हिन्दू पात्रोअनुसार धेरैजसो चाडपर्व चान्द्रमास (तिथि) का आधार मनाइन्छन्। माघे सङ्क्रान्ति भने प्रत्येक वर्ष माघ १ गते वा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु भएको दिन मनाइन्छ। यस पर्वलाई मकर सङ्क्रान्तिसमेत भनिन्छ।
ज्योतिषीय गणनाअनुसार वर्षमा मुख्य गरी सूर्यको स्थितिमा दुईपटक परिवर्तन हुन्छ। ६ महिनाको अवधि (सूर्यको मकरदेखि मिथुन राशिसम्म विचरण) लाई उत्तरायण र सूर्य कर्कटदेखि धनु राशिसम्म विचरण गरेको ६ महिनालाई दक्षिणायन भनिन्छ। शास्त्रमा उत्तरायणलाई देवताहरूको एक दिन र दक्षिणायनलाई एक रात मानिएको छ। उत्तरायणलाई विवाह, व्रतबन्धलगायत शुभकार्य गर्न उत्तम मानिन्छ। साथै यस अवधिमा मृत्यु भएका मानिसले सोझै मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ भने दक्षिणायनमा मृत्यु भएका मानिसले पुनर्जन्म लिने उल्लेख छ। यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ जाने र दिन लामो तथा रात छोटो हुँदै जाने ज्यो. पण्डित नरनाथ अधिकारी बताउँछन्।
भविष्य पुराणमा भनिएको छ, ‘माघे मासि महादेव यो दद्यात् घृतकम्बलम्। स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति।’ अर्थात्, माघ महिनामा घिउ र कम्बल दान गर्नाले विशेष फल मिल्नुका साथै मोक्ष प्राप्त हुन्छ। साथै पद्म पुराणअन्तर्गत माघ माहात्म्यमा उल्लेख छ, ‘माघे निमग्नाः सलिले सुशीते विमुक्तपापास्त्रिदिवं प्रयान्ति।’ अर्थात्, मकर सङ्क्रान्तिदेखि सो महिनाभर चिसो पानीमा डुबुल्की लगाउने व्यक्ति सम्पूर्ण पापबाट मुक्त हुन्छ। यसले के पुष्टि गर्छ भने शास्त्रमा देवताहरूको दिन मानिएको उत्तरायणको सुरुवात माघ महिनाभर स्नान गरी भगवान् विष्णुको दर्शन गरे मोक्ष मिल्छ। यस्तै पौराणिक मान्यताबारे चर्चा गर्दा महाभारतको प्रसंग जोडिन्छ। इच्छामृत्युको वर पाएका भीष्म पितामहलाई महाभारतको रणभूमिमा अर्जुनका शरहरूले शरीरमा सर्वत्र छेडेका थिए। उनले उत्तरायणमा प्राण त्याग गर्ने इच्छा प्रकट गरे र सोही शरशड्ढयामा शयन गरी ६ महिना बिताए। पछि उत्तरायण सुरु भएकै मकर सङ्क्रान्तिका दिन उनको इच्छामृत्यु भएको महाभारतमा उल्लेख छ।
त्यस्तै, राजा सगरका वंशमा भगीरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका र आफ्ना पितृलाई मुक्ति दिएको महाभारतमा उल्लेख छ। सोही आधारमा माघे सङ्क्रान्तिका दिन प्रयाग र गंगासागरमा स्नान गर्नुपर्ने मान्यता छ, जसलाई महास्नान भनिन्छ। यस दिन सक्नेले भारतको इलाहाबादस्थित प्रयाग, पश्चिम बंगालस्थित गंगासागर तथा कुनै पनि त्रिवेणी धाम र नसक्नेले नजिकको जलाशयमा गई ‘गंगे च यमुने चैव गोदावरी सरस्वती, नर्मदे सिन्धु काबेरी जलेस्मिन् सन्निधिं कुरु’ भनेर तिनै जलाशयलाई गंगा मानी स्नान गर्ने धार्मिक मान्यता छ।
मकर सङ्क्रान्ति तथा माघभरि विभिन्न खोला, नदी आदि जलाशय र पवित्र तीर्थस्थलमा स्नान गर्न तीर्थालुको भीड लाग्नुका साथै ती क्षेत्रमा मेला लाग्ने गरेको छ। नवलपरासीको देवघाटमा माघभरि स्नान तथा दर्शन पूजनको महत्व रहेको प. बलराम सिग्देल बताउँछन्। सो अवसरमा सुनसरीको वराह क्षेत्र, इलामको माइबेनी, झापाको कन्काई, कालीगण्डकी किनार, रुरु (रिडी) क्षेत्र, पर्वतको सेतीबेनी, तेह्रथुमको गौखुरी र काठमाडौंको वागमती किनारमा स्नान गर्न श्रद्धालुको घुइँचो लाग्छ। यसका साथै भारतको प्रयाग र गंगासागरलगायत नदी र घाटमा प्राचीन कालदेखि नै स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड हुने गर्छ।
भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धुलगायत ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहित दान गरे विशेष फल प्राप्त हुने र सो पदार्थ आफूले पनि खाएमा शरीर हृष्टपुष्ट हुनुका साथै निरोगी हुने उल्लेख छ। यी खानाले त्रिदोष (कफ, पित्त र बाथ) नाश हुने धार्मिक मान्यता रहेको नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. देवमणि भट्टराई बताउँछन्। उनका अनुसार ‘मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने’ भन्ने यस पर्वमा गुरुपुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई ‘सूर्य मकर राशिमा गए, माघ महिनाका साथै उत्तरायण सुरु भयो’ भनी सुनाउँछन्। साथै गृहस्थीले पनि गुरुपुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहित सीदा दान गर्छन्। साथै, शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, सक्खर र तिलका परिकार खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने र चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने भविष्य पुराणमा उल्लेख छ। मकर संक्रान्तिमा तिलको विशेष महत्व रहेको छ। यस पर्वमा बिहानै उठेर स्नान गरेपछि तिलका सिक्रा बाली आगो ताप्ने, तिलकै परिकार दान गर्ने र खाने चलन रहेको छ। शास्त्रीय मान्यताअनुसार यमराजलाई तिल त्यति प्यारो लाग्छ, जति विष्णुलाई तुलसी। साथै सौरमास सूर्यसित सम्बन्धित भएकाले सूर्यलाई पनि प्यारो लाग्ने चिज तिल नै हो भनिएको छ।
सबैको पर्व सङ्क्रान्ति
सनातन हिन्दू धर्मावलम्बीको आधिक्य रहेको हाम्रो समाज जातीय र सांस्कृतिक विविधता भएको समाज हो। हाम्रो समाजमा एउटै पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ। यसको उदाहरण माघे सङ्क्रान्ति पनि हो। यस पर्वलाई माघी पर्वका रूपमा थारू, मगर, छन्त्याल आदि समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउने गरेका छन्। थारू समुदायको नयाँ वर्षका रूपमा पनि यस पर्वलाई चिनिन्छ। साथै मगर समुदायले ‘माघे सकराती’ का नामले धुमधामका साथ मनाउने गरेका छन्।
प्रकाशित: ४ माघ २०७६ ०२:३८ शनिबार