होइनन् । रामायणको उत्तरकाण्ड मूल रामायणको धेरै पछि रचिएको हो । वाल्मीकि रामायण युद्धपछि समाप्त हुन्छ । पहिला यसमा ६ वटा काण्ड थिए, पछि बौद्धकालमा कैयौँ श्लोक र पाठमा भेद गरियो र नयाँ स्वरुपमा उत्तरकाण्ड प्रस्तुत गरियो । बौद्ध र जैन धर्मको उदयकालमा नयाँ धर्मलाई श्रेष्ठ बनाउनका लागि हिन्दूहरुका धेरै धर्मग्रन्थहरु हेरफेर गरियो । यही क्रममा रामायणमा कैयौँ विसङ्गति जोडियो ।
रावण र सीताको सम्बन्ध :
एकपटक रावणले आफ्नो वासना पूरा गर्नका लागि स्वर्गकी अप्सरा रम्भालाई समाते । रम्भाले उनलाई आफू रावणका दाइ कुबेरका छोरा नलकुबेरको सेवामा छु भनिन् । यसरी हेर्दा रम्भा रावणकी बुहारी हुन्थिन् । तैपनि रावणले रम्भाको साथमा दुराचार गरे । यो कुरा नलकुबेरले थाहा पाए । उनले रावणलाई श्राप दिए, “जब पनि रावणले कुनै स्त्रीको इच्छाविरुद्ध जबर्जस्ती गर्नेछ, उसको टाउको सय टुक्रामा बाँडिनेछ ।”
यही श्रापका कारण रावणले सीतालाई मनाउने प्रयास गरे, तर बलजफ्ती गर्न सकेनन् ।
आफ्नी बहिनी सूपर्णखाको कुरा सुनेर सीतालाई हेर्न आएका रावणले सीताको सौन्दर्यमा मुग्ध भएर अपहरण गरेका थिए ।
लक्ष्मणबाट अपमानित सूपर्णखाले आफ्ना दाइ रावणसँग आफ्नो व्यथा सुनाएपछि भनेकी थिइन्, “सीता अत्यन्तै सुन्दर छिन् । उनी तपाईंकी पत्नी बन्न योग्य छिन् ।”
सीता एक बहाना :
एउटी अति सुन्दर स्त्री थिइन्, वेदवती । उनी भगवान् विष्णुलाई पतिका रुपमा पाउने उद्देश्यका साथ तप गरिरहेकी थिइन् ।
एकपटक रावण आफ्नो पुष्पक विमानबाट कतै जाँदै थिए । त्यही बेला उनले वेदवतीलाई देखे । रावणले उनको कपाल समातेर आफूसँगै हिँड्न भने । रावणले जबर्जस्ती गर्न खोजेको वेदवतीलाई मन परेन र उनले श्राप दिइन्, “एक स्त्रीकै कारण तेरो मृत्यु हुनेछ ।” उनले रावणसँग जानुको सट्टा आत्मदाह गर्नु उचित सम्झिन् र अग्निमा आत्मदाह गरिन् । तिनै युवतीले अर्को जन्ममा सीताका रुपमा जन्म लिएकी थिइन् । रावणसँग बदला लिने उनीभित्रको भाव संस्कारका रुपमा कायम थियो । यो प्रसङ्ग वाल्मीकि रामायणको हो । रावणमा पनि वेदवतीसँगको घटना संस्कारका रुपमा विद्यमान थियो । यही कारणले उनले सीतालाई फेरि मन पराए ।
सीता स्वयम्बरमा पनि रावण उपस्थित थिए । त्यसबेला शिवधनुष उठाउने क्रममा उनले हारेका थिए । त्यही आफ्नो हार र सूपर्णखाको नाक काटिएको बदला लिनका लागि रावणले सीताको अपहरण गरेका थिए । साधुको रुप धारण गरेर उनले सीतालाई अपहण गरे । पछि राम–रावणको युद्ध भयो र रावणको वध भयो ।
दाइका रुपमा राम :
लक्ष्मण, भरत र शत्रुघ्न रामका सौतेनी भाइ भए पनि रामले उनीहरुलाई आफ्नै भाइ मानेर व्यवहार गरे । लक्ष्मण त वनबास अवधिभर रामसँगै थिए । भरतले पनि आफ्नी आमाको आदेश मानेनन् र रामको चरण पादुका लिएर राजगद्दीमा राखी राज्य चलाउन थाले । एकपटक लक्ष्मण मेघनादको प्रहारबाट अचेत भए । त्यसबेला सबैभन्दा पहिला रुने व्यक्ति राम नै थिए । उनले व्याकुल हुँदै आफ्नो प्रेम लक्ष्मणप्रति प्रकट गरेका थिए ।
संन्यासी राजा राम :
उनको राज्यमा पशु, मानव, दानव कसैलाई पनि भेदभाव थिएन । उनले निकै कुशलतापूर्वक राज्य गरे । त्यसैले अहिले पनि रामराज्य भन्ने गरिन्छ । पछि उनका छोराहरु कुश र लवले राज्य सम्हाले ।
साथीका रुपमा राम :
सुग्रिवका लागि राम एक परममित्र थिए । सुग्रिवको हितका लागि रामले युद्धको समयमा छल गरेर बालीको वध गरे । आफ्नो साथीको रक्षाका लागि उनले त्यस्तो गरेका थिए । उनी विभीषणको सहोगीका रुपमा पनि प्रस्तुत भए । रावणको मृत्युको भेद जानी रावणको वध गरेर रामले चाहेका भए लंकामाथि पनि राज्य गर्न सक्थे । तर उनले विभीषणको सहयोगको प्रत्युत्तरका रुपमा लंका सुम्पिए ।
एक असल विद्यार्थी :
राम एक असल विद्यार्थी पनि थिए । कुनै पनि व्यक्तिबाट ज्ञान लिन सकिन्छ भन्ने उनलाई थाहा थियो । कुनै पनि व्यक्ति सधैँ सम्पूर्ण ज्ञानी रहन सक्दैन भन्ने पनि उनलाई थाहा थियो । उनले कैयौँ मौकाहरुमा शिक्षा दिने शिक्षकहरुको सम्मान गरे । रावणको मृत्यु भएपछि उनी रावणको खुट्टातिर बसे र रावणबाट ज्ञान लिए । उनले लक्ष्मणलाई जब ज्ञानीले ज्ञान दिन्छ त्यसलाई अवश्य शिरोधार्य गर्नुपर्छ भनेर सिकाए ।
जातपातको विरुद्धमा राम :
जातपातको विरुद्धमा पनि उनले एउटा गज्जबको उदाहरण दिए । उनले शबरीको जुठो बयर खाए । त्यो पनि त्यत्ति नै लगन र चाहका साथ । रामले यस सन्दर्भमा जातपात र वर्गभेदको विरुद्ध उदाहरण पेश गरे । शबरीको नाम श्रमणा थियो । उनी भील समुदायको शबरी जातकी थिइन् । उनको विवाह एक दुराचारी व्यक्तिसँग भएको थियो ।
सुरुमा त उनले पतिलाई सुधार्ने प्रयास गरिन् तर पतिको अत्याचार कम नभएपछि उनले ऋषि मातङ्गको आश्रममा शरण लिइन् र त्यहीँ रामको भजन गरेर बस्न थालिन् ।
सीताको खोज गर्ने क्रममा राम त्यहाँ पुगे । त्यस बेला शबरी वृद्धा भइसकेकी थिइन् । ऋषि मतङ्गले ‘एक दिन राम तिम्रो कुटीमा आउनेछन्’ भनिदिएका थिए । त्यसैको आशमा उनले दिन बिताइरहेकी थिइन् ।
राम आफ्नो आश्रममा आएको थाहा पाएपछि शबरी भावविभोर भइन् र रामको चरणमा परिन् । त्यसपछि उनले हतारहतार जङ्गली कन्दमूल र बयर ल्याइन् र रामलाई दिइन् । बयर कतै टर्रो नहोस् भन्ने सोचेर उनले आफूले चाख्दै राम र लक्ष्मणलाई दिन थालिन् । भक्तिभावको सुरमा आफूले बयर जुठो हालेको छु भनेर समेत उनले थाहै पाइनन् । रामले शबरीको भक्ति देखेर बयर खाइरहे । लक्ष्मणले भने कसैले थाहा नपाउने गरी त्यसलाई फालिदिए । भनिन्छ, उनले फालेको बयर जडिबुटी बनेर उम्रियो र रावणसँगको युद्धमा रावणका छोरा मेघनादको प्रहारबाट मुच्र्छित लक्ष्मणलाई बचाउन त्यही जडिबुटी सञ्जिवनी बन्यो ।
आदिवासीहरुका भगवान् राम :
रामले आफ्नो १४ वर्षे वनबासमा धेरै ठाउँ भ्रमण गरे । त्यहाँका आदिवासी, पहाडी र समुद्री मानिसहरुबीच सत्य, प्रेम, मर्यादा र सेवाको सन्देश फैलाए । यही कारणले रामको रावणसँग युद्ध हुँदा सबै खालका अनार्य जातिहरुले रामलाई साथ दिए । त्यो समयमा कसैमा पनि जातिवादी सोच थिएन । मानिसहरु दुई भागमा बाँडिएका थिए । सुर र असुर । सुरहरुका सहयोगी यक्ष, गन्धर्व, बाँदर आदि थिए । असुरहरुका सहयोगी राक्षस, दानव, पिशाच आदि थिए ।
मर्यादा पुरुषोत्तम राम कि रावण ?
कसैकसैले राम मर्यादा पुरmषोत्तम कि रावण भनेर समेत प्रश्न उठाउने गरेका छन् । कतिपय ठाउँमा त रावणको पूजासमेत हुने गरेको छ ।
उनीहरुको तर्कअनुसार रावणले सीतालाई अपहरण गरेका कारण रामले लङ्कामा आक्रमण गरेका थिए तर रावणले सीतालाई अपहरण गर्नु जायज थियो । कारण सूपर्णखा रावणकी बहिनी थिइन् । एक राजाले आफ्नी बहिनीको अपमानको बदला लिन सक्छ ।
तर धेरैलाई थाहा नभएको कुरा हो, सूपर्णखा पनि रावणको सर्वनाश भएको हेर्न चाहन्थिन् ।
रामायणका अनुसार रावणकी बहिनी थिइन् सूपर्णखा । सूपर्णखाका पति थिए विद्युतजिह्व । विद्युतजिह्व कालकेय नामक राजाका सेनापति थिए । रावण जब विश्वयुद्धमा निस्किए, उनको र कालकेयको बीचमा युद्ध भयो । यस युद्धमा रावणले विद्युतजिह्वको वध गरिदिए । सूपर्णखाले मनमनै ‘मेरै कारण तेरो सर्वनाश हुनेछ’ भनेर रावणलाई श्राप दिइन् ।
उनलाई अन्य श्रापहरु पनि परेको थियो – रावण कुबेरमाथि विजय प्राप्त गरेर फर्किरहेका थिए । केही समयका लागि उनी कैलाश पर्वतमा रोकिए । त्यहाँ शिवका पार्षद नन्दीको कुरुप स्वरुप देखेर रावणले उनको उपहास गरे । नन्दीले क्रोधमा आएर रावणलाई जुन पशुको स्वरुप देखेर तँ यति हाँसिरहेको छस् त्यही पशु स्वरुपको जीव तेरो विनाशको कारण बन्नेछ भनेर श्राप दिए ।
युद्धकै क्रममा रावण र रघुवंश कुलका एक प्रतापी राजा अरण्यको बीचमा भयङ्कर युद्ध भयो । युद्धमा राजा अरण्यको मृत्यु भयो । मर्नुभन्दा पहिला उनले रावणलाई श्राप दिए, “मेरै वंशमा जन्मिएको एक युवक तेरो मृत्युको कारण बन्नेछ ।”
राम त्यही कुलमा जन्मिएका थिए । हुन त रावण विद्वान पनि थिए । उनलाई ज्योतिषको धेरै ज्ञान थियो । उनले ब्रह्माबाट वर पनि पाएका थिए । जसअनुसार उनलाई देवताले समेत मार्न सक्दैनथे । तर उनमा राक्षसी गुण धेरै थियो । स्वाभाविकै पनि थियो किनभने उनी एक ऋषि बुबा र राक्षसी आमाबाट जन्मिएका थिए । जन्मँदै उनको रुप डरलाग्दो थियो । पहिलोपटक आफ्नो छोरा हेर्दा बुबासमेत डराएका थिए ।
उनी विश्व विजय गर्न चाहन्थे । देवलोकमाथि विजय पाएपछि उनले यमलोकमाथि आक्रमण गरे । उनले यमराजलाई पराजित गरेर यमलोकमा विजय प्राप्त गरे र नर्क भोगिरहेका आत्माहरुलाई आफ्नो सेनामा सम्मिलित गरे । जब यमराजले रावणको प्राण लिनका लागि कालदण्डको प्रयोग गर्न चाहे, तब ब्रह्माले उनलाई यस्तो गर्नबाट रोके । ब्रह्माका अनुसार कुनै पनि देवताद्वारा रावणको वध हुन सम्भव थिएन ।
उनले देवताहरुलाई दिनसम्म दुःख दिएका थिए – उनले कुबेरसँग युद्ध गरेर लङ्कामाथि अधिकार जमाएका थिए । धनका देवता कुवेर रावणका सौतेनी भाइ थिए । रावणले कुबेरको शिरमा प्रहार गरेर उनलाई घाइते बनाइदिए र बलपूर्वक उनको पुष्पक विमान खोसे ।
उनले आफ्नो छोरालाई अजेय बनाउनका लागि नवग्रहहरुलाई मेघनाथको कुण्डलीमा सहीसँग बसून् भनेर आदेश दिएका थिए । शनिदेवले उनको कुरा नमानेपछि रावणले उनलाई बन्दी बनाएका थिए ।
रावणको दरबारभन्दा बाहिर सबै देवता र दिग्पाल हात जोडेर उभिइरहन्थे । हनुमान लङ्का जाँदा उनीहरुलाई उनले रावणको बन्धनबाट मुक्ति दिलाएका थिए । रावणको जीवनमा दुईवटा काम अधुरै रहे । एउटा, स्वर्गसम्म सुनको सिँढी बनाउने र अर्को, सुनमा सुगन्ध मिसाउने ।
राम नवमी :
रामको जन्म मनुका १० छोराहरुमध्ये एक इक्ष्वाकु कुलमा भएको थियो । उनी चैत्र शुक्ल नवमीका दिन जन्मिएका थिए । त्यही दिनलाई आधार बनाएर यस दिनलाई राम नवमीका रुपमा मनाइन्छ ।
रामको नाम जपेर मात्रै पनि धेरै सन्तहरु रुपान्तरण भएका छन् । वाल्मीकि पनि त्यसैमध्येका एक हुन् ।
प्रकाशित: २५ चैत्र २०७६ ०७:४६ मंगलबार