७ वैशाख २०८१ शुक्रबार
अन्य

पर्दा लत्रक्क फूल झपक्क

जाडो मौसम सुरु भएसँगै काठमाडौंको गोठाटारस्थित अग्रिम नर्सरीमा ‘बिग्नोनिया भेनस्टा’ फूलका बिरुवा किन्न पुग्ने ग्राहकको संख्या मनग्ये बाक्लिन्छ । अग्रिम नर्सरीका सञ्चालक अम्बरबहादुर खड्काले यो फूल जाडोमा फुल्ने भएकाले फुलेको हेरेर किन्ने ग्राहकहरु जाडो मौसममै नर्सरी पुग्ने गरेको सुनाए ।

खड्काको नर्सरीमा मात्रै हैन काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीमा पनि जाडो मौसममा यो  फूल फुलेको देखेर किन्ने ग्राहकको संख्या मनग्ये बढ्छ । मुस्कान नर्सरीका महेन्द्र सुवेदी भन्छन्, ‘जाडो मौसममा फुल्ने भएकाले फुलेको समयमा यो फूल किन्न बढी ग्राहक आउँछन् ।’ तर यो फूल बाह्रै महिना बिक्ने उनी बताउँछन् ।

‘बेग्नोनिया भेनस्टा’ जाडो मौसममा अत्यन्तै सुन्दर फुल्ने फूल हो । लहरा जाने यो फूल सुन्तला रंग (अरेन्ज कलर) को हुन्छ । थुंगाजस्तो देखिने यो फूलमा मसिना लाम्चो खुर्सानी आकारका फूल मिलेर थुँगो बन्ने भएकाले यो फूललाई खुर्सानी फूलको नामले समेत चिनिन्छ । यो फूलको लम्बाइ भने करिब ६ सेन्टिमिटरको हुन्छ । स्वस्थानीको व्रत लिने समयमा फुल्ने भएकाले ‘बिग्नोनिया भेनस्टा’लाई स्वस्थानी फूल पनि भनिन्छ । यसको बोटानिक नाम भनेको ‘प्यारोस्टेगिया भिनस्टा’ हो ।

यो फूलको बिरुवा महँगोसमेत नभएको नर्सरी व्यवसायी बताउँछन् । सानो बिरुवाको न्यूनतम करिब एक सय पचास रुपैयाँ पर्छ । यो बिरुवाको लम्बाइअनुसार यसको मूल्य बढ्दै जान्छ ।  

पर्दाको भूमिका
यो फूल पर्दा लत्रिएझैँ पर्खाल तथा अग्लो भागबाट पर्दाजस्तै लत्रिन्छ र झपक्क फुल्छ । यो फूल असाध्यै मन पराइने फूलमध्येमा पर्ने नर्सरी व्यवसायी बताउँछन् । यो फूल गमलामा भन्दा जमिनमै रोप्दा राम्रो देखिन्छ । लहरा जाने भएकाले जमिनमा रोपेर घरको छत, रेलिङ, कौशीमा लहरा लागेर फुलाउन सकिन्छ । त्यतिमात्रै हैन घरको वरिपरि बार तथा पर्खालमा लगाउँदा यसले पर्दाको कामसमेत गर्छ । जाडो मौसममा फुल्दा त ढकमक्क देखिन्छ नै । नफुलेको समयमा समेत हरियो देखिने भएकाले पर्दाका रुपमा घर वरिपरि लगाउन सकिने अग्रिमका खड्काको सल्लाह छ । ‘जाडो मौसममा ढकमक्क फुल्छ । अरुबेला हरियो हुन्छ,’ खड्काले भने, ‘बाहिरबाट आउने धुलो छेक्छ ।’
त्यसो त यो फूलको अर्को राम्रो विशेषता छ । जमिनमा यसले धेरै ठाउँ ओगट्दैन । थोरै ठाउँमा पनि रोप्न सकिन्छ । माथिमाथि लहरा जाने भएकाले लहरा घर तथा गार्डेनको पर्खाल वा कम्पाउण्डमा लगाउनु उचित हुने हर्टिकल्चर विशेषज्ञको सुझाव छ ।

‘बिग्नोनिया भेनस्टा’को २५ फिटभन्दा लामो लहरा जान्छ । बिरुवा रोपेको एक वर्षमा करिब दस मिटरसम्म लहरा फैलन सक्छ । घर तथा गार्डेनमा १÷२ बोट रोप्दा लहरा वरिपरि फैलन सक्छ । जसले घर तथा गार्डेन नै झिलिमिली बनाउँछ । लामो लहरा जाने फूल भएकाले गमलामा भन्दा जमिनमै रोप्न मुस्कानका सुवेदीको सल्लाह छ । सुवेदी भन्छन्, ‘गमलामा रोप्दा लामो लहरा जान नसक्ने भएकाले लामो लहरा बनाउन चाहनेले जमिनमै रोप्नुपर्छ ।’

चिसोमै ढकमक्क
यस फूलको अर्को राम्रो विशेषता भनेको चिसो मौसममा पनि फुल्न सक्नु हो । यो मौसममा फुल्ने फूल कमै हुन्छन् । तराई क्षेत्रको तुलनामा काठमाडौंमा चिसो चाँडै बढ्ने भएकाले तराईमाभन्दा काठमाडौंमा चाँडो फुल्न थाल्छ । यो लामो समयसम्म फुल्न सक्ने फूल हो । सामान्यतः काठमाडौं उपत्यकामा कात्तिकदेखि चैतसम्मै फुल्छ । तराई क्षेत्रमा भने काठमाडौं उपत्यकाको तुलनामा करिब एक महिना चाँडो फुल्छ ।

वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुवेरजङ्ग मल्लका अनुसार यो फूलले धेरै चिसो भने सहन सक्दैन । हिमाली क्षेत्रमा चिसोका कारण मर्छ । ‘पहाडि क्षेत्रको तुलनामा तराईमा राम्रो फुल्छ,’ वैज्ञानिक मल्लले भने, ‘तराईमा गर्मी हुने भएकाले तराई क्षेत्रमा राम्रो फुल्छ । काठमाडौं उपत्यकामा राम्रोसँग फुल्छ । धेरै चिसो ठाउँमा भने मर्ने जोखिम हुन्छ । त्यसैले सामान्यतः हिमाली क्षेत्रमा भने यो फूल मर्न सक्छ । चिसो ठाउँको तुलनामा घामलाग्ने ठाउँमा राम्रोसँग फुल्ने हर्टिकल्चर विशेषज्ञ बताउँछन् ।

जाडो मौसममा काठमाडौं उपत्यकामा प्रशस्तै ‘बिग्नोनिया भेनस्टा’ फूलेको देखिन्छ । उपत्यकामा घर तथा गार्डेनको पर्खाल, लहरा छत, रेलिङ, बार, रुखजस्ता ठाउँमा फूलाएको देखिन्छ । यो फूलले घर तथा गार्डेनको रुप नै परिवर्तन गरिदिन्छ । उपत्यका बाहिरसमेत यो लोकप्रिय फूल हो ।

काठमाडौं उपत्यकामा चिसोका कारण फुलिसक्ने समयमा यसका पात झरेको देखिन्छ । फुलिसकेपछि नाङ्गो देखिन्छ । तराईमा भने फुल्नु अघि नै पात झरे पनि तुरुन्तै नयाँ पात आएर फुल्ने भएकाले विशेषगरी तराई क्षेत्रमा यो फूल पात झरेकोजस्तो देखिँदैन । खड्काले भने, ‘चिसोमा पात झर्छ र तर आइहाल्छ ।’ पात पलाएपछि फेरि पातले मज्जाले पर्दाको काम गरेको हुन्छ । त्यसैले यो सदाबहार फूल भएको वैज्ञानिक मल्ल बताउँछन् । यो निक्कै बाक्लो फुल्ने फूल हो । जाडो मौसममा फुल्ने भए पनि जति धेरै घाम लाग्यो, त्यति नै धेरै फुल्छ । त्यसैले यो फूल फुल्दा मनै बहलाइदिन्छ ।

सुवेदीका अनुसार धेरै चिसो सहन नसक्ने नसक्ने भए पनि यो फूलको रोगप्रतिरोधात्मक क्षमता भने मजबुत हुन्छ । ‘यो फूललाई सितिमिति कुनै रोगले छुँदैन,’ सुवेदीले भने, ‘कहिलेकाहीँ लाई लाग्छ । तर लाईले पनि खासै असर गर्दैन ।’ यो फूलमा कुनै रोग नलाग्ने तथा स्याहारसुसारमा पनि धेरै मिहिनेत गर्न नपर्ने भएकाले ‘बिग्नोनिया भेनस्टा’ हुर्काउन सजिलो फूल भएको उनी बताउँछन् ।

गुनिलो फूल
यो असाध्यै गुनी फूलसमेत हो । यो फूल जति नै लामो भए पनि यसमा काँडा हुँदैन । धुलो पनि रोक्ने । काँडा पनि नहुने । लामो लहरा गएर फुल्न सक्ने यसको विशेषता हो । धेरै लामो भए आवश्यकताअनुसार काटेर मिलाउन तथा छोट्याउन सकिन्छ फुलिसकेपछि खड्काको सुझाव छ । यो फूलका लहरा बढ्दै जतासुकै जानसक्ने भएकाले समय–समयमा काटछाँट गर्ने मिलाउनुु पर्ने हुन्छ ।

यसका पात हरिया हुन्छन् । साना हुन्छन् । यो फूलका हाँगाबिँगा आउने भएकाले एक बोट रोपेको खण्डमा हाँगाबिँगा फैलिएर पूरै एउटा करिब ३० मिटर लामो पर्खाल, बार, जाली ढाक्न सक्छ । त्यसैले धेरै बाक्लो रोप्न आवश्यक नरहेको वैज्ञानिक मल्लले बताए । यो फूलको नयाँ बिरुवा भने गर्मी मौसममा रोप्नु उपयुक्त हुन्छ । नर्सरीमा भने प्लाष्टिकको भाँडा वा गमलामा हुने भएकाले जुसुकै समयमा सार्न सकिन्छ । रोप्नुपूर्व मल हाल्न सकिन्छ । तर सानो बिरुवाले भने धेरै मल नसहने भएकाले अत्यन्तै थोरै हाल्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ । जरा नहल्लिएको खण्डमा जुनसुकै समयमा सारेको खण्डमा पनि मर्दैन । पहिलोपटक रोप्दा रोपिसक्ने बित्तिकै पानी हाल्नुपर्ने हुन्छ । रोपिसक्ने बित्तिकै पानी नहाल्दा जरा सुकेर मर्ने जोखिम हुन्छ ।

यो फूलको सुन्दरता त छँदै छ, औषधीय गुणसमेत भएको पाइन्छ । अध्ययन अनुसार ब्राजिलमा परम्परागत औषधिको रुपमा समेत प्रयोग गरिन्छ । ‘बेग्नोनिया भेनस्टा’को उद्गमस्थल उष्ण क्षेत्र रहेको पाइन्छ । पानी नजम्ने क्षेत्रबाटै यो फूलको विकास भएको हुनाले यो बिरुवा पानी जम्ने ठाउँमा भने नरोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ ।

 

प्रकाशित: २८ माघ २०७६ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App