२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

फाइल तस्बिर: नागरिक

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल  सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।

एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि सम्पूर्ण तयारी सम्पन्न  भइसकेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए। यस वर्ष शालीनदीमा एक सय ९७ जना व्रतालुमध्ये १ सय ८१ जना महिला र १६ जना पुरुष रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।
समितिका अनुसार व्रतालुको सेवाका लागि छुट्टै स्वयंसेवकको व्यवस्था गरिएकोे छ। शालीनदीमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि यातायात सुविधामा परिमार्जन गरिएको समितिले जनाएको छ। समितिका अनुसार साँखु रुटमा ६५ देखि ७० वटा गाडीहरू चल्थ्यो भने अहिले यहीँ मेलाका लागि भनेरै १ सय २२ वटा गाडी सञ्चालनमा ल्याइएको छ।

‘मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेको भक्तजनबाट गुनासो आउने गथ्र्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘भक्तजनको गुनासोलाई मध्यनजर गरेर समितिले यस वर्ष मेयरको संयोजकत्वमा समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापन र बजारको अनुगमन गर्ने भएको छ।’

भक्तजनहरूलाई सहजताका लागि यस वर्षको शालीनदीको मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यका विषयलाई समितिले पहिलो प्राथमिकता राखेको श्रेष्ठले बताए।

महानगरीय प्रहरी प्रभाग साँखुले मेलालाई व्यवस्थित बनाउन र सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको छ। प्रभागका अनुसार  मेलामा ७० जना युनिफर्म तथा अन्य सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ। साथै २४ घन्टै सुरक्षाकर्मीले सेवा दिने समितिले जनाएको छ। रातको समयमा चार टोली सुरक्षाका लागि खटाइने बताइएको छ। भक्तजनको सुरक्षालाई थप मजबुत बनाउन शालीनदी परिसरमा नौवटा सिसिटिटी क्यामरा राखिएको  छ । क्यामरामार्फत शालीनदीका सम्पूर्ण गतिविधिको निगरानी गरिनेछ।

प्रकाशित: २६ पुस २०७६ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App