मानव, जीवजन्तु, मौसम सबै एक अर्काका परिपूरक हुन् । धर्मग्रन्थहरुले वर्षभरिलाई ६ वटा ऋतुमा विभाजन गरेका छन् । तापक्रम, हावा, पानीको प्रकृतिअनुसार ऋतुको फरक–फरक स्वभाव, प्रकृति हुन्छ । त्यही प्रकृतिबीच हामी जीवनयापन गरिराखेका हुन्छौं । अहिले हामी हेमन्त ऋतुको कहर सकेर शिशिर ऋतुमा प्रवेश गरेका छौँ ।
शिशिर ऋतुको सिरेटो काटेपछि वसन्त ऋतुको आगमन हुनेछ, चैत–वैशाखमा । जेठ–असार गृष्मको उखर्माउलो गर्मी हुनेछ । साउन–भदौ वर्षाको हिलोमैलोपछि असोज–कात्तिकमा शरदको शितलता आउनेछ । ऋतुहरूमा मौसम बिस्तारै परिवर्तन हुन्छ, त्यसैअनुसार जीव र वनस्पतिले आफूलाई व्यवस्थापन गर्दै जान्छन् । प्रकृतिको यस्तो नियम चक्र निरन्तर छ, निरन्तर चलिरहन्छ ।
अहिले चलिरहेको शिशिर ऋतुको आफ्नै विशेषता छ । माघे संक्रान्तिमा सूर्यले आफ्नो स्थान बद्लेर दक्षिण दिशामा प्रवेश गर्ने भएकाले मौसममा पनि बिस्तारै परिवर्तन हुन थाल्छन्, तातोपन बढ्दै जान्छ । शिशिरको कहर सहेका बोट–बिरुवामा चैत लागेपछि पालुवा टुसाउन थाल्छन् । बिस्तारै जाडो सकिएर गर्मी मौसम चढ्न थालेपछि हामीले पनि न्याना लुगा फुकालेर पातला लगाउन थाल्छौँ ।
मौसमी चक्रअनुसार हावा, पानी, आकास, जमिन, पानी सबैसबै प्रकृतिमा परिवर्तन आउँछ र हामी मानवमा पनि त्यसको प्रभाव पर्छ । हामी पनि आफ्नै जीवनशैलीमा परिवर्तन हुँदै जान्छौँ । स्वाभाविक परिवर्तन समयक्रममा आफैँ व्यवस्थित हुँदै जान्छ, सामान्यीकरण हुन्छ तर प्रकृतिमाथिको भयावह मानवीय आक्रमण अहिलेको प्रमुख चुनौती बनेको छ । कृत्रिम, प्राकृतिक दुवै खाले चपेटामा छ, अहिलेको मानव समाज ।
चिकित्सक, धार्मिक अध्येता तथा मनोचिकित्सकहरूको रायमा मौसम र मनको नजिकको सम्बन्ध हुन्छ भन्छन् । मानव शरीर पञ्चतत्वबाट बनेको भनिन्छ । जमिन, हावा, पानी, आगो र आकाशबाट बनेको शरीर भएकाले यी सबै तत्व एकअर्कासँग समन्वित हुन्छन् । यिनै तत्वहरुको समन्वयात्मक प्रक्रियाबाट हाम्रो मन र शरीर सञ्चालन भैरहेको हुन्छ ।
मौसमले तनलाई प्रभावित पार्ने र तन प्रभावित भएपछि स्वाभाविक रुपमा मन प्रभावित हुन्छ नै । तन र मन स्वस्थ राख्न मौसमअनुसारको जीवनशैली आवश्यक हुन्छ । त्यसैगरी मौसमअनुसार शरीरको प्रयोग, स्याहार गर्नुपर्छ । मौसम भूगोलअनुसार फरक–फरक हुन्छ । त्यसैले कुन भूक्षेत्रमा बसोबास गर्दैछौँ, त्यसै अनुसारको आहार–विहार गर्यो भने जीवनयापन सहज र स्वस्थकर हुने हुन्छ । मौसमको आफ्नो प्राकृतिकपन हुन्छ । हिउँदमा शित, चिसो हावा चल्ने, वर्षामा पानी बर्साउने, वसन्तमा हावाहुरी चल्ने, गृष्ममा उखर्माउलो गर्मी हुने मौसमी प्रकृति हुन् । भूगोलअनुसार ऋतुहरुको प्रभाव फरक–फरक हुन्छ । तर, हामीले हाम्रो शरीरको बनोटअनुसार माटो, पानी, हावा, आगो, आकाश सफा राखेका छाैं ? सन्तुलित प्रयोग र हामी र प्रकृतिबीच समन्वय हुने वातावरण बनाएका छौँ ? पक्कै छैनौँ । भौतिक विकास, औधोगिक विकासको मूल्यमा मौसममा प्रत्यक्ष प्रभाव पार्ने काम भएका छन्, भैरहेका छन् । मानवका लागि मानव सृजित समस्याहरु नै प्रमुख चुनौती बनेका छन् ।
तराई–मधेसमा दुई दशकयता प्रभावकारी रुपमा देखिएको शितलहरको पछाडि औद्योगिक प्रदूषण हो भनिन्छ । जमिनको जथभावी उपयोग, एकोहोरो विकास र भौतिक प्रगतिको निम्ति गरेका कामकुराले मानव जीवनमा असर पार्ने काम पनि सँगसँगै भइराखेका हुन्छन्, हामी खतराहरूबीच जीवनयापन गरिरहेका त छैनौं ! विकासको आवश्यकता र आकांक्षाहरूको मूल्यमा हामी पर्यावरणमाथि अतिक्रमण गरिराखेका छौँ र सँगसँगै आफैँमाथि खतरा निम्त्याइरहेका हुन्छौँ ।
काठमाडौं उपत्यका मुलुकको राजधानी हो, राजनीतिको केन्द्र हो । यसको प्रशासनिक, आर्थिक महत्व आफ्नै ठाउँमा छ तर यो राजधानी अहिले धुँवा र धुलोको राजधानी भएको छ, प्रदूषणको केन्द्र बनेको छ, यो खाल्डो । त्यसैले मौसमअनुसार जनसाधारणले आफ्नो व्यवस्था गरेर मात्र पनि पुग्दैन । समय, परिस्थितिअनुसार चल्न सक्नुपर्छ । राजधानीमा बसोबास गर्नेहरुमा श्वास प्रश्वासको समस्या प्रबल देखिन्छ । शहरी जीवनशैलीको प्रभाव हाम्रो शरीरका कोषिकाहरुका देखिन थालेका छन् । भिटामिन डिको कमी अहिलेको अर्को प्रमुख समस्या छ । घाममा बस्न नभ्याउने अफिस कलेजको दौडमा दिनरात सक्रिय भैरहँदा शरीरमा भएको भिटामिन डि समाप्त भैरहेको हुन्छ र त्यसले मानसिक शारीरिक असर पारिरहेको छ । सहरमा बस्नेहरू एक किसिमले जानी–नजानी प्राकृतिकपनाबाट विमुख भैरहेका छन् भने अर्कोतर्फ आफैँले अपनाएको जीवन शैलीका कारण आफैँलाई रोगी बनाइरहेका हुन्छौँ ।
परिवारको यस अंकमा हामीले मन र मौसमसम्बन्धी रिपोर्ट पेश गरेका छौँ । स्वास्थ्य, मनोरञ्जन, सौन्दर्य, यात्रा, साहित्यलगायत समाज र मुलुकको आर्थिक अवस्थाबारेका विश्लेषणसमेत समावेश छन् । परिवारको यो अंक पाठकहरुका निम्ति रुचिकर हुने विश्वास हामीले लिएका छौँ ।
प्रकाशित: १२ माघ २०७६ ११:१० आइतबार