२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

‘गीत गाउँदा गाली खाइन्थ्यो’

सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
रात्रिकालीन  बसदेखि ठूला पार्टी, वनभोज र कार्यक्रममा खुबै बज्दै आएको गीत हो, यो। यस गीतका सर्जक हुन्, नवराज पन्त।  ‘डाँडै फुर्के सल्लो’बाट गीतसंगीत क्षेत्रमा  उदाएका नवराजले ‘मायालुको सहरमा’, ‘धौलागिरी हिमालको छाया’, ‘मिनी बसले लयो’, ‘पानपाते ठूली’, ‘चाँदी कहाँ होला’, ‘उडायो पात हुरी’ लगायत ३० भन्दा बढी गीत रचना गरेका छन्।

पछिल्लो समय नवराजको सालको पातको टपरी गीतको निकै चर्चा भयो, जुन  लोकप्रिय लोकगीतमा पर्छ। वसन्त थापाको संगीत रहेको यो गीत युट्युब, टिकटकदेखि  टेलिभिजन र रेडियोमा बज्दै आएको छ। यसमा  कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ।

बाग्लुङका नवराज गीत गाउँदा बिग्रिन्छ भन्ने परिवेशबाट हुर्किएका सर्जक हुन्। ‘गीत गाउँदा, लेख्दा र वाद्यवादन बजाउँदा शिक्षकबाट  गाली खाइने परिवेशमा हुर्किएका हौं,’ नवराज भन्छन्,  ‘मेरा गीत बजारमा चलिरहेका छन्। मनभित्रको प्रतिभालाई कसैले पनि रोक्न खोजेर रोकिन्न। सबै कुरा इच्छाशक्तिमा निर्भर हुँदो रहेछ।’

नवराज पाँच वर्षपहिले लेखिएको ‘मायालुको सहरमा’ बोलको गीत  आपूmलाई सबैभन्दा बढी मन परेको सुनाउँछन्। ‘सबै खाले गीतमा कलम चलाएँ, तर मायालुको सहरमा बोलको गीत मलाई औधी मन परेको छ,’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर  नवराज भन्छन्।  त्यस्तै, उनको चाँदी कहाँ होला गीतले  बिस्तारै उचाइ लिँदै छ। यस गीतमा प्रकाश पराजुली तथा सन्जु न्यौपाने र  रविन लामिछानेको स्वर छ।

फरक तरिकाले आम मानिसका भोगाइलाई प्रस्तुत  गर्छु। मभित्रै लोकगीतको प्यास निकै प्रगाढ छ। हृदयदेखि प्रस्फुटित भावनालाई दिमागले काँटछाँट गर्ने मात्र हो।

नवराज स्कुल पढ्दादेखि नै  लोकगीतमा रमाउँथे, लोकगीत लेख्थे। उनी  भगवान भण्डारी, प्रल्लाद सुवेदी र गायक वसन्त थापाबाट  प्रेरणा पाएको सुनाउँछन्। ‘लोक गीत मेरा लागि प्यासन हो। म लोकगीतकै छत्रछायामा हुर्किएको हुँ। जान्ने–बुझ्ने भएदेखि नै लोकगीत सुन्दै हुर्किएँ,’ नवराज भन्छन्, ‘स्थापित सर्जक प्रल्लाद सुवेदी, वसन्त थापा, भगवान भण्डारीको हौसलाले म लोकगीतमा आएको हुँ।’

माया प्रेममा पोखिन चाहने नवराज पछिल्लो समय प्रविधिका कारण लोकगीतमा विकृति–विसंगति बढेकामा चिन्तित छन्। धेरैले गीत संगीतलाई पैसासँग जोडेर व्यावसायिक बनाउँदा लोकगीतको मर्ममा ह्रास आउन लागेको उनको भनाइ छ।   तर, पैसा र व्यावसायिकताभन्दा  भावनालाई शब्दमा उतार्दै  आएको उनको भनाइ छ।

‘चलिरहेको भन्दा पनि फरक तरिकाले आम मानिसका भोगाइलाई प्रस्तुत गर्ने प्रयास गर्छु। मभित्र लोकगीतको प्यास  निकै प्रगाढ छ। हृदयदेखि प्रस्फुटित भावनालाई दिमागले काँटछाँट गर्ने मात्र हो,’ नवराज भन्छन्, ‘पैसा तिरेर पाइने कुरा मूल्यवान् हुन्छन्। पैसाले पनि नपाइने कुराहरु अमूल्य हुन्छन्। कला, साहित्य, गीत र संगीत अमूल्य हुन्छन्।’

सिर्जनामा पैसा जोडिन थालेपछि विकृति देखिने गरेको उनको बुझाइ छ। जसरी पनि चर्चा कमाउने लक्ष्य राख्दा गीत–संगीतको  चोरी बढ्दै गएकामा उनी चिन्तित छन्। उनी संगीत क्षेत्रका विकृति हटाउन सम्बन्धित निकायले समयमै  कदम चाल्नुपर्ने बताउँछन्। ‘अहिले समाजमा संख्यात्मक रूपमा धेरै गीत–संगीत सिर्जना भएका छन्,’ नवराज भन्छन्, ‘संख्यात्मक वृद्धिका कारण पछिल्लो समय विकृति मौलाएको छ। यसले आगामी दिनमा अप्ठ्रो बनाउन सक्छ। सम्बद्ध निकायले समयमै ध्यान दिनुपर्छ।’ हाल नवराज अमेरिकामा छन्। उनी विदेशी भूमिबाटै नेपाली लोकगीत सिर्जनामा अनवरत क्रियाशील छन्।

प्रकाशित: ८ चैत्र २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App