६ पुस २०८१ शनिबार
image/svg+xml
अन्य

चिलगाडी

‘म ढिँडो खान्नँ भनेको हैन ? किन पकाको ढिँडो ? म नखाने। भोकै बस्ने। झन् आज शनिबार भात खाने भनेको। यो आमा कुरै बुझ्नु हुन्न।’ निश्छल थालतिर हेर्दै झगडा गर्न थाल्यो। ‘म मेरो बाबुलाई घिउ दिन्छु नि। घिउसँग खाऊ न त।’ आमाले फकाउन खोज्नुभयो।

‘घिउचाहिँ हातमा दिनुपर्छ नि। ढिँडो त म दूधसँग खान्छु के।’ निश्छलले घुक्र्यायो। ‘ल हात थाप्। राम्ररी थाप्। अहिले भुइँमा झर्छ। यति खाइसक्छस् ?’ आमाले डाडुले हर्पेको घिउ झिकेर दिनुभयो। देब्रे हात थाप्यो निश्छलले।
आमाले ढिँडोमा एक डाडु दूध हालिदिनुभयोे। ऊ घिउ चाट्दै दूध र ढिँडो खान थाल्यो। आमा बहिनीलाई लिटो खुवाउन थाल्नुभयो।

टुइई ...टुइई ...टुइई ...।
‘उः आयो।’ ढिँडो खाँदाखाँदै दौडियो निश्छल। एकछिनपछि फेरि भित्र पस्यो। ‘खाँदाखाँदै किन दौडेको ? यो केटालाई नसकिने भो। जति भने पनि लाग्दैन। खुरुखुरु खान छोडेर बाहिरभित्र गर्छ ।’ आमाले  रिसाउँदै भन्नुभयो।
ऊ पनि ठूलो स्वरमा बोल्यो, ‘चिलगाडी हेर्न गएको नि। आपूmलाई चिलगाडी कस्तो राम्रो लाग्छ। चिलगाडीमा कहिले चढाउने हैन।’

– धेरै पढ् न। चिलगाडीमा चढ्न पाइहाल्छस् नि।
– धेरै नपढ्नेले चढ्न पाउँदैन आमा ?
– चिलगाडी चढ्न त धेरै पढ्नुपर्छ  अनि मन्त्री, डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ नि। त्यसपछि जतिचोटि पनि चढ्न पाइन्छ।
‘म त ऊ त्यो रूखमा चढ्छु अनि चिलगाडी तलतल आएको बेला फुत्तै चढिहाल्छु नि।’ निश्छल नजिकैको रूखतिर इशारा ग-यो।

– त्यसरी पनि चिलगाडीमा चढ्न सकिन्छ र ? त्यो चिलगाडी त रूखभन्दा पनि धेरै माथि आकाशमा उड्छ । तँ मजाले पढ् न। पछि ठूलो मान्छे हुन्छस् अनि चिलगाडीमा चढ्लास् नि।
– त्यसो भए अब पढिहाल्छु नि। ऊ बुइँगलमा चढ्यो। झोलाबाट किताब निकाल्यो।

‘क’ बाट कछुवा, ‘ख’ खरायो। ‘ग’ बाट गमला। ‘घ’ घर ...।’ ऊ सारोसारो पढ्न थाल्यो। आमाले बहिनीलाई लिटो खुवाइसकेर कोक्रामा हाल्नुभयो। कोक्रो हल्लाउन बोलाउँदा पनि ऊ तल झरेन। दिउँसो खाजा खान बोलाउँदा पनि तल झरेन। आमाले उसिनेका आलु र टिमुरसँग नुन पिसेर माथि नै लगिदिनुभयो। उसले खाजा पनि माथि नै बसेर खायो। खाजा खाइसकेको केहीबेर पछि ऊ तल झरेर आँगनका छेउमा खेल्न थाल्यो।

– आमा ! यी हेर्नुस् न मेरो चिलगाडी। मैले चिलगाडी बनाएँ। मेरो चिलगाडी राम्रो छैन त ?
– आहा, कति राम्रो बनेछ ! अब यसमा पाङ्ग्रा हाल्न पाए त साँच्चैको चिलगाडी हुने रहेछ।
– पाङ्ग्रा केको बनाउने आमा ?
– पख एकदुई दिन। तेरा बा चौरीखर्कबाट आउन दे। बाले बनाइदिनुहुन्छ चिलगाडीको पाङ्ग्रा।
आमाका कुराले ऊ निकै खुसी भयो।
– आमा, पाङ्ग्रा हालेपछि त मेरो यो चिलगाडी साँच्चैको हुन्छ हो ?
‘हुन्छहुन्छ।’आमाले भन्नुभयो।

   – म त मेरो चिलगाडीमा पाङ्ग्रा हालेपछि त बा, आमा र बहिनी सबैलाई यसैमा हालेर सदरमुकाम लैजान्छु।
‘ए हो।’ आमा आफ्नै सुरमा बोल्नुभयो।
‘आमा, हिजोआज हाम्रो गाउँमा किन चिलगाडी आएको ?’ उसले चिलगाडीप्रति जिज्ञासा राख्यो।
– खै बाबू, भारतले हाम्रो देशको यतापट्टिको सिमाना मिचेर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा हालेछ। त्यही भएर हेर्न आएका नि।
– त्यो भारत फटाहा है आमा ? म भोलिपर्सि ठूलो भएपछि चिलगाडी उडाएर भारत जान्छु र भारतले लगेको देशको नक्सा फिर्ता ल्याउँछु  नि, हुन्न ?
‘हुन्छ।’ आमाले टाउको हल्लाउनुभयो।

‘बुबा चाँडै आए त पाङ्ग्रा हालिहाल्थेँ।’ उसले कागज र  सिन्का र टाँसेर आपैmँले बनाएको चिलगाडीतिर हेर्दै भन्यो।
‘यसमा पाङ्ग्रा हाल्न पाए त ? म यसलाई अहिले नै आकाशमा उडाउने थिएँ।’ उसले आकाशपट्टि फर्केर हे¥यो। निलो आकाशमा चिलगाडी बादलभन्दा माथिमाथि उड्दै थियो।

प्रकाशित: २६ पुस २०७६ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App