९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

क्याफेले फेरेको दैनिकी

तस्बिर: कृष्पा श्रेष्ठ

बानेश्वर चोकदेखि पश्चिमपट्टि केही मिटरको दूरीमा रहेको माइती क्याफे । पुस आठ गते बिहान ११ बजे जाँदा पुनम थापाले नमस्कार भन्दै स्वागत गरिन् । काठैकाठले बनेको कुर्सी र टेबल नजिकै गमलामा फूलेको फूलले क्याफेको रौनक त बढाएकै थियो नै पृष्ठभूमिमा बजेको आध्यात्मिक संगीतले वातावरण शान्त बनाएको थियो ।

क्याफेमा कर्मचारी काममा व्यस्त थिए । बिहानै भए पनि क्याफे भरिभराउ थियो । पुसको चिसो मौसममा युवायुवती कफीको चुस्की लगाइरहेका । बाहिर गाडीको ट्याट्याटुटु भए पनि भित्र भने रमणीय वातावरण । पुनमले हामीलाई बस्न इशारा गरिन् ।  फोटो पत्रकार कृष्पा श्रेष्ठजी र म घाम भएको कुर्सीमा गएर बस्यौँ । फेरि आइन् उनै पुनम । हामीले उनलाई आउनुको कारण बतायौँ । हाम्रो पर्खाइमा माइती नेपालका अध्यक्ष विश्वराम खड्का थिए । यतिञ्जेल पुनमसँग कुराकानी गर्‍यौँ ।

जब कोही हिंसामा पर्छ, अमानवीय व्यवहार भोग्छ, परिवार र समाजबाट त्यागिन्छ उसले बाँच्नुको अर्थ देख्दैन । जसै कोही कसैको साथ र सहयोग पाउँछ फेरि उठ्छ अनि प्रगतिको शिखर चुम्न थाल्छ ।

माइती क्याफे खुलेको आठ महिना भयो । आठ महिनादेखि पुनम यही क्याफेमा वरिष्टा कर्मचारीको रुपमा कार्यरत छिन् । सानैमा अभिभावकविहीन भएपछि पुनमलाई माइती नेपालले आज भन्दा १० वर्ष अघि उद्धार गरेको थियो । माइती नेपालको रोहवरमा आएपछि उनको जीवन बदलियो । पुनमले अहिले कक्षा १२ सकिसकेकी छिन् । पुनमले पढ्दै र यही क्याफेमा काम गर्दै रहिछिन्  । ‘मैले माइती नेपालको रेखदेखमै रहेर पढेँ,’ पुनमले भनिन्, ‘काम गर्न थालेपछि भने आफैं कोठा लिएर बसेकी छु ।’ २० वर्षीया पुनमले पढाइसँगै अर्थाेपार्जनको काम गर्न पाएकोमा दंग देखिन्थिन् ।

पुस्तम गिरी माइती क्याफेका सेफ हुन् । उनले नै त्यहाँको किचेनको काम सह्मालेका छन् । दुबई, इन्द्रेणी फुड्ल्यान्डमा काम गरिसकेका उनले यहाँ आउने कारण खुलाए ‘पूर्ण व्यावसायिक भन्दा पनि ‘सोसल बिजनेस’ भएको संस्थामा काम गर्न मन थियो,’ उनले भने, ‘त्यही भएर काम गर्न यहाँ आएँ ।’ माइती क्याफेमा अहिले २२ जना कर्मचारी छन् । जसमा माइती नेपालले उद्धार गरेका ११ जना र ११ जना बाहिरबाट आएका कर्मचारीले विगत आठ महिनादेखि सफलतापूर्वक सञ्चालन गरिरहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

यसरी जन्मियो क्याफे
सन् १९९३ मा माइती नेपाल खुल्यो । माइती नेपालले परिवारले त्यागेका, घरेलु हिंसामा परेका, बेचबिखनमा परेका तथा पीडित महिला तथा बालबालिकालाई उद्धार गर्‍यो । विशेषतः नेपालमा माइती नेपाल भन्ने बितिक्कै बेचबिखनमा परेका महिला तथा बालबालिकालाई उद्धार गर्ने संस्थाको रुपमा चिनिन्छ । सुरुवातीदेखि नै माइती नेपालको व्यवस्थापन सह्माल्दै आएका विश्वराम खड्कालाई लाग्थ्यो उद्धार त गरियो पुनस्र्थापना कसरी गर्ने ? ‘सुरुमा उनीहरुको साइकोलोजिकल ट्रिटमेन्ट त भइनैहाल्यो,’ उनले भने, ‘सँगै आर्थिक रुपमा पनि सक्षम बनाउन पाए भन्ने लागिरहन्थ्यो । क्याफे त्यसैको सुरुवात हो ।’

खड्काको अनुभवमा आजभन्दा अघि नेपालमा क्याफेको उति साह्रो चलन थिएन । पछिल्लो समय जसै क्याफे खोल्ने लहर आयो । मान्छेहरु घरबाहिर निस्केर साथीभाइसँग गफिन क्याफे रेष्टुरेन्टमा जान थाले अनि खड्कालाई पनि माइती नेपालले मुनाफारहित क्याफे खोल्ने योजना बनाए । उनले सुरुमा यो कुरा माइती नेपालकी संस्थापक अध्यक्ष एवं प्रदेश तीनकी पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालाई सुनाए । कोइरालाले काम अगाडि बढाउन सल्लाह दिइन् । खड्का निरन्तर खटे । ‘यो क्याफेमा भएको मुनाफा कसैको खल्तीमा जाँदैन,’ खड्काले भने, ‘यो महिला तथा बालबालिकाको क्षेत्रमा खर्च हुन्छ ।’

नेदरल्यान्डको ‘फ्रि अ गर्ल संस्थाले सहयोग गर्‍यो । नेपालकै ‘आफ्नो नेपाल’ संस्था पनि जोडियो । अनि आधार बन्यो माइती क्याफेकोे । व्यापारिक पृष्ठभूमिका उपेन्द्रबहादुर श्रेष्ठलगायतले आफ्नो नेपाल संस्थामार्फत सामाजिक काम गर्न खोजिरहेका थिए । जसै विश्वरामले माइती क्याफेको अवधारणा सुनाए श्रेष्ठ पनि राजी भए ।
साढेँ दुई करोडको लगानीमा माइती क्याफे खुल्यो । २२ जनाले रोजगार पाए । ११ जना त माइती नेपालले नै उद्धार गरेका दिदिबहिनी । अनि ११ जना बाहिरबाट तालिम प्राप्त । अहिले क्याफेले दैनिक २५/३० हजारको कारोबार गरिरहेको छ । २२ जना कर्मचारीलाई न्यूनतम दस हजारदेखि अधिकतम ३० हजारसम्म तलब उपलब्ध गराइरहेको छ ।

क्याफेले फेरेको दैनिकी
क्याफे बिहान सात बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । यो क्याफे २२ जना कर्मचारीले आलोपालो गरेर चलाउँछन् । ‘आफ्नै भएपछि त अलि धेरै समय काम गर्न पाए पनि हुन्थ्यो भन्ने लागिरहन्छ,’ माइती नेपालकै रोहवरमा हुर्केकी पूजाले भनिन्, ‘काम सकेर जानेबित्तिकै भोलि कतिबेला पुग्ने होला भन्ने लागिरहन्छ ।’

क्याफेमा आउन थालेदेखि ११ जना माइती नेपालको रोहवरमा हुर्केकाको दैनिकी फेरिएको छ । आफैँ काम गरेर आयआर्जन गर्न सक्ने भएपछि उनीहरुमा आत्मविश्वास बढ्दै गएको विश्वराम खड्काले बताए । क्याफेमा हामी पुग्दा पुस्तम गिरी, सुरज थापा, पूजा बस्नेत, नविन खड्का, रोशनी तामाङ, मनमाया र पुनम थापा थिए । क्याफेमा कार्यरत २२ जनामध्ये माइती नेपालमा हुर्केका ११ क्याफेका लागि नयाँ अनुहार हुन् । ११ जनाले क्याफे सञ्चालन हुनुभन्दा तीन महिनाअघि तालिम लिए । होटल म्यानेजमेन्ट पढेकाहरु अहिले यहाँ इन्टर्न गरिरहेका छन् । विश्वरामको एउटै सपना छ भोलि क्याफेको नेतृत्व यिनैले लिऊन् ।

क्याफेका खम्बा
जब कोही हिंसामा पर्छ, अमानवीय व्यवहार भोग्छ, परिवार र समाजबाट त्यागिन्छ उसले बाँच्नुको अर्थ देख्दैन । जसै कोही कसैको साथ र सहयोग पाउँछ फेरि उठ्छ अनि प्रगतिको शिखर चुम्न थाल्छ । क्याफे सञ्चालन र आगामी दिनको योजनाबारे गफिँदै विश्वराम खड्काले आशावादी हुँदै भने, ‘मलाई आशा छ माइती नेपालबाट उद्धार गरिएका बहिनीहरुले भोलि यो क्याफे सञ्चालन गर्नेछन् । यसको नेतृत्व यिनैलाई सुम्पिने हाम्रो योजना छ ।’

 

 

प्रकाशित: २२ माघ २०७६ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App