९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मौसमी रुघाखोकी के हो ?, बच्ने कसरी ?

भाइबहिनी हो, नाकबाट पातलो कफ अथवा सिंगान बग्नुलाई चिसो लाग्नु अथवा रुघा लाग्नु भनिन्छ, यसैलाई अंग्रेजीमा ‘कमन कोल्ड’ भनिन्छ। यो हाम्रो श्वास मार्गमा लाग्ने समस्या हो। हामी सबैलाई कुनै न कुनै बेला रुघा लागेको अवश्य छ। यो दुधे पिउने बालकदेखि युवा, वृद्ध सबैलाई लाग्छ।  

संसारमा सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मान्छेलाई वर्षको एक–दुई पटकदेखि चार–पाँच पटकसम्म रुघा लाग्छ। एलोपेथीमा सय भन्दा बढी प्रकारका जीवाणु भाइरसलाई रुघा लाग्नुको कारण मानिन्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ। रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ। घरमा कोही एक जनालाई वा स्कुलमा कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ। तर के रुघा लाग्नुको कारण भाइरस मात्र हो त ?

भाइबहिनी हो, रुघा किन लाग्छ भन्ने बुझ्नु अगाडि प्रकृतिको नियम बुझ्न जरुरी छ। सबैले देखेको र बुझेको कुरा हो, हाम्रो प्रकृतिमा कहिले जाडो, कहिले गर्मी, कहिले बर्षात् अनि कहिले हावाहुरीको मौसम हुन्छ। यो प्रकृतिको नियम हो। धेरैजसो चिसो र मौसम परिवर्तन हुने समयमा मानिसलाई रुघा लागेको पाइन्छ जसलाई चिसोको एलर्जी संज्ञा दिइन्छ।

चिसोले नै रुघा लगाउने भएको भए सबैलाई रुघा लाग्नुपर्ने हो तर सबैलाई नलागी केहीलाई मात्र रुघा लागेको देखिन्छ। त्यसैले रुघा लाग्नुको कारण चिसो मौसम र भाइरस होइन। यसको मुख्य कारण शारीरिक अवस्था र उसमा भएको जीवनीशक्ति जसलाई हामी रोगप्रतिरोधात्मक क्षमता भन्छौंै त्यसमा भर पर्छ। जसको रोग प्रतिरोधात्मक क्षमता कम छ र पहिलेदेखि नै शरीरमा मल अर्थात् फोहर जम्मा भएको छ उसलाई रुघाखोकी लगायत अरु रोग लाग्छ।  

रुघा सामान्यतः प्रकृतिले शरीर शुद्धीकरण गर्ने प्रक्रिया हो। हामीले खाएको खाना नपचेर शरीरबाट बाहिर निस्कनु पर्ने फोहर शरीरमा जम्मा हुन्छ। र त्यही फोहरलाई फाल्ने प्राकृतिक प्रक्रिया हो रुघा। शरीरको यो बोलीलाई बुझ्न सकेमा रुघा हाम्रो शत्रु होइन मित्र हो।

अब भाईबहिनीलाई लाग्न सक्छ यो फोहोर कहाँबाट जम्मा हुन्छ। हामीले खाने खाना कार्बोहाइड्रेट (भात,रोटी, ढिडो) प्रोटिन (माछा, मासु, अन्दा, दुग्ध पदार्थ) कृतिम चिल्लो घिउ, तेल आदि आवश्यकताभन्दा बढी खाएर नपचेर शरीरबाट बाहिर  निस्कनु पर्ने फोहर शरीरमै जम्मा हुन्छ। शरीरमा फोहर जम्मा भएपछि त्यसलाई शरीरले बाहिर निकाल्ने प्रयास गर्छ। र नाकबाट सिंगान बग्ने, खोकी लागेर खकार आउने हुन्छ। यसलाई नै रुघा लाग्नु भनिन्छ।  

रुघाखोकी सामान्यतः सबै मौसममा हुन्छ। जब अनुचित आहार गरेर शरीरमा फोहर जम्मा हुन्छ तब शरीरले नियम अनुसार त्यसलाई बाहिर निकाल्न तिब्र रोगहरू निकाल्छ। रुघा खोकी, झाडापखाला, ज्वरो, बान्ता आदि तिब्र रोग हुन् जसले शरीरमा रहेको फोहोर फाल्ने प्रयास गर्छ। तर, जाडोमा रुघाखोकी धेरै लाग्ने र फैलिने सरुवा रोगका रूपमा देखिन्छ।   

मौसमी रुघाखोकी के हो ?
शरीरमा जमेको फोहर विस्तारै रगत र श्वासप्रणालीसम्म फैलिन्छ र श्वास प्रणालीमा कफको रुपमा जम्मा हुन्छ। जब चिसो हावा, पानी र चिसो खानेकुराको सम्पर्कमा आउँछ तब श्वासप्रश्वासप्रणालीमा जम्मा भएको कफ या तरल रूपमा बग्न थाल्छ या जमेर श्वासप्रणालीलाई अवरोध गर्छ। यसरी शरीरमा जमेको त्यो फोहर की चिसोको सम्पर्कमा आएपछि बाहिर निस्कन खोज्छ या तातोको सम्पर्कले बाहिर निस्कन खोज्छ। जब मौसम परिवर्तन हुन्छ फोहर जमेको स्थानको तापक्रम असन्तुलन भई नाकबाट सिंगानका रूपमा बाहिर निष्काशन हुन खोज्छ जसलाई हामी मौसम परिवर्तन भएर लागेको रुघाखोकी भनेर बुझ्छौ।

के रुघा सबैलाई लाग्नु पर्ने सरुवा रोग हो त ?
रुघा सबैलाई लाग्छ र लाग्नै पर्छ भन्ने होइन। यो कसलाई कति पटक लाग्छ भन्ने कुरा उसको स्वास्थ्य अवस्था र रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। जसको प्रतिरोधात्मक क्षमता राम्रो छ र जसको शरीर फोहर मुक्त, स्वस्थ अवस्थामा छ उसलाई जस्तोसुकै भाइरस भए पनि लाग्दैन। जसको प्रतिरोध क्षमता कम छ, शरीर विकारयुक्त छ उसलाई रुघाले गाँजेको पाइन्छ। वास्तबमा कुनै पनि रोग आफैमा सर्ने पनि होइन र नसर्ने पनि होइन। यो त हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। यदि रोग प्रतिरोधात्मक क्षमता बढी छ भने कुनै पनि रोग व्याक्टेरियाले छुन सक्दैन।

कारण
– मुख्य कारण कब्जियत हो।
– आवश्यकता भन्दा बढी खानु।
– प्रोटिन जस्तै, माछा, मासु, अन्डा आदि धेरै खानु  
– कृतिम चिल्लो जस्तै घिउ, तारेभुटेको खानु
– दुग्ध पदार्थ दही, आइसक्रिम, मिठाई खानु
– चिसो फ्रिजको खानेकुरा खानु
– चिनी, कोल्ड ड्रिक्स, तयारी जुस रियल, फ्यान्टा आदि खानु
– मैदा, तयारी जंक खानेकुरा बढी खानु
–तातोबाट एकाएक चिसो स्थानमा जानु
– वर्षाको पानीमा भिज्नु
–चिन्ता, उत्तेजना, रिस, क्रोधको अवस्थामा खानु
– निद्राको कमी
–रुघा लागेको मान्छेको सम्पर्कमा आउनु

लक्षण
– मुख्य लक्षण– हाछ्यूँ आउनु, नाक पोल्नु र चिलाउनु
– नाक बन्द हुनु, टाउको भारी हुनु, दुख्नु।
– नाकबाट पातलो पानी बग्नु।
– आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु।
– शरीर भारी हुनु, थकान हुनु, शरीर गल्नु।
– केही दिनपछि नाकबाट गाढा पहेंलो सिंगान आउनु।
– घाँटीमा कफ जम्नु।
– गन्धको अनुभव नहुन, स्वादको अनुभव नहुनु।
– हल्का जरो आउनु।
– खोकी लाग्नु।

रुघा सामान्यतः प्रकृतिले शरीर शुद्धीकरण गर्ने प्रक्रिया हो। शरीरको यो बोलीलाई बुझ्न सकेमा रुघा हाम्रो शत्रु होइन मित्र हो। रुघा सरल समस्या हो। यसको सही उपचार भयो भने २४ घण्टामै सजिलै निको हुन्छ। तर, रुघा लाग्दा गलत आहारसँगै औषधि प्रयोग गरेमा यो तीव्र रोग बिग्रेर घाँटीको समस्या ल्यारेन्जाइटिस, नाकको समस्या साइनोसाइटिस, ब्रोनकाइटिस हुँदै फोक्सोसम्म पुग्छ। र फोक्सो सुन्निएर निमोनिया जीर्ण रोगमा परिणत हुन्छ। त्यसैले रुघाको सही उपचार हुनुपर्छ। रुघाकै गलत उपचारले अधिकांश स्वास्थ्य समस्या आउँछ।

रुघाको सरल उपचार
उपबास र आराम – कुनै पनि ठोस आहार नलिनुलाई उपबास भनिन्छ। रुघा लागेको लक्षण देखिनेबित्तिकै ठोस आहार बन्द गरेर मनतातो पानी पिएर उपबास बस्नुपर्छ। रुघा लाग्दा शरीरले फोहर मललाई निष्काशन गर्ने प्रयास गर्छ र त्यस अवस्थामा हाम्रो पाचन मार्ग कमजोर हुन्छ। त्यसैले केही नखाई बस्दा पाचन मार्गलाई आराम मिल्छ र जमेको फोहर फाल्न सजिलो हुन्छ। साथै आरामको पनि आवश्यकता पर्छ। यसरी मिलाएमा रुघा १ दिनमै निको हुन्छ।

रसाहार( मह र कागती  ) – तातो पानीमा कागती र मह मिलाएर प्रति घण्टा एकएक गिलास पानी लिन सकिन्छ। तर, ध्यान दिनुपर्ने कुरा महले गर्मी गराउँछ। त्यसैले महको प्रयोग शरीरको अवस्था हेरेर दिनको एक, दुई या तीन पटक टाउको नदुख्ने गरी गर्नुपर्छ। त्यसैगरी घाँटी दुखेको छ भने कागती लिनु हँुदैन। उपबास र रसाहार बस्दा सामान्यत आराममा बस्नुपर्छ। साधारण काम भने गर्न सकिन्छ। साना बालबालिकालाई रुघा लाग्दा पनि दुधको मात्रा कम गरेर सुन्तलाको जुसमा कागती १–२ थोपा राखेर पिलाएमा कम हुन्छ।

फलाहार–उपबास र रसाहार बस्न नसकेको अबस्थामा फलाहार गर्न सकिन्छ। रुघामा रसिलो फलले धेरै फाइदा गर्छ। तर, रुघा लाग्दा सुन्तला र मौसम मात्र लिन सकिन्छ। दिनको तीनदेखि चार पटक सुन्तला वा मौसमको फल खाएमा रुघा निको हुन्छ।

शरीरको तापक्रम– हाम्रो शरीरको तापक्रम ९८.६ डिग्री फरेन्हाइट हुन्छ। तर, शरीरमा फोहर जम्मा भएको अवस्थामा सम्पूर्ण ठाउँमा तापक्रम एकनास हुन पाउँदैन र समस्या आउँछ। त्यसैले शरीरको तापक्रम कायम राख्नुपर्छ। छाती, घाँटी र निधारलाई न्यानो तातो बनाउने। हत्केला देखि खुट्टाको पैतालासम्म तातो बनाउने, यसले श्वास मार्ग र रक्त संचारलाई ठीक राख्छ। रक्त संचार ठीक भएमा शरीरले आफ्नो काम ठीक ढंगले गर्न सक्छ। त्यसैले शरीरको तापक्रम मत्वपूर्ण हुन्छ। त्यसको लागि पहिलो, न्यानो लुगा लगाउने। निधारसम्म छोपिने गरी टोपी लगाउने।
दोस्रो,  खानामा तापक्रम कम हुन नदिने आहार खाने। ऋतुअनुसार गर्मी गराउने आहार जस्तै कोदो, ज्वानुको सुप, मह पानी, कागतीको प्रयोग गर्ने। कागतीमा भिटामिन सी पाइन्छ जसले गर्मी बढाउने गर्छ। त्यसैगरी छोकडा, किसमिस, खुर्पानी जस्ता फल पनि प्रयोग गर्न सकिन्छ। यी खानेकुराले शरीरमा गर्मी बढाउनुका साथै शक्ति पनि दिन्छ। तर, यी खानेकुरा खाँदा सफा गरी पखालेर खानु एक दिन अगाडि भिजाएर मात्र लिने। साथै तुलसी पत्ताको चिया पनि प्रयोग गर्न सकिन्छ।

तातोपानीको बाफ–रुघा लाग्दा तातो पानीको बाफ लिएमा नाक खुल्ने र श्वास फेर्न सजिलो हुने हुन्छ। तातो पानीमा ज्वानु, जिरा, धनिया, ल्वाङ, सन्चो आदि राखेर बाफ लिन सकिन्छ।

छातीमा रबर व्यागले सेक्ने– टाउको, निधार, घाँटी र छातीलाई न्यानो बनाउने। निधार र छातीमा हत्केलाले सेक्ने। ३० मिनटदेखि जति सकिन्छ। धुलोधूवाँमा नबस्ने। राति सुत्ने बेलामा रबर व्यागमा तातोपानी राखेर कपडाले बेरेर मनतातो हुने गरी छातीमा सेक्दै सुत्दा आराम मिल्छ।

नियमित व्यायाम गर्ने–सधैं स्वच्छ धुलोधुवाँरहित ठाउँमा मर्निङवाक गर्ने अथवा योग व्यायाम गर्ने जसले शरीरलाई बलियो र तातो बनाउने गर्छ। दिनको एक घण्टा व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ र पसिना मार्फत फोहर निस्कन्छ।

डिप्रेसिभ भावबाट मुक्त हुने–मनलाई हमेसा ठेगानमा राख्नुपर्छ। अनुचित विचारले अधिकांश स्वस्थ्य समस्या आउँछ। त्यसैले हमेसा तनावरहित हुनुपर्छ।

रुघाबाट बच्न के गर्ने ?  
कम खाने– दिनमा ३ पटकभन्दा बढी नखाने। एक खाना र अर्को खानाको अन्तर कम्तीमा चार देखि पाँच घण्टाको फरक गर्ने। भारी खाना नखाने।

के खाने–कफ निवारक भोजन जस्तै कोदो, गहुँको रोटी, हरियो सागसब्जी तरकारी प्रशस्त खाने। बिहानबेलुकी तातो पानीमा आधादेखि एक चम्चा मह राखेर पानी पिउने। पानी मन तातो खाने। खोकी लागेको छ भने चिया जस्तो तातो पानी पिउने।

के नखाने– कफ कारक भोजन जस्तै दुग्ध पदार्थ, चिनी, हलुवाई मिठाई, माछा, मासु, अन्डा, सेतो मैदाबाट बनेका नखाने। चिसो गुणका चीज बरफ, आइसक्रिम, फ्रिजमा राखेका खानेकुरा नखाने। एक साथ धेरै थरी खाना मिलाएर नखाने। चिल्लोमा तारेभुटेको तेलिय खाना नखाने। काँचो, चिसो, चिल्लो नखाने

भाइबहिनी हो, यसरी रुघाको उचित व्यवस्थापन भयो भने रुघा हाम्रो शरीरको मित्र हो। रुघाले हाम्रो शरीरमा जमेको फोहरलाई बाहिर फाल्न मद्धत गर्छ। रुघाबाट डराउनु पर्देन। हामीले त यसको कामलाई सजिलो मात्र बनाउनुपर्छ। यसका लागि सधै सही खानपान गर्ने, शरीरलाई हमेसा ठेगानमा राख्ने गर्नुपर्छ। सधैं उचित आहार गर्नुपर्छ। उचित आहार गरेमा निरोगी हुन सकिन्छ। त्यसैले सधैं उचित आहार गरौ निरोगी बनौं।

ध्यान दिनुपर्ने कुरा:

१. हाछ्यूँ गर्दा वा खोकी लाग्दा रुमालले नाक र मुख छोप्ने।
२. अरूलाई नसरोस् भनेर रुघा लाग्दा मास्क लगाउने।
३. हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
(महर्जन प्रकृतिप्रेमी समूहसँग आबद्ध छिन्।)

प्रकाशित: १ चैत्र २०७६ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App